14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माया

लघुकथा मणिका शर्मा June 29, 2018, 1:43 am

माथिल्लो तलाबाट तल सडकलाई हेर्दै जुनाले झण्डै आधा दिन बिताइन।

घरमा कोही छैन।

काम गर्ने केटी दुई महिनालाई घर गएकी छ,आउने हो की होइन!

छोरो बुहारीसॅग ठुलो शहर पसेको छ।बाध्यता।

परिवारका अरूहरू पनि आफ्नै संसारमा व्यस्त छन्।

भएभरको सबै पैसा खन्याएर बनिएको हो यो घर।

घर सिद्धियो,कोठाहरू थुप्रै बनिए।

बस्ने मान्छे कोही रहेन तर।

आज होटेल रेन्देभुमा साथी सरलाको कान्छा छोराको बिहे छ।जान मन छैन जुनालाई।

कसले पुर्याईदेला,कोही त छैन।

जाऊँ की नजाउॅ,के गरौं कसो गरौंको दोधारमा धेरै समय बितिसक्छ।

सुन्छिन छप्परको एक कुनामा केही मधुरो आवाज।मान्छेको होइन।

त्यसपश्चात् यसो बोरा पन्साऊॅदा देख्छिन भर्खरै बियाएको बिरालो। छप्परको एक कुनामा चारवटा बच्चा जन्माएकी सुत्केरी बिराली न्याउ गर्छे। स्याहारमा तल्लीन बन्छिन उनी,खुशीले व्याप्त तृप्त अनुहार लिएर।मनतातो दुध र बिहानको भात दिॅदा ठूलो उपकार गरेको सन्तोषले उनको एक्लोपनको दुःख पर पन्सिन्छ।

ती बिरालाको आगमनले जुनाको घर घरजस्तै बनेकोछ।

अब फुर्सद छैन उनलाई। बोल्ने,कराउने,रिसाउने,माया पोख्ने ठाउँ त घर हो आखिर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।