16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सक्छौ भने फूल देउ

कविता श्रवणकुमार ढुंगाना July 13, 2018, 2:42 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

सक्छौ भने फूल देउ

तिमीलाई जस्तो मन पर्छ उस्तै रंगको,

जसको सुबासले

मलाई मेरो मृत्‍यु शैयासम्म पछ्याओस

र मेरो प्राण त्यसैसँग फैलियोस ।

सक्छौ भने फूल देउ

जो सम्झनाको बाफिलो वर्को बनेर

घम्लंग छोप्न आओस,

भलै मिलन नसुल्झने गाँठो भए पनि

कम्तिमा

जिन्दगी नै उच्चाटिलो बनाउने

उदासीको सिरेटोलाई त छेक्न सकोस !

यो संसार तिनको पनि हो

जो आए, र बाँच्नका लागि

तिमीसँग युद्ध गर्न परिरहेछ !

यो संसार तिनको पनि हो

जो जाँदैछन, र तिनका लागि

ति गैसके पछी मात्र

तिमीमा करुणा भरिएर आएको छ !

म त त्यो करुणामा उत्सव देख्छु

फगत् ति गैसकेपछि

तिमीमा भरिएर आएको

उत्सवको उभार !

सक्छौ भने फूल देउ

त्यो नाबालकको शिर तिर सोझिएको

बन्दुकको नालमा सिउरिन,

मर्नै परे पनि कोमलताको भेदनले

यमराजको आलिंगन पनि

आमाको अङ्गालो जस्तो बनोस ।

सक्छौ भने फूल देउ

त्यसैपनि भोक र भूमरीको तावामा

छड्किरहेको जिन्दगी माथि,

आकाशबाट बर्षाइएका आगोका ज्वालाको पनि

फूलको जस्तो स्पर्श होस्,

र जल्नै परे पनि त्यो जलाई

डढिरहेको बन जस्तो होइन

बलिरहेको दियो जस्तो होस् ।

बर्वरताका केही शब्दहरूको मात्र

औचित्य प्रमाणित गर्न मै मात्र उद्दत देखिने,

-यति पनि नबुझ्ने तिमी छौ भनेर

मलाई विश्वाश गर्नै मन छैन-

खोला किनारबाट ल्याएर ढुङ्गाहरू

मन्दिरमा पुजिएका देउताहरूको मात्र होइन

यो संसार

मान्छेहरूका माझबाट उठाएर देउताहरू

तिम्रा पाइताला मुनी टुक्र्याइएका

ति ढुङ्गाहरूको पनि हो !

म यो रगतको मसीले

फूलको पत्रमा

आँशुको गीत लेख्न चाहन्छु,

सक्छौ भने फूल देउ !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।