14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पख्लास् काठमाडौं !!!

कविता प्रा.डा.गंगाप्रसाद अधिकारी July 13, 2018, 1:51 am
प्रा.डा.गंगाप्रसाद अधिकारी
प्रा.डा.गंगाप्रसाद अधिकारी

१.

रातारात ‘रोडपति’ बाट 'करोडपति' बन्ने !

आफैंलाई मात्र मान्छे भन्ने !

मोफसललाई भने भेडा–बाख्रामा गन्ने

धन्य काठमाडौं !

स्याब्बास काठमाडौं !

क्याबात् काठमाडौं !

२.

तँ मेरो मोफसलमा आउँदा मैले भने

बिमान अड्डाहरूमै तुल ओछ्याउँदै

तँलाई न्यानो स्वागत गरिदिनुपर्ने !

तेरो इच्छा अनुसारका खाद्य परिकारले

तेरो स्वार्थी लाद्रो भरिदिनुपर्ने !

आफ्नो बिस्तरा तेरो सम्मानमा सुम्पिदिएर

मैले अन्तै सरिदिनुपर्ने !

दुर्दिनको अन्त्य गरिदेलास् कि भनेर

तेरै लागि मैले मरिदिनुपर्ने !

तर,

म तेरोमा आउँदा तँ भने

एकै छिन् दुई–चार कुरा सम्मन् गर्न भ्याउन्नस् हैन ?

चिया चमेना त परै जाओस्,

एक घुड्की चिसो पानी पनि पत्याउन्नस् हैन ?

धन्य काठमाडौं !

स्यावास काठमाडौं !

क्याबात् काठमाडौं !

३.

तेरा रेस्टुराँहरूका छोइला कचैलाहरू

मेरै लाहुरी भैंसीले पाइदिनुपर्छ !

तेरा भुटन र अनेकथरी परिकारहरू

मेरी लाहुरीले ब्याइदिनुपर्छ !

तेरा भट्टीमा पस्किइने सलादहरू

मेरै बारीले जुटाइदिनुपर्छ !

तेरा हरेक उत्सवका नरिवलहरू

मेरै करेसाबारीले फुटाइदिनुपर्छ !

दुई दिन तेरो भन्ज्याङ नाकाबन्दी हुँदा

तँ भोकले प्याक्प्याक्ती परेको मैले देखेको छु

तेरो घर मैले बहालमा नलिइदिँदा

तँ अभावले ¥याख¥याखती परेको पनि भेटेको छु,

के फुटानी लडाउँछस् काठमाडौं !

मुलुककै उर्बर भूमिमा गगनचुम्बी महल ठड्याएर

मख्ख परेर बसेको तँ मूला,

तेरा हरेक काला कर्तुतहरू

मैले मेरा मुटुका पानाभरि भरि लेखेको छु ।

तर तँ सधैं भरि

अर्काकै खाएर, अर्काकै लाएर

चपाएर, उग्राएर

अरूकै जिरासरी र बास्मती पचाएर पनि

मोफसलको टुप्पी मुठ्याएर बस्न भ्याएको छस् हैन ?

धन्य काठमाडौं !

स्याबास काठमाडौं !

क्याबात् काठमाडौं !

४.

दुई घण्टाको कामका लागि

दुई हप्तासम्म मलाई झुलाएर,

सिनो झैं गह्नाउने

तेरा साँगुरा फोहोरी गल्ली डुलाएर,

तेरा गुलिया तर पाखण्डी र कपटी

वाचाबन्धनका भुलभुलैयामा मलाई भुलाएर

मेरो गजेटको बजेट अस्तव्यस्त पार्दै

मलाई जानाजान बेखर्ची तुल्याएर,

ठुलै बठ्याइँ गरें भन्ठान्छस् हैन ?

ठुलै चलाकी गरें भन्ठान्छस् हैन ?

धन्य काठमाडौं !

स्याबास काठमाडौं !

क्याबात् काठमाडौं !

५.

तैंले हामीलाई साह्रै हेपिस् हैन ?

समस्यै समस्याको भुङ्ग्रो हामीमाथि खन्याएर

साहै्र साह्रै चेपिस् हैन ?

पख् न पख्, हेर्दै जा,

हामीलाई पनि हाम्रा नेताले

जातै पिच्छे एक–एकवटा मुलुक दिन्छौं भनेका छन्,

र,

यो सिङ्गो मुलुकलाई टुक्रा–टुक्रा पार्न

खुकुरी उद्याएर,

खुकुरी उज्याएर,

छिमेकमा बनेको अचानोमाथि

मुलुकलाई राखेर

दाउ हेर्दै पर्खिरहेका छन्,

अलि दिन त हेर् काठमाडौं !

अलि दिन त पख् काठमाडौं !

त्यसपछि त,

हामीसँग पनि जातै पिच्छेका

आ–आफ्नै मुलुक हुनेछन्

गाउँ–गाउँमा आ–आफ्नै

राजधानी हुनेछन्,

हाम्रा आ–आफ्नै

जात–जातका काठमाडौं हुनेछन्,

साना काठमाडौं,

अलि ठुला काठमाडौं,

अझ ठुल्ठुला काठमाडौं !

अनि,

तँ बुढिएको, थोत्रिएको, चाउरिएको

तँ रोगी र जर्जर बनेको अपाङ्ग काठमाडौं

तेरा गगनचुम्बी तर रित्तिएका महलहरूमा

पश्चात्तापका आँसु झार्दै

समृद्धिका सपनाहरू झन् झन् पर पर सार्दै

मुुसा र छुचुन्द्राहरूको ताण्डव हेर्नुपर्दा

थाहा पाउलास् न काठमाडौं !

पख्लास् काठमाडौं !

चाख्लास् काठमाडौं !

कौशलटार, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।