19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लिही ढुङ्गो

कविता मोहन सिटौला February 12, 2018, 1:57 pm
मोहन सिटौला
मोहन सिटौला

फेदाप राम्रो, मृदु आठराई

सौन्न्दर्यका रूप स्वरूपलाई

पाई ,समाई जनमा फिंजाई

सद्प्रेमका पावन भाईभाई

छिमेकी हुन् ती चिरकालदेखि

अनन्तसम्मै सकिंदैन लेखी !

जहींतहीं छन् मृदु देउराली

कोया खोलाका तिर वारिपारी

धेरै ठूला ग्राम र बस्ती, जंगल

हो खाम्लालुङै सवको सुमङ्गल

पूmटा र छोटी, द्वरपै र साम्थाङ

छैनन् कतै नै अशुभै,अमङ्गल !

साम्थाङ माथी शिर सम्मिएको

छपक्क पीरासरि मस्त बस्दो

रमाइलो चौरी छ फैलिएको

पाषाण, शीला र चट्टान—खण्ड र

कतै पनि छैन कठोर पत्थर ।

मट्टी स्वयं केवल फैलिएको

पालेर चौरी खुब सुन्दरैको

त्यहाँँ छ ढुङ्गा अति नै पुरानो

सँधै नयाँ बन्छ नभै विरानो

एक्लो फगत् बस्छ र छैन सानो

अहो ! तपस्वीसरि बस्छ न्यानो !

एक्लो छ शान्त मृदु मौन र डम्म बस्दो

ध्यानी, तपस्वी, मुनि झैं तपमा रहेको

युगौंयुगी लोचन शान्त भएर हेर्दो

हँुंदै पुरानो, नित नव्य र भव्य बन्दो !

अबोल नित्यै वहु ज्ञान पाली

बाली दिलैमा ममता समेली

चरित्र औ चित्त अनेकताका

यात्री सफा सुन्दर पालुवाका

आए कयौं मग्न आराम गर्न

गरे कुरा, कार्य मीठा अभग्न

बस्छन्, कयौं सुन्दर कल्पनामा

अनन्त डुल्दै यस बाटिमा

दिंदै समस्त दुर दृष्टि कुनाकुनामा

विश्रामका मधुर मस्त नयाँ तराना !

दिवा रविल,े निशिमा शशीले

महान्ध रात्री ग्रह, तारकाले

पारी उज्यालो र छरी सुधांशु

समीर औ तेज बनेर मञ्जु

चऊर त्यो बन्दछ दिव्य बाग

हो विश्वको यो मृदु, सौम्य भाग !

जहाँ महामानवको विहार

हुँदो छ हर्दम् हर औ हरे र

ईमा, अजीमा, शिव, पार्बतीको

अदृश्य चेतै मनुवा रुपैको

सञ्चार गर्दो सव विश्वलाई

मायाँ, करुणा र विवेक छाई !

भन्छन् सवैले मृदु लिही ढुङ्गा

साथी सवैको नवनीत ल्ुाङ्गा(१)

बूढो, पुरानो, झरिलो जवानी

कहन्छ नित्यै मधुरो कहानी !

(१)(लुङ्गा—लिम्बू भाषामा साथी)

परन्तु सुन्ने अनि बुझ्न सक्ने

सम्वेदनाले जड भित्र पस्ने

उत्सूकताले दिल पर्श गर्ने

सुवस्मयी भाष्कर सुप्रभा औ

सुधांशुको निर्मल भाव बन्ने

जस्को छ मायाँमयी मर्मगोचर

सुन्छन् तिनैले भनिर’न्छ सत्वर !

जस्को छ अन्तर्चित भव्य, दिव्य

भौतीकता भित्र छ कान तीब्र

नरेश्वरै सुन्दर शक्ति—श्रव्य !

सुन्छन् तिनैले अति अल्प स्वर

निनाद सानो मसिनो निरन्तर ः

असार संसार छ यो अपार

डुङ्गा—बहानारत प्रेमसार !

लिही छ सारै अथवा गह्रौं त्यो

लङ्कामहाँ लक्ष्मण झैं गरुङ्गोे

गुरुत्व भारै, खँदिलो भएको

पक्कै छ धातुहरू मिस्सिएको

शिला त हो नि तर मर्मपर्शी

अभ्यान्तरैको मुनि हो महर्षि !

