दिउँसो तिमी
युद्धको तयारीमा थिएनौ
प्रेमको गीतमा नाचिरहेका थियौ
आँपका सुन्दर रूख
अर्चलेका अमिला पात
र, मसँगै थिए खोलाले बगाएका
मेरा आमाबुबाका पुराना नामहरू
राति
तिनै नामहरू लेख्दै थियौ तिमी
सपनाको क्यानभासमा ⁄
म आफ्नो मस्तिष्क पल्टाएर
सोध्दै थिएँ प्रश्न–
तिमी मेरा प्रश्नको उत्तरै नदिई
भाग्न खोज्दै थियौ
म जबर्जस्ती सोध्दैेै थिएँ
मेरो शिरलाई ढपक्क ढाक्ने
बादलको सिरक
भुनभुन गर्दै मेरो कपालमा
टेक्न खोज्ने भँमराको जोडी
कहाँ छ खै ?
कहाँ छ मेरो पहरामा गुन्जिएको
झरनाको गीत ?
कहाँ छ
मैले हेर्न खोजेको
सुनको बिहानी
र टेक्न खोजेको हिमाली मार्ग ?
खै कहाँ छ
धान काट्दा–काट्दै
केही छिन रोकिई सुनेको
छिर्लिङछिर्लिङ बज्ने
आफ्नै चुराको लोकसङ्गीत ?
म सोध्दै थिएँ तिमीलाई
कहा“ लुकायौ जुनेली रातमा मस“गै
हि“ड्न चाहने चन्द्रमाको पदचापलाई ?
मेरो शिरमा नाच्न चाहने
हिमालको शीतल हावा
मेरो आँखामा हरदम झल्किन खोज्ने
अतीतको सङ्लो सम्झना
म सोध्दै थिएँ तिमीलाई
तिमीले गाएको सूर्योदयको गीतमा
खै कहाँ छ
उज्यालोको विम्ब ?
मैले अर्को प्रश्न सोध्न नपाउँदै
तिम्रो क्यानभास स्तब्ध भयो
अनि तिमी बिउँझियौ
सुन्दर सपनाबाट ।
सुनसरी