19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मालचरी र लाटोकोसेरो

कविता विजय देवकोटा February 12, 2018, 1:52 pm
विजय देवकोटा
विजय देवकोटा

युगको मञ्चन कक्षमा

सुरिल स्वर निकाल्दै

आउँछन् मैना बथान

बाँड्छन् मिलनका उधारा सपनाहरु

पस्छन् चेन्जिङ रुममा

उतार्छन् पोशाक

देखिईन्छन् सारौ

अग्रगामी नृत्य देखाउँदै

पुच्छर फिजाउँदै, बेग बढाउँदै

नर्तकी मयुर बथान

आउँछन् हाम्रा झोपडी–आँगनमा

चेन्जिङ रुम चिहाएर हेर्छु

देख्छु : उनीहरु त कौवा रहेछन्

चिलाउनेको दाना फोड्दैछन् सुगाहरु

भन्छन् : यसलाइ मासेर पहाडमा

सतिसाल रोप्नुपर्छ,

जब पुग्छन् सत्ताको चेन्जिङ रुपमा

एकाएक फेरिन्छन्

उनीहरु त हिंस्रक बाज रहेछन्

मधुमासलाई चुनौती दिँदै

धनेषका कैयौँ जोडीहरु

पुलकित पार्छन प्रेमलीलामा

उनीहरु पनि पस्छन् उही चेन्जिङ रुपमा

उतार्छन बस्त्र

उनीहरु त झन् गिद्ध पो रहेछन्

आवरण फेर्दै, नक्कल घोक्दै

अनेकन आवाजहरु निकाल्दै

हाम्रा सपनाहरुको मञ्चमा जबर्जस्त देखिने

कैयौँ चराहरुको धोकाधडी

हामी चुपचाप सहिदिन्छौँ

हातपाउ हुँदाहुँदै

टाउको छँदाछँदै

हुटिट्याउँ जसरी

हामी नै थामिदिन्छौँ उनीहरुको कालो आकाश

नदेख्ने लाटोकोसेरोजस्ता हामी

चुपचाप सहिदिन्छौँ मालचरीहरुको अन्याय ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।