14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

इज्जत

कथा अर्जुन यावा July 13, 2018, 1:38 am
अर्जुन यावा
अर्जुन यावा

‘बलात्कारीलाई फाँसी देऊ। फाँसी देऊ! फाँसी देऊ!!’

‘दोषिलाई सजाय देऊ। सजाय देऊ! सजाय देऊ!’

‘पीड़ितलाई न्याय देऊ। न्याय देऊ! न्या देऊ!’

कथा यहाँबाट शुरू हुन्छ।

राष्ट्रिय राजमार्गमा मानिसहरूको ठूलै हुल अघि बढ़िरहेको थियो। त्यही हुलको माझबाट कराइरहेका थिए नेतृत्वको आवाज कसैले। भीड़ले पछ्याइरहेको थियो। साथ दिइरहेको थियो।

...

दिल्लीमा भएको निर्भया अर्थात दामिनी काण्डको विरोध यसरी नै भएको थियो। आरुषी हत्या काण्डको पनि यसरी नै चर्चा भएको थियो। विरोध गरिएको थियो। पीड़ितको आत्मशान्तिको निम्ति मोमबत्ती जलाइएको थियो देशभरि। देशभरि। विश्‍वका अन्य देशहरूसम्म।

समाचार पत्र, टीभी च्यानल, सोसल मीडिया चारैतिर छ्याप्छ्याप्ती छाएका थिए खबरहरू। त्यहीबेला देशमा सरकारले बलात्कारीविरुद्ध बीसवर्षसम्म जेल सजायको कानुन बनायो।

‘अहो! हेर एकतामा शक्ति।’ मानवीरले मनमनै सोचे।

पछि टीभीमा समाचार हेर्यो-सुन्यो मानवीरले- ‘निर्भया काण्डका दोषिहरूलाई मुत्युदण्ड सुनाइयो।’ त्यसमा आफ्नो पनि केही योगदान अवश्य छ भनेर खुशी भएको थियो मानवीर।

...

हिजो-अस्तिमात्रै हामीले फेरि दोहोर्यायौं उही नाराहरू न्यायको निम्ति। जलायौं हजारौं मोमबत्ती। आशिफाको नाउँमा। आत्माशान्तिको निम्ति। हामी पनि सरिक बनेका थियौं। भावुक बनेका थियौं। एक बनेका थियौं त्यतिबेला। भीड़ लागेको थियो मानिसहरूको। गाउँ-गाउँबाट पनि आएका थिए मानिसहरू। एकजना थिए मानवीर। मानवीरले पनि सघाएका थिए हामीसँगसँगै-

‘फाँसी देऊ! फाँसी देऊ!!’

‘सजाय देऊ! सजाय देऊ!!’

‘न्याय देऊ! न्या देऊ!!’ भनेर नारा लगाउन। साँझमा एउटा मोमबत्ती पनि जलाएका थिए मानवीरले।

यसरी घटनाहरू भइरहे देशमा। बलात्कारको। हत्या-हिंसाको। विरोध पनि भइरह्यो। नारा लागिरह्यो प्रत्येकपल्ट। लाखौं मोमबत्ती जलाइए। हामीले भीड़ बनाइरह्यौं। मानवीरले साथ दिइरहे।

...

शहरमा नारा लगाएर फर्किएको दुईदिनपछि।

दिनभरि बारीको कामले थाकेर लखतरान परेको मानवीर बेलुकी घर पुग्दासम्म छोरी स्कूलबाट आइपुगेकी थिइन।

‘ओउ आमा, आज यो कहाँ गयो?’ श्रीमतीलाई सोधेका मात्र थिए।

‘बड़ा, हेडसरले भन्नुभएको छिट्टो स्कूल जानुस अरे। सीता रुइरहेको छ। खुनैखुन भएको छ।’ सीता कै स्कूल पढ़ने वीरेले खबर ल्यायो। स्वास्नीले के सोध्दै थिई। मानवीरले केही सुन्न भ्याएनन्। हस्याङ-फस्याङ गर्दै लागे स्कूलतिर।

...

