19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विदेश गएकाहरु प्रति

कविता इन्द्र नारायण सुवेदी September 15, 2017, 7:36 pm

रित्ता रित्तै घर सहरका दूर देहात रित्तै ।

बन्दै जाँदा मुलुक सकियो निख्रिएला सिनित्तै ।

साह्रा मान्छे जति सव कतै चीन जापान छिर्दा ।

कस्तो होला मुलुक तिनले देश सम्झी नफिर्दा ।१।

छैनन् कोही युवक घरमा वस्तछन् वावुआमा ।

थोत्रो पाटी सरह घरको कोठरीका कुनाामा ।

कीला दाम्ला सहित सव त्यो मक्किएको छ गोठ ।

हो यो कस्तो दिनदिन यहाँ देश छोड्ने अठोट ।२।

दिन्नन् सित्यैं डलर अरुले हात हातै गनेर ।

तातो रातो रगत पसिना वग्छ पानी वनेर ।

खेती पाती अनि मुलुकको ठप्प उद्योग साह्रा ।

घट्दै घट्दै किन अव यहाँ भैसके वेसाहारा ।३।

यै माटोमा पनि छ सुनको चम्किने दिव्य वाला ।

गछौँ हामी श्रम र पसिना अन्त अन्तै हवाला ।

मिच्छौँ गोडा सहज जसले देशमा लात मार्छ ।

हुन्छौ प्यारो अवसर परे तान्छ झारेर मार्छ ।४।

को हौं हामी कुन मुलुकका देशको नाम के हो ।

वेच्छौ आफ्नो श्रम र पसिना वीरको काम के हो ।

आफ्नै माटो वहुत वढिया छैन आफैँ चिनेको ।

विस्र्यौ आफ्नो घर नजिकको आँगनीमा हिडेको ।५।

अंगे्रजीले मुलुक भरियो थप्दछाँै कोरियाली ।

नाङगो पाखा सरह किन यो राष्ट्र भाषा छ खाली ।

छोडी आफ्नो अमरपुर यो स्वर्ग संसारलाई ।

मिल्ने यौटा क्षणिक सुखमा छैन हाम्रो भलाई ।६।

वीसौ घण्टा कसरत छ रे कम्पनी मै छ वास ।

खाने सुत्ने समय नमिली वन्दछौंरे हतास ।

सस्ता छैनन् रगत पसिना देशमै गल्नुपर्दछ ।

फर्की आऊ घर नजिकमै काम त्यो थाल्नुपर्छ ।७।

(मन्दाक्रान्ता)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।