आफैंलाइ पछाडि कतै छोडेजस्तो
हिडदा हिडंदैको बाटो कतै मोडेजस्तो
विदाइले चढेको पारो
खोइ कुन डिग्रीमा पो मापन गर्न सकिदोरहेछ र
उहिल्यै कहिले दुखेजस्तो
विदाइ यसपालीपनि उस्तै दुखेर मनमा आयो
मनबाट सर्दैसर्दै
आंखामा पुगेर उस्तै नमिठोगरि छायो ।
जांदाजांदैको बाटो टुंगिएकोपनि होइन
न तरेको खोलामा बाढि आएको हो,
न त उभिएको पहाडमा पहिरो गएको नै
तैपनि विदाइ दुखमा दुखेको मनजस्तै उस्तै दुरुस्तै दुखेर आयो
खोजाइ आफनै थियो
रोजाइपनि त आफनै थियो
तर किन बेपर्वाह त्यसरी दुख्यो थाहा छैन
सायद
हिजोसम्म हिडेका बाटाहरु छोडिएर दुख्यो कि ?
वा हिजोसम्म गांसेको नाताहरु एकाएक तोडिएर दुख्यो
सुखदुख साटेका साथिभाइको भेटघाट टुटेर दुख्यो कि ?
वा स्याबासी दिने अबिभाबकहरुको हार्दिकता छुटेर दुख्यो ?
थाहा छैन किन दुख्यो
पटक पटक दुख्ने विदाइ फेरी एकपल्ट दुख्यो
समयसंगैं अघि लाग्नुपर्छ भन्दाभन्दैपनि
खुटटाहरुवाट मन छुटरे दुख्यो
पटक पटक दुख्ने विदाइ फेरी एकपल्ट दुख्यो ।