14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पिल्सिएको परदेशी मन

कविता राम लामा अविनाशी March 3, 2018, 2:39 pm

तिम्रा पढाईका हरेक सर्टिफिकेटहरु

मेरा पसिनाका थोपा- थोपाले लेखिएका छन् ।

कुनै अक्षर, अरबमा चर्को घामले निस्किएका पसिनाले लेखिए,

कुनै अक्षर, कोरियामा पग्लेका हिउंका थोपा-थोपाले लेखिए ।

म यसैमा खुशी छु

आज तिमी,

म नाथे काम्दारका पसिनाले लेखिएका

गहकिला सर्टिफिकेटहरु देखाएर

सर्ब शक्तिमान देशको

महत्वपूर्ण ओहोदामा आसिन भएका छौ,

प्रतिष्ठित ब्यक्ति भएका छौ ।

जवानीका पाखुराका बल

तिमीलाई हुर्काउंने बोझ उठाउंदा सिद्धिए

आफ्ना बैंसका चाहनालाई निमोठेर

तिम्रो उज्जल भबिष्य हेर्ने चाहनामा हौसिएं

आफ्नो छाक काटेर

तिम्रो पौष्टिक आहारको जोहोमा लागें

आफ्नो शक्ति सिद्ध्याएर

तिमीलाई सबल बनाउंन तिर लागें ।

तर आज म,

बैदेशिक रोजगारबाट फर्किनु अगाबै

मेरो जीवन भर रगत् पसिना सँग साटेको

तिम्रो पालन पोषण गरी बचेँको

सारा सम्पत्ति कुम्ल्याएर अर्कैसँग भागेकी

तिम्री आमाको सम्झनाको घुट्की लगाई रहेको छु ।

चरित्रहिन भन्दिन,

बैंसको कदर गर्नसकेकोमा बधाई छ उनीलाई ।

काबियलताले तिम्रो परिवारिक स्तर निराधारण गरेको छ

जहाँ मेरो पसिनाको मूल्यको कदर हुन सकेन ।

त्यसैले,

तिम्रो सफलता सम्झेर कहिले काँही बुर्कुसिने मन्को उर्जाले

मेरो एक्लो फुक्लो अशक्त शरीर

ब्र्हमाण्डको यतै कतै कुनामा घिस्रिई रहेको छ

तै पनि रत्तिभर गुनासो छैन

फलोस फुलोस तिम्रो जीवन

आशिर्बाद छ बाबु तिमीलाई , आशिर्बाद छ छोरा तिमीलाई ।

क्यालिफाेर्निया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।