स्कूल पुगेर थाहा भयो।

दुई दिनअघि जुन समयमा मानवीरले शहरमा नारा लगाइरहेका थिए, आज त्यही समयमा सीतालाई उसकै स्कूल पढ़ने छात्रले निर्वस्त्र पार्दैथिएछ। मानवीरले मोमबत्ती जलाइरहेको समयमा आज सीत रगतपच्छे भइसकेकी थिई। चिथ्रा-चिथ्रा भइसकेकी थिई।

मानवीरले देखे त्यहाँ मानिसहरूको भीड़। एक छेउमा सात वर्षीय सीता, सुकसुकाइरहेकी। जामा रगतले भिजेको। अर्को छेउमा राम, नवौं श्रेणीको छात्र। मानवीरले केहीदिन घि मात्रै हेरेका थिए टीभी समाचार- कुन्नि कहाँ हो आफ्नै शिक्षकबाट बलात्कृत बनेकी थिइन् छात्र। खुब रिस उठेको थियो त्योबेला। आज आफ्नै छोरीको यो अवस्था देखेर पर्नु पीर परिरहेको थियो।

...

समाजले चर्चा गर्यो-

इज्जत-बेइजत दुवै गाउँकै। समाजकै। आफ्नै। त्यसैले गाउँमै मिल्ने-मिलाउने। समाजले समाधान गर्ने। गाउँमै।

अनि, एकजना मान्य व्यक्तित्व उठेर बोले-‘जे भयो, भइगयो। यो कुरालाई हामीबीच मै समाधान गरौं।’

गाउँका पञ्चायतले थपे-‘सरले ठीकै भन्नुभयो। अब गाउँमै मिलौं।’

सुकमानले मानवीरको खुट्टा छोउलाझैं गरी भन्दैथिए-‘हो मने। हामी त साथी-साथी। रामेले गल्ति गरिहाल्यो। अब सीताको उपचारको जिम्मेवारी मै लिन्छु।’

हेडसरले जौंले हात गरी भन्दैथिए-‘हो मानवीर दाजु। यो स्कूल, समाज, हामी सबैको इज्जत तपाईंको हातमा छ।’

भीड़मा पुलिस, पत्रकार, शिक्षक-शिक्षिका, डाक्टर-नर्स, समाजसेवक र अरुहरू पनि थिए। सबै गाउँकै। सबै रमितै मात्र। गाउँले गाउँमै हेरिरहेको थियो गाउँकै रमिता। गाउँ-समाजको कुरा न थियो।

मानवीर केही बोल्न सकिरहेका थिएनन्। निन्याउरो देखिन्थे। उभिगरहेका थिए मूर्तिवत। सायद देखेनन् मानवीरले यहाँ निर्भया र आशिफाहरूको निम्ति उर्लिएको भीड्। पाएनन् त्यो एकता। अनि, सायद लाउँदै थिए इज्जतको अर्थ।

...

अहिले शहरको ठूलो अस्पतालमा उपचार चलिरहेको छ सीताको। उसले हाँस्न बिर्सिएकी छ। हेर्न आउने आफन्तहरूसँग पनि ऊ डराउँछे।

...

हिजो-आज मानवीर नारा लाउन छाड़ेका छन्। मोमबत्ती बाल्न छाड़ेका छन्। र्यालीमा जानै छाड़े। मानवीर नगएर तर के भयो त? शहरमा र्याली भइरहन्छ। मोमबत्तीहरू जलिरहन्छन्। नाराहरू लागिरहन्छन्-

‘बलात्कारीलाई फाँसी देऊ। फाँसी देऊ! फाँसी देऊ!!’

‘दोषिलाई सजाय देऊ। सजाय देऊ! सजाय देऊ!!’

‘पीड़ितलाई न्याय देऊ। न्याय देऊ! न्या देऊ!!’

...

कथा यहाँ सकिएको छैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।