जब,
काल्पनिक जीवनका
काल्पनिक घटनाहरू
सुन्दर मुहारका
बनावटी कथनाहरू
दाउमा थापिएका विज्ञापनहरू
इगो, इबी र जालसाजका तानाहरू
देखिँदासम्म ओल्टाईपल्टाई
च्यानलहरू खोज्दै हिन्दी सिरियलका
मस्त निद्रालाई माथ गर्दै
उनका हात आँखा र मन
रिमोट भन्दा बढ्ता चल्छन्
तब,
धेरै नहेर्न सिरियल
अनुनयविनय गर्दा मैले
उनको जवाफ यस्तो हुन्छ –
“टीभी छ र त सिरियल छ
सिरियल छ र त समय काटिएको छ
गिट्टी कुट्नेहरूले पनि
हातमुख जोरेर बाँकी रहेको
मेहनतको पैसा पाइपाइ जोडी
टीभी किनेर सिरियल हेर्छन्
र त, घामपानीमा सुक्दै भिज्दै
गिट्टी कुट्दाका दुःख बिर्सन्छन् !”
उनको आफ्नो बचाउको तर्क
सिरियलप्रतिको असाध्य मोह
देखेर मनमनै अचम्मित हुँदै
उनलाई फेरि सम्झाउन थाल्छु –
“हास्यब्यङ्ग्य स्वास्थ्य मनोरञ्जन
यात्रा अनुभव यथार्थ घटना
अधुरै भए पनि समाचार सूचना
अपुरै भए पनि ज्ञान विज्ञान
फुर्सदमा केही क्षण टीभी हेरेर
जीवन जगतसँग साक्षात्कार गरे पनि
धेरै समय टीभी नहेर
हिन्दी सिरियल त पटक्कै नहेर !”
मेरो कुरो सकिन नपाउँदै
उनले बीचमै प्रश्न तेर्साइन् –
“किन नहेर्ने हिन्दी सिरियल ?”
“न हाम्रो परिवेशको जीवन कथा छ
न त हाम्रो सङ्घर्षको कुनै गाथा छ
छ त केबल –
सासु बुहारी देवर भाउजू
छिमेकीहरूबीचको मारामार
आफन्तहरूबीच द्वन्द्व ईर्श्या
षड्यन्त्र र रिसराग
त्यसैले नहेर हिन्दी सिरियल !”
चित्त बुझाउन अनेक गरे पनि
उनको चित्त नबुझेपछि
आफैँ एक्लै गुनगुनाउँछु म–
“पैसाका लागि जस्तो पनि रोल गर्ने
सुन्दर अनुहारधारी पात्रहरूले
दिमाग भुटेर
हामीलाई पथभ्रष्ट बनाउन खोज्छन्
त्यसकै आडमा विज्ञापन गरेर
भुटेका मकै भटमासको सट्टा
कुरकुरेको व्यापार गर्छन् !”