14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विनिमय

कविता विजय सापकोटा September 15, 2017, 2:42 pm

हामीसित आफ्नै गीत थिए

दुःखमा वा सुखमा

धुपमा वा छायामा

जीवनका पलापलामा

आफ्नै धुनहरु हालेर, मायाले गाउँथ्यौँ तिनलाई

एकदिन तिनीहरु आए र भने

‘जे गाइरहेका छौ

यिनमा समयको धुन छैन

यिनमा तिम्रो जीवन र जगतको सत्य छैन

त्यसैले तिमीहरुका स्वर देऊ

हामी बदलामा मीठा मीठा धुन दिन्छौँ ।’

हामीले हाम्रा आवाजसँग

तिनीहरुका धुन साट्यौँ ढुक्कैले ।

सपना पनि देख्थ्यौँ हामी आफैँ

दुर्भाग्य अथवा सौभाग्य दुवै हुन्थे सपनामा

दुस्वप्नमा झस्कन्थ्यौँ, सुस्वप्नमा कल्पन्थ्यौँ

जेजस्ता भए पनि

ती हाम्रा शरीरका अंगहरु जस्तै थिए

त्यसैले निर्धक्क सपना देख्थ्यौँ

एकदिन फेरि तिनीहरु आए र भने

‘यी त भ्रम मात्रै हुन्

यी यता हेर हामीसँग कति मायावी सपनाहरु छन्

तर हाम्रा सपना देख्न हाम्रै चेतना चाहिन्छ’

सपनाको लोभमा

हामीले आफ्ना मन र आँखा फुकालेर तिनीहरुलाई दियौँ

र तिनीहरुले देखेका सपनालाई

लाटिएका छालाले छाम्न थाल्यौँ ।

हामीसँग आफ्नै दिनचर्याहरु थिए

ती कहिले पाप हुन्थे, कहिले धर्म

पाप हुँदा दुख्थ्यौँ र प्रायश्चित गथ्र्यौँ

धर्म हुँदा रमाउँथ्यौँ र महकिन्थ्यौँ

सन्तुष्टि–असन्तुष्टि

सुख–दुःख

हाम्रा आफ्नै थिए

त्यसैलाई हामी जीवन भन्थ्यौँ

एकदिन फेरि तिनीहरु आए र भने

‘यो त अज्ञानता मात्रै हो

पख, जीवनको अर्थ बुझाइदिन्छौँ’

ज्ञानी बन्ने लोभमा हामीले आफ्नो जीवन सुम्प्यौँँ

बदलामा तिनीहरुले अनेक शास्त्र थमाए

अहिले बोलीबिहीन, दृष्टिविहीन र अनुभूतिविहीन हामी

तिनीहरुले दिएका शास्त्रका ठेली

काखीमुनि च्यापेर,

हिँडिरहेछौँ लुखुरलुखुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।