आए वहू काल र याम धेर

उस्तै छ जैले भवबीच हेर !

शिला गरुङ्गो तर भावनामा

उड्दो फुरङ्गै फुल—सीमलै झैं

छामेर छाती सवमा तराना

बाँडेर ब्याप्तै दिलको खजाना

बनाई मुग्धै मन मञ्जरीमा !

एक्लै त हात्ती नत तान्न सक्दो,

ठूलो ठिकै, सुन्दर, गोल, चाक्लो

कैलो छ रङ्गै र ठिकै छ अग्लो

करीब पाँचै फुट मात्र होला ।

कैलो छ रङ्गै धेनु—दूध उत्तम

मानिन्छ रे ! त्यो जन, श्रुतिसङ्गतः ।

गेरू श्रेयै, प्रेय अझै भनिन्छ

अध्यात्म चेला र वेदान्त सम्मतः

बुद्धै मधुप्रेम र सोच, ज्ञानकोे

खुशी बढाउँछ बसाई सुक्खको ।

खैरो र घोर्ले रँगको नि बाख्रो,

बोको सिंधाले र दूधै पोसिलो ।

यी रङ्ग छन् योग्य बेजोड भ्रान्तिमा

सुशान्तिको कान्ति, हटाई कालिमा !

विभिन्न रङ्गादिका भिन्न भिन्न

प्रभाव औ अर्थ रहन्छ भन्दछन् ः

सप्ताहका बारहरू विचारी

ग्रहादिका रूप, स्वभाव चारी

बस्त्रादिको पैह्रनका विभिन्न

रङ्गै मिलाइकन लाउनु रे !

कहाँ थिथो त्यो ? कसले , कसो गरी ?

ल्याए नि बाबै ! कुन भावमा परी

उठे , उठाए कुन भावना भरी ?

मिले कति ज्यान र चित्त कोमल ?

मृतुञ्जयी मुग्ध छ मन्य मन्दिर !

भन्लान् कतिले यति के ? कति हो ?

जाबो छ कामै किन बात आयो ?

पूजा न गर्छन् नत धाम हो यो !

न ता पूजारी न महत् सवारी !

चैतन्यले भर्दछ मृन्मयीमा

सुचेतना चिन्तन चिन्मयीमा

बनाउँछ, बन्दछ बक्ष बूझको,

सुबोधको मानव शुद्ध मर्मको

विनम्रता भित्र छ शान्त मानस

आए यहाँ जो मधु शान्ति पाउँछन्

बुझ्नेहरू भन्दछन् धाम यो हो !

अहो ! लिही लुङ् (२) जनले बुझे कि !

कहन्छ गाथा बनि किम्बदन्ति

छेलो भनी भीमसेनै वीरैको

आए छ शीला खुब दूरताको

त्यो हस्तिनापूर अतीतताको !

(२) (लुङ्—लिम्बू भाषामा ढुङ्गो)

चप्लेटि अग्लो, सुरिलो र गोलो

चिल्लो र चिप्लो भइ टल्किएको

यात्री कयोै गोप र गाउँले ती

बस्दा पियारोसित सुम्सुम्याई

सौन्दर्यशाली भइ काल जित्दै

सौभाग्यशाली भई प्यार पाई्

विश्राम न्यानो सवलाई दिन्छ

बोल्दैन केही मृदु मौन हुन्छ

सम्वेदितै, विस्मयी वक्ष भित्र

परन्तु गैह्रो सुरभाव दिन्छ !

पत्थस्र्वयम् अक्षर छैन काहीं

न चित्र आकार कतै खुलेको !

स्वयम् छ वाणी, स्वयमाकृतीको

रहन्छ भित्रै स्वर माधुरीको !

आकार प्रकार यथा मनैका

छन् मोहनी नाद सुरै पुरैका

अम्लान मौनै भई नित्य गुँज्दो

हिरण्यगर्भैसरी भित्र बस्दो !

मौनै रही नीत बसी, बसाई

हितैमितै सुन्दर गीत गाई

झिना, मसीना सुरधून लाई

जो सुन्छ औ बुझ्छ नितान्त सार

अन्तर्निहीतै मृदु , मौन तार !

