17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

श्रीकृष्ण वंश र कुल देवता

कविता शर्वराज आचार्य May 4, 2018, 4:25 pm
शर्वराज आचार्य
शर्वराज आचार्य

श्रीकृष्ण आचार्य थिए धुरन्धर

सत्कर्मले मण्डित शास्त्र सागर

परिश्रमी पुत्र प्रपौत्रका धनी

छ वंश विद्वत्कुलमा शिरोमणि

होमादि वा पावन पर्व पर्वमा

सम्झी पुगे आखिर बाह्र वर्षमा

यो वंशले पुज्छ बस्यो जता जता

वराह नामा खस मष्ट देवता

वराहका निम्ति बनाई पायस

सामग्री जोडेर सुखा निरामिष

हटाउने विघ्न व्यथा कुलै भरि

गरिन्छ पूजा भर मष्टको परी

३.

सताउँदा हुन् वनजन्तु अग्निले

खोज्दा सुरक्षा घर बस्तुभाउले

बन्देवी ठानी वनराज्य स्वामिनी

पुजिन्छ मेडो वनको बुटा मुनि

सेताम्य बोका घरमा समाउँदै

वली लगी जङ्गलमा रमाउँदै

बन्देवीको काख लिएर आश्रय

बन्थे यहाँ पूर्वज नित्य निर्भय

चुँदी तनुङ्गे नृपको रजस्थल

श्रीकृष्णको यो मथुरा पदस्थल

यो बाह्रबर्से कुलदेव पूजन

आचार्यको सुन्दर वंश बन्धन

कुल्देवता शाश्वत सत्त्वका गुणी

बन्देवी छन् आमिषले रजोगुणी

पुजिन्न हाम्रो कुलमा तमोगुण

यो सम्पदा संस्कृति हो चिरन्तन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।