16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो नाममा एउटा कविता

कविता अर्जुन यावा July 13, 2017, 11:43 pm
अर्जुन यावा
अर्जुन यावा

धेरैदिनदेखि

तिम्रो नाममा एउटा कविता लेख्न खोजेको

तर अहँ...!

खै किन हो लेख्न सकिरहेको छुइन।

मलाई थाहा छ

मैले हरेक दिन लिइरहेको स्वास-प्रस्वासमा

तिमी छौं।

थाहा छ

मेरो शरीरका

अङ्ग-प्रत्याङ्गहरूमा यदि हेर्नु हो भने

तिम्रै रूप, रङ्ग र नामहरू देखिनेछन्।

त्यसैले त

म बाँचिरहेको छु

तिमीसँगै

हरेक दिन हरेक रातहरू

अनि

अहिले पनि म सम्झिरहेछु

सानामा पनि म हिँड्ने गर्थेँ तिमीसँगै

समाएर तिम्रै हात र ती औंलाहरू।

तिम्रा हरेक साथहरू

तिम्रा हातका ती औंलाहरू

तिमीसँगै हिँड़ेका हरेक पाइलाहरू

तिमीसितका हरेक क्षण र पलहरू

सप्पै छन् स्मृतिपटमा,

खै!

किन हो तर

तिमीलाई नै सम्झेर

एउटा कवितासम्म लेख्न सकिरहेको छुइन।

हो आमा !

तिम्रो नाममा

एउटा कवितासम्म लेख्न सकिरहेको छुइन।

(11 मार्चमा अचानक बित्नु भएकी आमालाई समर्पित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।