कृष्ण दुष्शासनबाट लज्जाको पाठ पढ्दैछ ।
लाग्छ यो मेरो जीवन भर्खरै हुर्कंदै बढ्दैछ ।
यै बाटो बुद्धको, यै बाटो युद्धको हिंड्नु छ,
थाहा छैन मान्छेको मन कता किन घट्दैछ ।
कि त प्रेम पत्नी-प्रणय रे, कि त प्रेम प्राप्ति रे
मान्छे-मान्छे जोड्ने प्रेमको आश किन मर्दैछ ।
इमान यहाँ अनसनमा, त्याग कृत्रिम बायुमा !
दुष्ट, पाखण्ड, निर्लज्ज व्यासमा प्रवचन गर्दैछ ।
टुंटेको छ त्यो पहाड पनि भित्र भित्रै खोक्रिएर
हिजो उ शिरमा थियो, आज आँखाबाट झर्दैछ ।
फूल सुकेर बाग त्यो काँडाको बार बनेको छ,
तैपनि यो मेरो हात मित्रको पर्खाल चढ्दैछ ।