चूपै रही नित्य पाषाण दाई

भएर प्राणैहिन, काललाई

जितेर लोकान्वित प्रेम फूल

फुल्दोछ, टार्दोछ नि कष्ट, शूल !

देखिन्न रे ! सत्य नच्याती भूल !

देखिन्छ फारेर नितान्त अन्ध !

घटार्ई दम्भै नि, हटाई बन्ध !

सचेत ढुङ्गा कि ! विचेत यो नर !

बुझ्छौंंँ कति यो ! अलमल्ल मानव !

पाषाण चेती ! मनुवा विचेती !

हामी कता छौ नि ! कता छ चीती !

ढुङ्गा त हो, प्राणविहीन दाई

स्थूलै भई नित्य बसी, बसाई

छर्दो छ किन्तु हित औ भलाई

अदृश्यमा घुम्दछ सुम्सुम्याई

सँधै सुकीर्ती वहुतै फिंजाई

श्रीमौनताले सहजै समाई

प्रशन्न औ शान्त भई रमाई

सप्रेम भन्दो मृदु दाज्यूभाई !

पिता र माता र दिदी, बहीनी

हितेरी साथी र प्रिया सँगीनी

समग्र यात्री सहजै समेटी

बसीरहेको छ कसी पलेटी ।

भलो सवै प्रीतमयी बनाई

त्यो शाश्वती हृद भरी भराई

प्रकृति औ संस्कृतिमा भिजाई

अहा ! सवै श्रेय र प्रेय पाई

ईशत्वको भाव मीठो फिंजार्छ,

र सृष्टिको सत्य स्वभाव खुल्छ !

शिवत्वको चुम्बनको सुधाको

छ प्रेमको पावन मुग्धताको

कल्याण मीठो करुणामृतैको

माङ्गल्यको सद्रस दिव्यताको

अदृश्य धारा भवभव्यताको

दिवा र रात्री जनमा वहाई

दिंदो छ आशीष नि विश्वलाई !

अचेतमा चेतनको प्रवाह

र चेतमा नै मूढको प्रवाह

बहाई बुझ्नेहरू माझमाझ

त्यो शाश्वतै शक्ति सुर्जिनाको

सम्चार, सञ्चार छरीरहन्छ !

श्रीशून्यको नाद, कला पलाको

सुन्ने र बुझ्नेहरुमा खुलाको

अनन्तकोे माधवको लिलाको

‘उत्तिष्ठ’ पार्ने सुरभी, सुचेती

झङ्कार, झल्का कति हो कती कती

अनन्त धारा र प्रकाश दिन्छ !

बाहीर केही रुप रंग्मगिन्छन्

कथा, कहानी जनता कहन्छन्

परन्तु भित्रैतिर भिन्न दृश्य

नितान्त अनन्त खुलीरहन्छन् !

छेलो थियो रे ! अति दूरताको

यद्वा हिडम्बासित जङ्गलैमा

ती जङ्गली वीर समाज नाना

शेखी र जोरी खडजङ्ग पर्दा

छेलो बडो त्यो निजले समक्षै

फाले सहजै कि यहाँ सुदूरै

विख्यात भो भीमसेनै प्रख्यात

त्यो भीमशिला र छेलो भीमैको !

बनीरहेको छ नि त्यो महान

सतर्क सन्देश र ध्यान, ज्ञान

श्री सुन्दरैका मसिना, विशाल

अभ्यान्तरै बल्दछ त्यो मशाल !

विशाल चौरीविच पत्थरै त्यो

बसिरहेको छ युगानुदेखि

हेरेर बस्दोछ, विचार गर्छ

कुनै तपस्वी सुरपत्थरैले

छोपिएको झैं चिरकालदेखि ।

विभिन्न छायाँछवि आइ बस्छन्

नरेश्वरै वा नरराक्षसै वा

नराधमै वा अधमै—अरी वा

मायालु प्यारा मधु म्लान यात्री

आफ्नै चिनारीपन पात्रपात्री

प्रवृत्ति, बोली, निज कर्म बोकी

काला, उज्याला दिलका, कलाका

सवै पियारा निजका कलाका !

उ विस्मयी बस्दछ मौनतामा

बिचल्लि नबन्दै निज, ज्ञान, ध्यानमा

समाधी कसेरै सुख आशनैमा

स्वयं सुबुझ्नू भनु झैं गरेर

सुधीर औ चूप, प्रशान्त बस्छ !

