16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमीलाई पाल्ने छोरो

कविता श्रवणकुमार ढुंगाना December 1, 2017, 4:57 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

मेरी आमा !

आश नगुमाउनु

आँगनमा उज्यालो ननिभाई

दैलो खुलै राख्नु,

अबेर गरी भए पनि

हरेक साँझ म घर आउने छु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

कहिले,

तिम्रै सन्तान मध्येका-

व्यवहारमा बाबु नबनेका बाबुसाहेवहरूले

मनमा हरि नभएका हरि सिंहरूले

तिमीले आफ्नै स्तन चुसाएर हुर्काएका

सपना र आशाहरूलाई

दिल्ली, बम्बै, दुवई, कतार वा त्यतै कतै बेचेर

टन्न सम्पत्ति कमाउलान्

र म तिनैको भरिया लागेर

तिनका कन्जुस मनले मोल-मलाइ गरी गरी दिएको

दुईचार पैसा ज्याला लिएर आउनेछु

र तिम्रालागि औषधि किनेर ल्याउने छु

र तिमीलाई बचाउने छु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

मेरी आमा !

कहिले,

तिम्रै सन्तान मध्येका-

तिम्रो मुहार फेर्छु भन्नेहरूले

सबैलाई सरोबरी पार्छु भन्नेहरूले

तिमीले आफ्नै स्तन चुसाएर हुर्काएका

यसो गाउँघर छलिखाने केही छट्टुहरूको टाउको

मान्छेको टाउको त्यसरी काट्नु हुन्न भन्नेहरूको टाउको

एउटै बोरामा भरेर

एउटै खल्टोमा लगेर पुर् भनेर देलान्

ति अपराधि मनले

लुटेको धनबाट

कहिले,

अलिकति ज्याला देलान्

त्यही ज्याला लिएर

किनेर ल्याएर दुई गाँसले

तिम्रो पेट भर्ने छु,

अनि कहिले,

उल्टै चोट देलान्, त्यही चोट लिएर

तिम्रै माया उरालेर तिम्रो पेटदेखि आखाँसम्म भर्ने छु

र तिमीलाई बचाउनेछु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

मेरी आमा !

कहिले,

तिम्रै सन्तान मध्येका

सेवा नै व्यापार हो भन्नेहरूले

सेवा नै दलाली ठान्नेहरूले

तिम्रै सुख र दु:खका आँशुले बगेका कोशी र महाकालीहरू

कुर्सीको मोलमा बेच्लान्,

अनायास नदिले बग्न नमान्ला

गह भरिएर आउला, भत्केर बाढि आउला

तिम्रो आँखामा खुसीको पानी हेर्ने आशमा बसेकाहरू

तिम्रो आँखामा आफ्नै हँसिलो मुहार देख्ने आशमा बसेकाहरू

बेघरबार होलान्, अनाथ होलान् !

शासक मनहरूले-

आकाशबाट राहतका पोका बर्साउलान्

लडिबुडी गरेर, हात-खुट्टा छाडेर

भेटेको एक टुक्रा प्लास्टिकको छानो

त्यही बोकेर ल्याउने छु, ओत लगाउने छु

र तिमीलाई बचाउने छु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

मेरी आमा !

कहिले,

तिम्रै सन्तान मध्येका

मर्नु पर्छ भन्ने विर्सिएकाहरूले

मर्नुपर्छ भनेर धेरै हतारिएकाहरूले

घरी यता चोरेर, घरी उता फोरेर

ढाँटेर, छलेर जे जसरी हुन्छ जोरेर

थुपारेको सम्पत्तिले

आफ्नैलागि मन फोएर

एकजोर लुगा पनि सिउन नभ्याउँदै

मर्ने बेलामा आफ्ना सन्ततिलाई

के-के, कहाँ, कति छ भन्न पनि नपाउँदै

मृत्युले धोका दिएको आक्रोशसँगै अन्तिम श्वास फेर्लान्

म तिनलाई जलाउने छु

र बचेको कोइला बेचेर

तिम्रो जिउ ढाक्ने एक जोर लुगा किनेर ल्याउने छु

र तिमीलाई बचाउने छु ।

तिमीलाई पाल्ने छोरा म नै हुँ ।

मेरी आमा

कहिले,

तिम्रै सन्तान मध्येका

मध्यरातमा जस्केलोबाट हिंड्ने बानी परेकाहरूले

एउटै जमिन, वा खोला, वा पहरो दश पटक बेचेर

प्रतिष्ठा कमाएकाहरूले

न्यायको तराजु समाउलान्

र सत्यको मुखमा ताला लगाउने आदेश चलाउलान्

म त्यो आदेश बमोजिम

ताला ठोक्‌ने ज्यामी बनुँला

ज्याला बुझुँला

त्यहि ज्यालाले

फुटपाथमा विकिरहेको अखवार किनेर ल्याउने छु

र तिमीलाई

केही बर्षदेखि हराइरहेकी तिम्री छोरीको

बेवारिसे बलात्कृत लाश भेटिएको समाचार सुनाउने छु

र तिम्रो अधिर मनलाई

एउटा टुंगोमा पुर्‍याउनेछु

र तिमीलाई बचाउनेछु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

तिमीलाई पनि थाह छ, मलाई पनि थाह छ

यहाँ स्वरुप अँध्यारोमा हराएको छ र छायाँ पहिचान बनेर उभिएको छ

म पसिना बगाउँछु, त्यसैमा उसको अपराध मौलाएको छ

मेरी आमा,

इमानको धन भएन भनेर चित्त नदुखाउनु

यहाँ कुन पसिनाले इमानको धन पाएको छ ?

सबै पसिनाको मोल सँधै

हात नपर्दै विटुलिएको छ,

दु:खको कमाई भनेर इच्छा न दबाउनु

हो, यो सत्य हो

यही दुखी ढाडमा टेकेर तिम्रा केही सन्ततिको

अपराधको पर्वत चुलिएको छ

तर, यो पनि सत्य हो

त्यही तिम्रा इच्छाहरूको उर्जाले

यो दुःखको सहास उचालिएको छ ।

तिम्रो मुहार फेर्छु भन्नेहरूले तिमीलाई नै फेरेनन् भने

तिम्रा छोरीहरू बेच्नेहरूले तिमीलाई नै बेचेनन् भने

तिम्रो आँशुको व्यापार गर्नेहरूले तिम्रो रगत बेचेनन् भने.....

सेवकको गुलामीमा संकोच देखाएको अपराधमा

मेरो सरकारले मलाई बेपत्ता नबनाएसम्म...

सधैं सधैं उदाउने उज्यालोले आगो वर्षाएर

कसिंगरको शासन नडढाएसम्म.......

दरिला तर निर्दोश, जोंसिला तर इमानी

नवजवान हातहरूले स्वाभिमानको झण्डा नउठाएसम्म........

म आउने छु

र तिमीलाई बचाउने छु ।

तिमीलाई पाल्ने छोरो म नै हुँ ।

मेरी आमा !

आश नगुमाउनु

आँगनमा उज्यालो ननिभाई

दैलो खुलै राख्नु,

अबेर गरी भए पनि

हरेक साँझ म घर आउने छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।