14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आँखाहरू....

कविता शेरबहादुर कार्की July 27, 2018, 1:36 pm

बोल-बोल पाखाहरू

हिउँ फुल्ने आँखाहरू

किन होला हिजो आज

बाटो छेक्छन् आँखाहरू.....

हो...आँखाहरूले बाटो काट्छन्

हो....आँखाहरूले बाटो छेक्छन्

शताब्दीदेखि थुनिएका छन् सपनाहरू

युगौंदेखि फुलेका छन् सपनाहरू

यी आँखाहरूमा....

उत्ताउला आँखाहरू

मलिन आँखाहरू

सालिन आँखाहरू

हुन तर सबै यी

आँखाहरू.......

यो आकाश कति पो विशाल छ र

यो क्षितिज कति पो फराकिलो छ र

यो हिमाल कति पो अग्लो छ र

यो पानी कति पो तरल छ र

मेरा आँखाभन्दा कहाँ विशाल छ

मेरा आँखाभन्दा कहाँ फराकिलो छ

मेरो आँखाभन्दा कहाँ अग्लो छ

मेरो आँखाभन्दा कहाँ तरल छ।

आकाशको नीलो वक्षभरि जतासुकै पोखिएका

बाँदलका सेता सेता वीर्यहरूले सिर्जित

मेरा यी आँखाहरू तिमीलाई सुन्दर लाग्छन्

मेरा यी आँखाहरू तिमीलाई सालिन लाग्छन्

अनि मलाई,

तिम्रा ती आँखाहरू प्यासी लाग्छ

तिम्रा ती आँखाहरू चञ्चल लाग्छ।

बोल-बोल पाखाहरू

हिउँ फुल्ने आँखाहरू

किन होला हिजो आज

बाटो छेक्छन् आँखाहरू.....

विवेकको मानीले घुमाएर

रन्थनी रहेका आँखाहरू

ममतको मर्मले मौलिएका

मनका मायालु आँखाहरू

आभावले पिल्सिएका आँखाहरू

ईर्ष्याले जलेका आँखाहरू

तिमीले पनि देख्ने आँखा

मैंले पनि देख्ने आँखा

हामीले देख्ने आँखा।

पसिनाको दाना दानामा सम्भाव्य छ

तर त्यहाँ आँखा हुँदैन

हत्केलाको ठेलाभरि लक्ष्य छ

तर हिँडने मार्ग देखिने आँखा छैन।

हो त विकास गर्छन् नेताका आँखाहरू

हो त बाटो छेक्छन् प्रियेका आँखाहरू

हो त ममता भर्छन् आमाका आँखाहरू

हो त साहस जुटाउँछन् बाबाका आँखाहरू

सबै आँखाहरू नै भए पनि

प्रिय लाग्छन् प्रियेकै आँखाहरू।

अनि त प्रकृतिसित अलिकति चोरेर

कालो बाँदल गाँजल बनाइदिन मन लाग्छ।

अलिकति हिँउ ल्याएर नानी बनाइदिन मन लाग्छ।

अलिकति सागरको पानी ल्याएर

डिलबाट खस्ने झरणा बनाइदिन मन लाग्छ।

भ्रमित आँखाहरू

घुङरिङ खिपिएको फुर्काहरूबाट

भालेले हेरेजस्तो

कपट आँखाहरू

प्वाल बनाएर

संसार डामाडोल देखाए जस्तो

प्रेमिल आँखाहरू

सालघारीमा झरीले गाएको गीत जस्तो

हुनेका आँखाहरू

नहुनेका आँखाहरू

देख्नेका आँखाहरू

देखाउनेका आँखाहरू

बोल-बोल पाखाहरू

हिउँ फुल्ने आँखाहरू

किन होला हिजो आज

बाटो छेक्छन् आँखाहरू.....

सोरेङ, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।