19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश उठ्नु पर्छ

कविता इन्द्र नारायण सुवेदी November 3, 2017, 5:25 pm

पुर्खा थिए अति वहादुर गोरखाली ।

राखे सधैँ मुलुक यो शिरमा उचाली ।

अंगे्रज भारत पसी अधिनस्थ पारे ।

हारेन देश कहिल्यै न.त वीर हारे ।१।

ती वीरका रगतको वलिदानवाट ।

कैले झुकेन नयपाली उचो ललाट ।

कान्ला पहाड वन जङ्गल त्यो चिरेर ।

हिँड्थे वहादुर सधैँ खुकुरी भिरेर ।२।

त्यो मूल्यवान पसिना अनि रक्त धारा ।

हाम्रा वने सरल जीवनका सहारा ।

प्राणै दिएर पनि जोगिनु पर्छ देश ।

भन्थे सदैव शुभ चिन्तक निर्मिशेष ।३।

यो देश भित्र रहने सब दाजुभाइ ।

वस्थे मिलेर घरभित्र सदा रमाइ ।

तेरो पहाड र मधेश हिमाल मेरो ।

हाल्दैनथे मुलुक खण्डित गर्न घेरो ।४।

पंैचो र सापट लिने र दिने गरेको ।

सौहार्द्रपूर्ण शुभ भाव मिली भरेको ।

नेपाल मात्र दिल भित्र सदा गडेको ।

सिङ्गो अखण्डित सुमार्ग लिदै वढेको ।५।

पाहाड लेक र हिमाल मधेशलाई ।

हत्या गरेर कसको छ कहाँ भलाइ ।

लुच्चा पचास जनको अभिशप्त वोली ।

लाग्दैछ यो मुलुक माथि वनेर गोली ।६।

संघीयता छ अहिले अनि लोकतन्त्र ।

निर्माणको चरणको अति मुख्य मन्त्र ।

साकार पार्न जनता सब जुट्नु पर्छ ।

यो देश नै सफलता तिर उठ्नु पर्छ ।७।

(वसन्ततिलका)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।