14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कविता बाहिर कविकी स्वास्नी

कविता विजय सापकोटा August 28, 2017, 2:53 am

घुर्मैलो साँझमा

धुम्म आकाशको आँखामा

मलिन मलिन जूनको नानी

आफ्नै लोग्नेको जस्तै लाग्छ उसलाई

घरिघरि बदलिइरहने

बादलुका किरिङमिरिङ रेखाहरू

लोग्नेका किताबभित्रका अक्षरजस्तै लाग्छन्

बादल, जून र ताराहरूको सिङ्गो आकाशमा

कविकी अनपढ स्वास्नी

लोग्नेको अनुहार खोजेर

हर साँझ सुक्सुकाउँछे ।

छाम्दाछाम्दै बिहेको फोटोको विधुवा रङ्ग

कवितामा मात्र माया गर्न जान्ने

लोग्नेको निठुरमन ओल्टाउँछे पल्टाउँछे

सम्झन्छ बिहेताकाको उमङ्ग

र हजुरआमाको कथाको राजकुमार

बिहेको पहिलो रात,

बादलले छोपेको लोग्नेको दुब्लो अनुहार

कताकता हराएका आँखा …

चित्त बुझाएथी साँच्चैको राजकुमार यस्तै होला भनेर

तैपनि बिहेको पहिलो रातको उसको पहेली

अहिले पनि उस्तै लाग्छ

अहिले पनि

अक्षरझैं बुझन नसकिने लोग्ने

घरि पागलझैं लाग्छ

फेरि निष्ठुरी अर्कैको हो कि झैं पनि लाग्छ

नभए कवितामा मात्रै अँगालो किन खोज्छ –

लोग्नेका कविताका काला अक्षर

गोठमा गोबरका थुप्रा जस्तै लाग्छन् उसलाई

लोग्नेले बटुलेका तक्मा र पदक देख्दा

केटाकेटी हुँदा बटुलेका चुराका टुक्रा र

काँचका शिशीको सम्झना आउँछ

र हाँसो उठ्छ

घरि फ्रेमभित्र झुण्ड्याइएको सादा कागज देख्दा

दिक्क लाग्छ

र त्यसमा

भगवान्को तस्वीर सजाउन मन लाग्छ ।

लोग्ने जातको किञ्चित स्पर्शसम्म नपाएकी

मायाको सम्बोधन समेत नपाएकी ऊ

सम्झन्छे –

हजुरआमाको कोठाभरि झुण्ड्याइएका भगवान्का तस्वीरहरू

जो हजुरआमाको लाख आराधनालाई मौन भएर सुनिरहन्थे

त्यस्तै लोग्ने

अवला भगवानजस्तै लागिरहन्छ

र, श्रद्धाको टुसो उम्रिएर मनभित्र भित्र

लोग्ने संसारभरिकै सबैभन्दा ठूलो मान्छेजस्तै लाग्छ ।

हरेक साँझ

बादलुका बुट्टाहरूमा लोग्नेको मन सुम्सुम्याउने

र जूनको प्रकाशसँगै लुटपुटिंदै आउने

लोग्नेलाई छातीले च्यापेर

रातभरि सिरानी भिजाउने

मेरो देशको कविकी ओ नायिका

तिमीले भोगेको पीडा ठूलो कि

तिम्रो लोग्नेको कविताको अनुभूति ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।