जत्तिनै राम्रो किन नहोस् फूल
मलाई फूल जस्तै हुन छैन।
किन..! सोध्नुहुन्छ?
पीडा फूलजस्तै हुनुको
हजूर जान्न चाहनुहुन्छ?
सोध्नुस...
फूलजस्तै
कोपिलाजस्तै
चिचिलाजस्तैहरूलाई,
जो प्रत्येकदिन बलाकृत छन्
पीडा फूलजस्तै हुनुको
पीडा कोपिलाजस्तै हुनुको
पीडा सुन्दर हुनुको
कस्तो हुन्छ हँ?
अग्लो चुचुरा हेर्दै
शान्तिको गीत गाउँदै
कञ्चनजङ्घाको काखमा
बसेको छ भन्छौं
महान देश भारत
अनि भन्छौैं
आमा हुन् भारत।
पवित्रताको नाम जोडेर
कञ्चनजङ्घाकै गीत गाउँछौं
सारे जहाँ से अच्छा
यहीँ बसेर गाउँछौं
जहाँ बग्छ टिस्टा-रङ्गी
भन्छौं हामी सबै
यहाँ बग्छ गङ्गा-यमुना र सरस्वती।
कञ्चनजङ्घाकै फेदमा
आमाकै काखमा
प्रत्येक दिन
प्रत्येक साँझ
प्रत्येक रात ...
आफ्नै बाबुसित
छोरी असुरक्षित भएपछि
आफ्नै मामासित
भान्जी शोषित भएपछि
आफ्नै शिक्षकसित
छात्रा असुरक्षित रहेपछि
म कसरी
फूलजस्तै हुनसकुला?
शोषित भएर
पीडित बनेर
कुनै समाचार पत्रको
हेडलाइन्मा आउनु छैन
त्यसैले मलाई फूलजस्तै हुनुछैन।
बरू
ढुङ्गा भइदिन्छु
चट्टान बनिदिन्छु
अझै काडा भइदिन्छु।
ढुङ्गालाई के थाहा
कुटिनुको पीडा?
चट्टानलाई के थाहा
तोडिनुको मर्म?
काँडालाई के थाहा
भाँचिनुको पीडा?
बनाइदेउ न धुलो नै
न दुख्छ ढुङ्गालाई, न त चट्टालाई नै!
सम्झ सम्झन्छौभने कठोर।
भाँचिनै देउन काँड़ालाई पनि
प्रतिउत्तरमा कम्सेकम
रगतपच्छे त पारिदिउँला बरु।