14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

खुशीको खोजी

कथा सरू पोखरेल October 20, 2017, 3:24 am

घरले नयाँ रंग पाएर दुलही जस्तै सजिएको छ । शुभ विवाह लेखेको ब्यानर गेटमा हल्लिइरहेको छ । अरूबेला प्राय शून्य हुने गरेको घर अहिले मान्छे नै मान्छे र मान्छेकै आवाजले भरिएको छ ।

“हाम्रो बाबुको भिसा भयो नि ।”

“लौ राम्रो भएछ, बधाई छ है तपाईंलाई ।”

“कुन देश हो र?”

“अस्टे«लिया ।”

“दिदी त सा¥है भाग्यमानी एउटा अमेरिका छ, एउटा अस्ट्रेलिया ।”

“छोरीको पीर छ नी बाबै ।”

“पीर त के हुनु यहाँ पनि बन्दोवस्त छँदैछ । त्यत्रो बंगाला घर छ, ठुलो व्यापार छ खान, लगाउन, घुम्न के नै नपुग्ने छ र ?”

“त्यो त हो तर घर कडा छ, सासू दुष्ट छन् । त्यसको उपाय पनि छैन, ज्वाइ परे व्यवसायी मान्छे , विदेश गएर बस्ने कुरामा चाख पनि राख्दैनन् ।”

“भो एउटा सन्तान त मुख हेर्न पनि चाहिन्छ । सबै पठाएर पनि रित्तै भइने ।”

“उता अर्काकी छोरीले मोज गर्दै हिडेका छन् । आफ्नी छोरी घरमाउ भएर बसेकी छ ।”

“ए साँच्चै मैनाकी बुहारीको फोटो देखाएकी थिई नातिनीले, ओहो हेर्न नसकिने, कति छाडा भएकी हो अमेरिका गएर ।”

“कहाँ हेर्नु भयो र ?”

“फेसबुक छँदैछ नि अहिले जसको चाहे पनि हेर्न मिल्ने ।”

“नकराओ न आफ्नी बुहारीको पनि त्यही हालत छ ।”

“के भयो त बुढीमाउ सँधै तपाईं जस्तै साडी चोलो लगाएर बस्ने त ?”

“हेर्न यो छडुल्ली आँफूले पनि त्यही गरुँला भनेर विदेश जाने केटो रोजेकी छ ।”

“यहीँ पनि लगाउनेले लगाएकै छन्, के विदेशै जानु पर्ने हुन्छ सानिमा पनि । यहाँ बसेर केही नहुने देखेर पो जान लागेको ।”

“ओ हो, कसारको भाँडा भरियो अर्को लेउ न ।”

“ठुली आमाकी हुन लागेकी बुहारी झन कस्ती होलिन् उता बसेकै थुप्रो भइसकेछ ।”

“धन्न यतैकी बुहारी पाउनुभयो, छोरोले विदेशी ल्याएको भए के हुन्थ्यो ?”

“त्यसैमा त चित्त बुझाएकी छु, बुुहारी त के बेहोर्न पाउँला र ?”

“अब त के बुहारी बेहोर्नु दुईजना जम्मा गराइदिने हो, गराउन पनि नपाए देखेरै खुशी हुने हो ।”

“हुन त हो, उही दुईचार वर्षमा आउँछन् पाहुना जस्तै भएर, त्यसैमा रमाउनु पर्छ ।”

“ए साहिंली सानिमा पनि क्यानडा जानु भएको छ रे हो ?”

“हो त छोरी सुत्केरी हुने छ रे क्या ।”

“बुढी पहिला दुःख गरे पनि अन्तिममा भाग्यमानी रैछन् । विदेशको माटो देख्न पाइन् ।”

“राधिका दिदीको नाति जन्मेको रैछ, विदुरले छोरा पाएको क्या, अमेरिकामा छ नि माइलो छोरो डाक्टर ।”

“अँ अँ गएकी छन् रे मैले पनि सुन्याथे ।”

“हो त बुहारीले यस्तो लगाई उस्तो लगाई भन्छौ, दिदीले पाइन्ट र टिर्सट लगाएको फोटो छोरोले फेसवुकमा राखेको रैछ, छ्या कति नसुहाएको ।”

“के पाइन्ट लगाएकी हुन् त्यो बुढी मान्छेले लाजमर्नु, कुर्तासुरुवाल नै सुहाउँछ है ।”

“बुढीहरु आँपूm पनि जान पाए लगाउनु हुन्थ्यो होला अर्कालाई भन्नु हुन्छ ।”

एक छिन हाँसोको माहौल ।

“निरन्जनलाई डिभी परेछ, थाहा पाउनु भयो ?”

