माननीयज्यू नमस्कार,
धार्ने कामीलाई चिन्नुहुन्छ ?
उ यहि दशगजा भित्रको पिँधमा थियो,
पिँधमै हरायो ।
बत्तीको त पिँधमा उज्यालो पुग्दैन
धार्नेको ज्यानमा कहाँबाट पुगोस,
धार्नेको नाममा कहाँबाट पुगोस,
उज्यालै नपुगे पछि अध्यारैमा हरायो
उ मात्र हराएन, उसको पुस्तानै हरायो
उसको कुण्डलीनै हरायो
उ त हारेको मान्छे
त्यसैले जित्नेले उसको नामोनिसान हराईदिए
त्यसैले तपाईले चिन्न सक्नु भएन,
तपाईको के दोष ?
माननीयज्यू नमस्कार,
बिसे नगर्चीलाई त चिन्नु हुन्छ कि ?
नचिने पनि सुन्नु भएको त होला
तपाईले लुकाउनु भएको उसको चिना
श्रवण मुकारुङ्ले उधिनि दिए
कुण्डलीनै सुनाई दिए
अढाई सय वर्ष पछि बौलाएको कैरन सुनाए
त्यसैले बिसेलाई त चिन्नु पर्ने हो ।
श्रवण मुकारुङ्ले चिना हेरिदिए पछि
बिसे त गोरखामा फेरि जन्मिए
शालिक भएर, भलै नबोलुन,
अढाई सय सम्म हारेको कथा सुनाउन साक्षी बनेर
चिन्नु हुन्न भने गएर हेर्नु होला ।
धार्ने कामीको चिना कसैले उधिनेकै छैन
उसको कथा सुनाएकै छैन
त्यसैले तपाईले चिन्न सक्नु भएन,
तपाईको के दोष ?
माननीयज्यू नमस्कार,
कालु सार्की र मणिराम गाईनेलाई चिन्नु हुन्छ ?
म त चिन्दिन
जित्नेको पक्षका लेखियो इतिहास
मैले त्यहि पढेँ
मलाई त्यहि पढाईयो
मैले त्यहि मेरो छोरालाई पढाएँ
यि त हारेका मान्छे ।
जित्नेले पुराण लेखाए
त्यहि पुराण इतिहास बन्यो
त्यहि इतिहास मैले पढेँ
त्यो पुराणमा न बिसे थिए
न धार्ने कामीको कैरन थियो
न कालु सार्की र मणिराम गाईनेको गाथा थियो
अनि कसरी चिनौ त म ?
हार्नेको इतिहास कसले लेख्छ हजुर ?
कुन श्रवण मुकारुङ्ले
उनीहरुको चिना खोज्नु पर्ने हो ?
मलाई हार्नेहरुको इतिहास खोज्न मन छ
मलाई हार्नेहरुको चिना लेख्न मन छ ।
चोक चोकमा महाराजहरुको जत्रै शालिक बनाउन मन छ
स्मृती दिवशमा रैतीहरुलाई श्राद्ध गराउन मन छ
माल्यार्पण गराउन मन छ
के मलाई चिन्नु हुन्छ ?
म त आँफै हारेको मान्छे
मेरो इतिहास खोज्दा खोज्दै
सुचना समेत बन्न नसक्ने मान्छे
त्यसैले तपाईले चिन्न सक्नु भएन,
तपाईको के दोष ?