19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तीनलेककी तमुस्यो !

कविता विजय देवकोटा January 4, 2018, 8:27 pm
विजय देवकोटा
विजय देवकोटा

दृश्य १ ः

शिरमा सेतो गुराँसको थुंगो सिउरेर

झुल्केझाममै तीनलेकमा

घाँस भरिएको डोको बोकेर ढिंग उभिन्थी तमुस्यो

नजिकैको लाहुरेगुम्बातिर देखाउँदै उ भन्थी ः

“हेर बाउन, हातले चैं नदेखा

गुम्बाका पछाडि चारवटा माने छन्

एउटा मेरा जिबाको

जंगेले कम्पनीलाई बेच्दा जर्मनीमा मरेका

उ त्यो आर्खो चाहिँ बाज्याको

बर्मामा मरेका, अस्तु नै नराखी बनाको

त्यो सेतो कमेरो दलेको चैं

मेरा बाको ः आस्तिन फौकलैण्डमा मरेको

त्यो सँगैको दुईटा चाहिँ...

मकैको एकडल्लो आटो खान...

सुक्क ! सुक्क !”

तमुस्यो रोईरहन्थी

मलाई थाहा थियो ः ती दुई माने

उसका दाजु र सोल्टीको हो

कास्मिर र हेल्मण्डमा मारिएका !

सोल्टी पल्टन हिँड्ने बिहान

तमुस्यो विहानै डोको बोकेर

उसैगरि तीनलेकमा बाटो कुरिरहेकी थिई

बिहानको घामले तमुस्योको छायाँलाई

टाढा पुर्याएको थियो लामो बनाएर

कतै पुगेर त्यो विलाएथ्यो

लाहुर हिँडेको सोल्टी विलाएजस्तै

सोल्टी भन्थ्योे ः

“यसरी नै झुल्केझाममा डोको बोकेर

तीनलेकमा उभिएको फोटो खिच्नुपर्छ है सोल्टिनी !

छुट्टीमा आउँदा फोटोमेसिन ल्याउँछु...“

त्यै दिनदेखि तमुस्योले

शिउरिन थालेकी थिई केशमा रातो गुराँस

तर,

धागोले बाँधेको चिठ्ठी आएदेखि

उसले केशमा सेतो गुराँस सिउरिन थालेकी छे ।

दृश्य २ ः

उदाउँदो घामको किरणमा

कमरेड तमुस्यो बसेकी छे उही तीनलेकमा

पछ्यौरी ओढेकी तमूस्योको काखमा

ढिंग उभिएको छ राईफल

व्यारेलको छायाँ ः

तल बेशीको सरकारी अफिसको छानासम्म पुगेको छ

तमुस्यो भन्छे ः

आटो खान नपाई

दुईचिहान बनेका जिबा, बाजे, बाउ, दाई र सोल्टीको

नियती फेर्न हिँडेकी हुँ बाहुन

तँ पढेर देश फेर,

म लडेर देश र्फेछु

आबो अरुको लागि नलड्ने हामी !

दृश्य ३ ः

तिनलेकको पहाडमा

पाँच मानेको छायाँ

टाढासम्म फैलिएको छ उदाउँदो घाममा

मानेको छेउमा

चिहान छ,

त्यो चिहान तिनलेककी तमुस्योको हो

कुनै दिन एकसखारै

सर्खारका सेनाले समातेर

उसको सर्वस्व सिध्याएथ्यो

र पुरेथ्यो मानेकै छेउमा ।

दृश्य ४ ः

उही तिनलेकमा

उभिएको छु एकाबिहानै

आफ्नै छायाँलाई घामले

पर पु¥याएको छ कताकता

एकहुल सहेलीहरु

डोको बोकेर पसेका छन् गुराँसे बनमा

त्यो हुलमा तीनलेककी तमूस्यो छैनन

अर्का एकहुल तमुहरु

गोजीमा लालपुर्जा र राहदानी बोकेर

हिँडेका छन मुग्लानतिर

जीवन बदल्ने तमुस्योका सपनाहरु

देशको सत्ताले निलेपछि

म विरक्तिएको छु

र उभिन आईपुगेको छु ः

उही तिनलेककी तमुस्योको चिहानअघि !

बारपाक–सुलिकोट ८, गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।