“ए हो र ! राम्रो भएछ, यहाँ बस्नै खोजेको थिएन ।”

“अस्ति भर्खरै लोकसेवामा नाम निकालेको हैन अधिकृतमा ।”

“आ उतैकोले जित्छ यहाँ बसेर केही हुँदैन ।”

“तल बाहरुले लिंगा चौकाको लागि ठिक पारी सक्नु भयो होला । बुढीआमाहरुको गन्थन मात्रै बढी ।”

“ठिकै भन्यौ केटी हो, अझै कसार सकिएको छैन । सेलरोटी कतिखेर हाल्ने हो ?”

“ए सेलको तयारी गर है ।”

“आधा हालिसक्नु भयो भाउजूहरुले, बाहिर बसेर नअराउनु । आमाहरु खाली विदेशकै कुरामा मख्ख छन् ।”

दुई तिनजना पाका पुरुषहरुको आगमन हुन्छ ।

“लौ काकाहरु माथि नै आउनुभएछ ।”

“भोक लागिसक्यो पाकेको छैन खाजा अझै ।”

“पाक्यो बाबु दाइहरुलाई पनि बोलाउनुहोस् ।”

सबैका अगाडि थालमा सेल रोटी र अचार राखेर बाँड्न थालियो, कुराकानी चल्दै रह्यो, साथैबिचबिचमा हाँसो पनि चर्को सुनिदै थियो ।

“केटाकेटी उहिल्यै पुराना भइसके हामीलाई यहाँ यो सास्ती ।”

“नभन्नु न बुबा हजुरको सा¥है छुचो मुख, ठुलीआमाले चित्त दुखाउनुहुन्छ क्या ।”

“भएको कुरा त हो के चित्त दुखाई हैन त सान्दाइ ।”

“आज हो कि भोलि हो आउने ?”

“को आउने ?”

“हुनेवाला दुलाहा दुलही ।”

“लौ थाहा छैन तपाईंलाई नआउने भए रे ।”

“के भन्छ यो, बिहेको यत्रो बन्दोबस्त चलिरहेको छ ।”

“बिहे त भइहाल्छ केटाकेटी पो हुँदैनन् भनेको ।”

“कस्तो बिहे, के बिहे हो त्यो केटाकेटी नभई ?”

“यी बुढालाई थाहै छैन जमाना कहाँ पुगिसक्यो आफ्नै पालाको कुरा गर्छन् ।”

“स्काइप बिहे सुन्नुभाछ ?”

“खोइ के हो त्यस्तो ?”

“ल्यापटप जग्गेमा राख्ने, उता केटाकेटी बस्ने उनीहरुले पनि ल्यापटप हेर्ने, यता मन्त्र पढ्ने, पुरोहितले भने बमोजिम उनीहरुले उता गर्ने बिहे सम्पन्न ।”

“ए हो र के थाहा आजभोलिका कुरा म त आउँदै होलान् भन्दै थिएँ ।”

“विदा मिलेन रे आउने त कुरा थियो ।”

“भयो भयो ठुलोबुबा आउनुभयो कुरा नगरौं ।”

“भोलिको पार्टीको लागि सबै कुरा तयारी भयो हैन बाबु ?”

“भैसक्यो रे ठुलोबुबा, अघि भान्जादाइले भन्दै हुनुहुन्थ्यो ।”

“बाबुले सकेसम्म राम्रो गर्नु बुबा भनेको छ, कमी केही नहोस् पैसाको चिन्ता नगर ।”

“बाजाको लागि भने पेश्की माग्दै थिए, त्यो चाँहि दिएको छैन ।”

“कति मागेका छन् ?”

“अहिलेलाई पन्ध्र हजार भए पुग्छ ।”

“लौ लिइ हाल ।”

हजार हजारका नोट खल्तीबाट झिकिन्छन् ।

कसार बटारेर सकिन्छ, कसार बटार्ने समूहका महिलाहरु पनि सेलरोटी र अचारको भाग थालमा लिएर खान बस्छन् ।

“ए शम्भुको घर कति राम्रो भएको जानुभाछ ?”

“अँ म अस्ति नै छिरेकी थिएँ ।”

“त्यस्तो हालत थियो । छोरालाई परार साल डिभी परेपछि काँचुली नै फेरियो त्यो परिवारको ।”

“आम्मामा बुढी चाहिँ गहनाले पँहेलपुर छपक्कै देख्नुभाछैन ।”

“खै हाम्रा केटाकेटीले बर्सैपिच्छे भरेकै हुन्छन् कहिलै पर्ने होइन ।”

“चिठ्ठा त हो भाग्य चाहिन्छ ।”

“कान्छा बालाई भने ढुक्कै छ, सानो छोरो पनि जापान गयो होइन ?”

“ठुलो कहाँ छ र ?”

“लौ ठुलोले त उहिल्यै लण्डनमै घरजम गरिसक्यो ।”

“मेरा दुईवटा छोरा दुइवटै बाहिर गए तिनीहरुको तर्फबाट त सन्तोष नै मान्न प¥यो ।”

“कस्तो जमाना आयो छोरा छोरी बाहिर जाँदा सन्तोष मान्न पर्ने है दाइ ?”

