19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धन्यवाद भ्यालेन्टाइन-२

कविता कृष्ण उपाध्याय February 12, 2018, 1:51 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

आज त चन्द्र छेउमै तारा पनि आइ सकिछ

सुरज पनि सुटुक्क निशा सङ्गै लुट्पुटिइ सकेछ

हुदा हुदा गौरी शङ्कर पनि बादल छिरी सकेछन

हेर्दा हेर्दा मलाई पनि रहर लागेर आएको छ।

हिड न शान्ताराम आज त

हामी पनि नाचौ छम छम

मिलिक मिलिक गर्ने बिजुली बत्तीमा

टिलिक टिलिक टल्कने लुगा लगाएर

चिटीक्क चिटिक्क परेका केटा-केटिहरु सङ्गै

हामी पनि नाचौ न शान्ताराम!

दिन भरी हास्दा हास्दै

मन र मायाका कुरा गर्दै

हामीले यतिका इटा बनाइ सक्यौ

पैसा बनाइ सक्यौ

बा-आमा लाई एक जुटि गाई किन्दी सक्यौ

छोरीलाइ स्कुल हाली सक्यौ

भैगो नि

हामी पनि नाचौ न शान्ताराम!

यो भउनिलाई पनि त भ्यालेन्टाइन हुन मन लाग्छ तिमिले गुलाव दिएको देखाउन मन लाग्छ

माया त हाम्रो छदै छ

तै पनि अरुको अगाडि आइ लभ यु सुन्न मन लाग्छ।

नाच्ने त हो

हामी पनि नाचौ न शान्ताराम!

बेकारको खर्छ नभन है शान्ताराम

मैले पनि मैले बनाएको इटाको हिसाब गर्दिन नि

हाम्रो कमाइ हाम्रो माया जस्तै एउटै त हो।

माघी पछि आजै त भन्दै छु

नाचौ नाचौ भन्दै छु।

आखिर अस्ति मात्र हप्ता लिएको छदै छ

दुइ हजार जस्ताको त्यस्तै पट्याको छदै छ।

जाऔ अनि

हामी पनि नाचौ न शान्ताराम!

त्यसरी मुसु मुसु न हास के शान्ताराम!

माटो लागेका हातगोढा धोऊ

धुलै धुलो तिम्रो मुख धोउ

चिम्नीको ध्वासे धुलो पनि धोऊ

म पनि धुन्छु

आज नाच्ने हो के शान्ताराम!

आठ पड्दा पड्दै भागौ भने

तिमिले मान्यौ

कमाएर एक एक कठ्ठा जोडौ भने

तिमिले मान्यौ

अलिकति गहना बनाउ भने

तिमिले मान्यौ

काम गर्न घर छोडौ भने

तिमिले मान्न्यौ

आज पनि मान है

आज नाच्ने हो के शान्ताराम!

राम राम के भन्छे भउनि नभन है शान्ताराम

मिस र सर पनि जान्छन

सङ्ग सङ्गै आज नाच्ने हो के शान्ताराम!

नाचेर फर्कदा

एक पटक चुम है तिम्रो भउनी लाई

थ्यान्क यु भ्यालेन्टाइन भन है शान्ताराम!

कुसुन्ती, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।