सक्रान्ति बजार नजीकमा छ

हो केन्द्र ठूलो, वहु व्यापकैको

पर्वादि ,चाडै, रमिता, रवाफ

भरी बजारै र सुरम्य मेला

हेरी रमाई वहुभिन्न खेला

भेला अचम्मै विविधाकृतिका

रेला, तमासा र खुला धमाका !

फिरेर आएर सुमार्ग बीचमा

जमेर नाना हितका र चित्तका

आनन्दका मौसम, थान, मानका

खुवाइ खाना र रमाइ बस्छन्

विभिन्न स्थानै, सतलै, फलैंचा

ढुङ्गादि, बृक्षै, चउरै, बगैचा

साना ठूला झुण्ड बनाई बस्छन्

त्यो लिही ढुङ्गा र चउरमा झन्

रमाई पुग्छन् र विशाल ढाक्छन् ।

खाजा र पानी बहुतै समेट्छन्

सन्ध्या र रात्री मदमस्त हुन्छन्

दिलै वहारीकन नाच्न लाग्छन्

मायाँ चहारेर विहार गर्छन्

बालून औ सङ्गिनी, धाननाँच

दोहोरिमा कम्मर मन्द भाँच

सुरम्य औ मोहित अन्य ढाँचा ।

ती किन्नरी, किन्नर नाँचगान

गर्दै समाई मृदु हात, ज्यान

मस्तै भई साँझ र रात्री थाक्लान्

समीर औ तेज अचम्म पर्लान् !

परन्तु त्यो स्थान र मान, फन्का

थाक्दैन ज्यानै र मनै परीका,

तन्नेरि ती मुग्ध युवा तरुणी

कला निकाल्छन् ति पलालाका !

प्रत्यङ्ग मर्काइ, नथाकी अङ्ग

नाच्छन् रमाई सव चित्तअङ्ग

प्रेमातुरै छन् मृदु अङ्गजङ्ग

अभङ्ग छन् मग्न नभै अनङ्ग

हुन्छन् सवै मस्त भएर दङ्ग !

चौरी छ नाङ्गो, दिल, भाव नाङ्गो

महेश औ पार्बती भावभङ्गी

श्री लाश्य औ तान्डव गाननाँच

आकाशमा चन्द्र र तारका र

अनन्त ब्रह्माण्ड आनन्दमा छ !

सम्मोहितै होसहवास घुम्छ

न गुम्छ जोसै, र प्रमाद हुन्छ

भmन् जोसमा जोस मिजास भर्छ

सम्पूर्ण सद्प्रेम परागपुञ्ज

यो सृष्टिबो सत्थ र तथ्य सार

भई प्रफुल्लै मदमस्त हुन्छ !

धरत्रीको सुन्दर, सौम्य पक्ष

परागले राग भरेर वक्ष

सर्वाङ्ग चाञ्चल्य मिलिन्दराग

मग्नै स्वयं भैकन भुन्भुनिन्छ !

फर्साइलो स्थान पहाडमाझ

समाज औ व्यक्ति भएर सभ्य

त्यो भौतकी भाव भएछ भव्य

पवित्र आनन्द—मुहूर्त दिव्य !

शशाङ्क, तारा र ग्रहैहरूले

पियूष धारा दिल, देहले नै

वहाई अन्तःसलिला सवैमा

आनन्दका ती मदमस्त ज्यान

वेसूरमा मिर्दुल सानमान

उठाई सारा चकचौंध पारे !

त्यो लौह ढुङ्गा मृदु मौन बस्छ

प्रशिद्ध भै नाम छ लिही ढुङ्गा

अनन्त चैतन्य सुमुस्किदिन्छ

र विश्वविहारी सचेत बिम्ब

वा ईशको शाश्वत तत्व चेत

झल्का दिंने नित्य पाषाणपुञ्ज !

अन्यान्य धेरै विविधाकृतीका

मट्टी, समीरै, जल, बृक्ष, प्राणी

सारा हुने साधन—बिम्ब ज्ञानी

झस्का दिंदै नित्य सचेततामा

चैतन्य भर्छन् कि कणाकणामा

र विस्मयी, चिन्तक, सर्जकैमा !