“के गर्ने देशको अवस्था नसुध्रेसम्म यस्तै हो ।”

“आफ्ना भने कुनै पनि नजाने भए ।”

“हो त सानिमाका त घरै छोड्न नमान्ने, जेठो छोरा बुहारी स्कुल पढाएर भुलेका छन्, कान्छो फेरि तरकारी र फलफुल खेती भन्दै कस्सिएको छ ।”

“पहिले पहिले सिलौटो र लोहोरोसँगै राखे परिवार छुट्टिदैन भन्थे । मैले त्यस्तै गरें त्यही भएर हो कि क्या हो मेरा त घरै नछोड्ने भए ।”

“त्यसो भए त सिलौटो लोहोरो सँधै छुट्टयाएर राख्नुपर्ने रहेछ है ।”

एकछिन हाँसोको माहौल चलिरह्यो ।

अर्को दिन बिहान जग्गेमा पूजा गरिंदैछ । पुरेतले वाक्य भन्दैछन् । ल्यापटप खोलिएको छ, इन्टरनेटले जोडेको छ क्यानडा र नेपाललाई । रातो साडी ब्लाउज लगाएकी, आधा टाउको घुम्टीले ढाकेकी दुलही छन् । साथमा दौरा सुरुवालमा सजिएको दुलाहा ।

चर्को चर्को आवाजमा जग्गेमा पुरेतले मन्त्र वाचन गरिरहेका छन् । बिहेको क्रम चलिरहेको छ पुरेतले अह्राए अनुरूप गर्दैछन् दुलाहा दुलही ल्यापटपभित्र । घरमा मान्छेको भीड छ ,सजिएका छन् रंगी बिरंगी भएर सबैजना । बाजा बजिरहेका छन्, नाचगान चलिरहेको छ । घर अगाडि टेन्टमा भोज सुुरु हुन थालेको छ । दौडधुप छ घरकालाई, आफन्त र इष्टमित्रलाई ।

“ल बधाई छ है दुलाहाका बाबुआमालाई ।”

“दुलही पट्टिकालाई पनि दिनुप¥यो नि बधाई ।”

“ए हजुर यहाँहरुलाई पनि बधाई है हाम्रो तर्फबाट ।”

“हस् धन्यवाद ।”

पालैपालो बधाई र शुभकामना दिइरहेका छन् पाहुनाहरु, थापिरहेका छन् आफन्तहरु ।

“यो केटीपक्षको भोज रे, भोलि हो केटाको त ।”

“दुलाहा दुलही नभई पनि के भोज गरेको होला यस्तो ।”

“हामीलाई के मतलव, काम पाइराछौं । दिइराखुन् जति भोज भतेर, विदेशको धन फ्याक्नै पर्यो नि ।”

“यस्तो नभए त क्याटरिङ पनि चल्दैन । अनि हामी कता काम गर्न जाने, कसरी जहान बच्चा पाल्ने ?”

“ल बिहे सम्पन्न हुन लाग्यो है ।” पुरेतको चर्को स्वर बाहिरसम्म सुनियो । सबैले एकपटक ताली बजाए ।

“दुलहीका बाबु आमाले यो ल्यापटप दिनुप¥यो है आफ्ना सम्धीसम्धिनीलाई । नानी उभिइरहनु है एकछिन, बाबु पर बस्नु यहाँ नदेखिनु ।”

“लौ आजबाट हाम्री छोरी हजुरकी भई ।”

“अब दुलाहाकी आमाले भित्र लैजानुपर्यो है ल्यापटप ।”

“ढोकामा खै त बाटो छेक्ने, आरती पनि लिएर आइहाल्नु ।”

दुलाहाकी बहिनी पर्ने आएर ल्यापटप लिएकी आमालाई बाटो छेकिन्, दुलाहाकै बाबुले हजारको नोट उनको हातमा राखिदिए । आरती बालेर ल्यापटपको आरती उतारियो ।

“लौ लौ दुलही भित्रिइन् है घरमा ।”

घरभित्र ल्यापटप लगेर राखियो ।

“ल बाबु पनि देखिनुप¥यो । फोटो खिचांै न पूरै परिवारको एउटा ।”

ल्यापटप बिचमा राखेर सबैजना उभिए, पटक पटक स्न्याप लिइयो ।

“तिमीहरु थाक्यौ होला, अब राखौं, हाम्रोतर्फबाट पुनः बधाई, शुभकामना, शुभआशिष ।”

“हस् यहाँहरु सबैमा धेरै धेरै धन्यवाद ,ल रमाइलो गर्नुहोस् । हामीले बन्द ग¥यौं ।”

ल्यापटप बन्द गरेर टेबुलमाथि राखियो । आँगनको एकापट्टि पन्चै बाजा घन्कदै थियो, कम्मर भाँचेर आफन्तहरु नाच्दै थिए, अर्कोपट्टि भने भोज भतेर चलि नै रहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।