16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयॉं वर्ष

कविता अर्जुन यावा December 29, 2017, 5:19 pm
अर्जुन यावा
अर्जुन यावा

नयाँ वर्ष

फेरि अर्को सपना सजाएर

उन्नति, प्रगति र विकासको,

प्रशस्तै कामनाहरू गरेर

सफलता, कुशलता र सुस्वास्थ्यको,

मन भरि-भरि चाहनाहरू बोकेर

समाज, राज्य र राष्ट्र निर्माणको,

तिमी आयौ त्यसै गरी

आउँथ्यौ जसरी सधैं।

नयाँ वर्ष...

फेरि तिमी आयौ

सपना, कल्पना र रहरहरू बोकेर,

हो तिमी आयौ

संकल्प, प्रतिज्ञा र अठोटहरू गरेर,

साँच्चै तिमी आयौ

उत्साह, जोश र जॉंगर लिएर,

तिमी आयौ त्यसै गरी

आउँथ्यौ जसरी सधैं।

थाहा छ मलाई...

पोहोर पनि तिमी यसरी नै आएथ्यौ,

परार पनि त तिमी यसरी नै आएथ्यौ,

आउँथ्यौ पहिले-पहिले पनि त्यसरी नै,

तिमी नआएका कहॉं हौ र...!

सपना

कामना र

चाहनासितै

तिमी नआएका कहॉं हौ र...!

रहर

संकल्प

प्रतिज्ञा र

अठोटहरूसितै

कहिले आएनौ र तिमी...!

म त भन्छु,

तिमी बरू सुटुक्कै आउनु

कसैले थाहै नपावोस् तिमी आएको

कसैले तिमीसितै सपनाहरू नसजाउन्

कसैले कुनै संकल्प नगरोस्

कसैले प्रतिज्ञा नलेवोस्

अठोटहरू पनि नगरोस् कसैले

समाज, राज्य र राष्ट निर्माणका

सपनाहरू पनि कसैले नसजावोस्।

किनकि,

कति सपनाहरू यहाँ

31-को अँध्यारो रातसितै

विलीन हुँदैछन्

फेरि कति सपनाहरू

1-को बिहानसितै छरिन पाउँदैनन्

अनि कति सपनाहरू

मनभरि

मुटुभरि

हृदयभरि

अनि मस्तिष्कभरि सजिएर पनि

टुक्रिन्छन् उज्यालो नहुँदै।

हरेक बिहान

हरेक दिन

हरेक सॉंझ

अनि हरेक रात बरू यहॉं

सपनाहरू बगिदिन्छन् आँखाबाट छचल्किएर।

त्यसैले बरू तिमी आउँदा

कसैले थाहै नपाई सुटुक्कै आउनु

कसैले यदि चाहन्छन् नै भने

नयॉं वर्ष...

हरेक बिहानीसितै आउनेछ

कुनै संकल्प नै किन गर्नु यहॉं

हरेक उज्यालोसितै उठौं बरू

प्रतिज्ञा र अठोटहरू किन चाहियो र

राम्रो काम गर्नेलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।