चौरी अहो ! सुन्दर, शान्त, कान्त

मुस्कीलले मात्र देखिन्छ व्याप्त

फिंजारिएको छ पहाड वक्ष

छ आठराई र फेदाप माझ

वारी र पारी दुर दृश्य फारी

सुविस्मयी सुन्दर मुग्धकारी !

ऐले त चौरी तर सक्नलागे

मिचेर ,मासेर, घटाइ सारै

फराकिलो, सुग्घर, सौम्य व्याप्ति

म्लानै गरी सुन्दर ग्राम कीर्ति

अगन्य साथी कति मौन भाँति !

ग्रामीणश्री मिर्दलु छास्न लागे

श्री मोहनी मोहन मास्न लागे !

पवित्र सौन्दर्य र पे्रम भाग्लान्

आनन्दको स्थान बँचाउने छन् !

स्वतन्त्र, समग्र र बीचबर्ती

हुनेछ त्यो स्थान महान कीर्ति

फेदापको औ मधु आठराई

मिली बनाउन् सव भाईभाई

समाजको एक विचित्र पार्क

सौन्दर्यको पावन मुग्ध पार्क ।

जुटेर जागुन् जनजागृतीमा

निर्माण गर्नै युगको प्रतीमा

सवै वक्ष, कक्ष शुभ पक्ष मेलमा

लागी बनाउन् एक भव्य पार्क

भन्नेछ त्यस्ले ! ‘सव फर्कफर्क’ !

जहाँ छ जग्गा निज पालिकाले

तरक्कि, तयार र तालिकाले

किनी बँचाउन् मनकामनाले

सोद्येश्य राम्रो मनसा—कृपाले

आशीष ईमा ! दिनु मालिकाले !

देवी र द्यौता शुभ कालिकाले !

जान्छू म ता चित्तलयान चढ्दै

घुम्दै र फिर्दै, बहँदै, टटोल्दै

त्यहीं तपस्वीसित बास बस्छु

आनन्दको यात्री म एक बन्छु ।

गदै सहप्रेम सुबास, थानको

सद्भावले पावन प्राप्त मानको

पाषाणमा चिन्मय चेतनाले

बाह्यान्तरै सिर्जन प्रेरणाले

गीता, कविता, वनिता प्रकिर्ति

सुसंस्कृति गायन गीत बन्छु !

सौन्दर्यको पावनको स्थली त्यो

आनन्दको सुन्दर बाग होस त्यो

पवित्र सौन्दर्य र पे्रम बस्लान्

आनन्दको स्थान बँचाउने छन् !

(तेरथुम जिल्लाको पूर्वीभाग फेदाप र आठराईको व्यापक भौगोलिक परिवेसको बीचमा साम्थाङ भन्ने गाउँका सिरानमा अत्यन्तै रमणीय, ठूला,े फराकिलो चौर छ । त्यहाँबाट आठराई र फेदाप आतेजाते गर्ने एक महत्वपूर्ण मूलबाटो पनि जान्छ । त्यहाँ त्यो चउरे बाटामा चप्लेटी परेको अग्लो मूढाजस्तो एक ठूलै खैरो वा कैलो ढुङ्गो छ । त्यस माथि पनि बसेर यात्रुहरू विश्राम गर्ने गर्छन् । त्यसलाई सवैले लिही ढुङ्गो भन्छन् । आठराई खण्डकाव्यमा फेदाप र अन्य ठाउँको पनि केही उल्लेख गर्ने सिलसिलामा सो लिही ढुङ्गाको प्रसङ्ग पनि आएको हुँदा त्यसैको विषयमा गएका चार दिन जतिमा स्वतन्त्र पद्य शैली र लयमा यो एउटा छोटो खण्डकाव्यको रचना विस्तार हुन पुग्यो र सम्बन्धित एवम् इच्छुक अनि स्थानानुरागी तथा साहित्यप्रेमीहरू सवैको समक्ष पठनार्थ प्रस्तुत गरेको छु । यो विस्तारित लामो कविता प्रकाशोन्मुख नवालोक जन्मभूमि खण्डकाव्य संग्रहमा समावेस गरिएको एक टुक्रा हो । —मोहन सिटौला)

राउण्ड रक— गोलढुङ्गा— टेक्सस् , अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।