19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो वर्तमान

कविता राजेश ढुंगाना August 11, 2017, 6:11 am

टक...

टक...टक...

टक...टक...टक...

टक...टक...टक...टक...

बुटको

आवाज आएको छ

अन्धकारमा खलनायकको

अँध्यारोमा

नायकको आभाष हुँदैन

रातमा केवल

खलनायकको धुमिल

आकृति हुन्छ

केवल खलनायकको राज हुन्छ

अस्पष्ट र

ओझेलमा ऊ रहन्छ

दृश्यमा

आउँदैन कहिल्यै

र कहीँ पनि

खलनायक

मेरो वर्तमानको बस्तीमा

लुसुलुसु पस्छ

र, डसिसकेर मलाई

सर्पले झैँ

ििहँड्ने बेलामा

बाघले झैँ हुङ्कार बोल्छ

हिजो ऊ मान्छेलाई

पहिरो झैँ

खोस्टा निचोरिरहेछ

च्याप्–च्याप्ती

न यसको

कुनै निश्चित

रुप छ

न यसको

कुनै स्पष्ट आकृति नै छ

यसलाई

ढोका पनि नचाहिने छिर्न

झ्याल

बन्द भए पनि

नरोकिने पस्न

छक्याउँछ मान्छेलाई

यहाँ आउँछु भनेर

पासो थापेर बस्यो

अनायास

पल्लो बस्तीमा पस्छ

त्यहाँ अर्को पल्ट

रातभर

जग्राम ढुकेर बस्यो

आफ्नै गाउँमा पो

छिर्छ

अहिले पनि

मेरो वर्तमानको

बस्तीमा

रात परेको छ

ख्लनायक पसेको छ

हरेक पल

वर्तमानको ऐेनामा

मेरो देश

विरुप–विभत्स रुपमा

छर्लङ्गै

देखिने गरी

मुर्दाघाटको

लावारिस लासझैँ

डङ्रङ्ग लडेको छ

उत्तानो परेर

टक...टक...टक...

बुटको

आवाज आएको छ

निरन्तर

र आवाज सँगसँगै

लामो क्रन्दन र सहस्र

चित्कार सुनिएको छ

कहीँकुनै सीता बलात्कृत भइन् कि

कतै कोही रामको हत्या भयो ?

पर–परसम्म

न कतै

कुनै लक्ष्मणको

सुइँको छ

टाढा–टाढासम्म

न कतै

कुनै हनुमानको

चालचुल देखिन्छ

चुपचाप

नेपथ्यमा म

कानले

लाचार क्रन्दन

सुनिरहेछु निरन्तर

र चित्कार भोगिरहेछु

छातीले–छातीमा

तर

म एक्लो मान्छे

कसको के नै

भत्काउन सक्छु ?

कसको के नै चाहिँ

बिगार्न सक्छु ?

मेरै छेउमा

मेरै वरिपरि

सायद मेरो

नपुङ्सकतासँग

लगातार अट्टहास गरिरहेछ

टक...

टक...टक...

टक...टक...ट...

टक...टक...टक...टक...

खलनायकको

बुटको आवाज निरन्तर

आइरहेछ

यतिबेला उसले

मेरो इतिहासको

सिङ्गै

पुस्तक पनि

च्यात्न सक्छ

भूगोलको जम्मै

नक्सासमेत नै पनि

मेट्न सक्छ

टक...टक...

टक...टक...टक...

निरन्तर आवाज आएको छ

खलनायकको बुटको

लगातार

टक...टक...टक...टक...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।