14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रेमको मेलोडी

कविता शेरबहादुर कार्की December 1, 2017, 2:48 am

पानी बग्नु खोलाको छातीमा

हावा बहनु आकाशको वक्षमा

पानीको पनैलो स्पर्शले

आकारमा आएका ढुङ्गाहरू

हावाको हलुकाले

उडाएका कपासिला भुवाहरू

तिमीजस्तै लाग्छ।

तिमीजस्तै लाग्छ

निर्जनका कोलाहलहरू

तिमीजस्तै लाग्छ

भीडका शून्यहरू

तिम्रो आँखाभरि

जून पोखिन्दा

मेरो बलेसीमा शीतका थोपाहरू

तप-तप गर्दै सङ्गीत भर्छन्

समयको मेलोडीमा

तिम्रा ओठहरूमा

रातो गुलाब नाँच्दा

मेरो वासान्ती बागमा

हावाको एक हुल हलुकाले

पातहरूलाई छोएर जान्छ

अनि सुट्टुकै साउती गर्छ

हावाले कानमा आएर

‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो

जाँदैन बाचा खेर पर्ख लिन आउला’

हावाले वेगलाई भन्यो र

म प्रेम गर्छु

फूलले रङलाई भन्यो र

म प्रेम गर्छु

जूनले शरदलाई भन्यो र

म शितल बन्छु

तब म किन भन्नु तिमीलाई

म प्रेम गर्छु...

अव्यक्त रहेर पनि अक्षहरूले

प्रेम गरिरहन्छन अर्थहरूलाई

निःशब्द रहेर पनि शून्यताले

प्रेम गरिरहन्छ आहाटहरूलाई

यसरी नै बगिरहन्छ

मनको सागर मर्मको सगरमा

गोधुलीको रङले पनि भनेन

सन्ध्यालाई म तिमीलाई प्रेम गर्छु

हो! अक्षर अहिलेसम्म मैंले

तिमीलाई प्रेम गर्छु भन्न सकेको छुइन

बाँझो मनका गह्राहरूमा

समयको जैविक खेती मौलाउनु छ

काहाली लाग्दो गोधुलीमा

उडेको धुलो खर्कसम्म ल्याउनु छ

बारम्बर थिच्ने इतिहासका पान्नाहरूलाई

घोक्रेठ्याक लगाएर वर्तमानमा उभ्याउनु छ

यस्तो समयमा प्रिय अक्षर

म तिमीलाई प्रेम गर्न सक्दिन।

अनागत पर्खौंला, मिठो सपना सजाउँला

विश्‍वासको घरेटीमा ममताको छाना हालौंला

मन मिचेर नै प्रेम किनौला

खुशी जितेर नै प्रेम बेचौंला

त्यो समय कहीँ कतैबाट

हावाले कानमा आएर

‘सुन साईंली साईली

पर्देशैबाट म आउँला

सुन साईंली साईंली

चालिस काटेसी रमाउँला’

भनेर साउती नमारोस्।

सोरेङ, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।