14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निर्मलाका हत्यारा खोइ सरकार ?

कविता डिल्ली राम अंमाई November 5, 2018, 7:13 am

सत्ताको भोकले रोइरहने

इतिहास बेचेर

हुँडार कलाको सौर्यबाट

कचारा रसाएर,

बगीरहेका आँसुहरु पिउँदै

रात्रीमा निसहाय नानीहरु

बाटो ढुकेर ठुङ्ग्दै हिड्ने

पदका भिकारीहरु हो

निर्मलाका हत्यारा खोइ?

तिम्रा इज्जतलाई धिक्कारी रहेछन्

तिम्रा सडकका र्इश्वरहरुले

आकाश पातालबाट बोली रहेछन्

कथित नगर पिचासहरु हो नगर छोड

न्याय र सुरक्षाका ठेक्दारहरु हो

कि त निर्मलाको हत्यारा पत्ता लगाउ

हैन भने,

निर्मल निर्मलाको चिरहरण

मृत्युका प्रमाण दबाएर

अँध्यारोमा रुन बन्द गर

र मेरो देश त्यागि देउ ,

हेरी राख पातकीहरु हो,

तिम्रा छाँयाको कालो आकृतिमा

तिम्रा राक्षसी विर्यमाथि

जनताले तेजाब खन्याउने छन् एक दिन

रुन्चे नौटंकी अब बन्द गर

किनकी

आत्मा ढाँटेर बोल्दा पाप लाग्छ !

जनताले बुझ्दैछन्

तिम्रा छलछामका कुरा

तिम्रा तामसी सल्लाह

यो त पक्का छ ब्वाँसाहरु हो

बिशाल ज्वालामुखीको आगोमा

कलंकको मैलोले गन्हाएको तिम्रो देह

खरानी पर्नेछ एक दिन

बलात्कारीका सन्तान भनेर

आवाजहरु चर्किंदै जानेछ ,

बास पाउने छैनन् तिम्रा सन्तानले

कन्दराबाट निस्केका सुइरा

सुल बनेर,

तिम्रै देह छिचोल्नेछ एक दिन,

बन्द गर गोहीका आँसु खसाल्न

तिम्रा लाहगृहका कथाहरु लुकाएर

किनकी

तिम्रा र्इश्वरले तिम्रो विश्वासघातमा

सडकबाट प्रश्न सोधिरहेछन्

तिम्रो भकारोमा मल मुत्र त्याग्ने

तिम्रा प्रिय तर

निर्मलाका हत्यारा खोइ?

यहि पारा हो भने

अब,

दिनहरु छोटिदैछ तिम्रो

क्यालेण्डरमा दिनहरु गनेर बस

किनकी राहु घुमिरहन्छ

चन्द्रमाको चक्रले

अँध्यारो औंसीको रात्रीमा पनि

समुन्द्रमा

ज्वार ल्याउन बिर्सदैन

त्यहि आँधीले

तिमी माथि ओढाएको

सेतो कात्रो

अनि बलात्कारले बिटुलिएको

पिताम्बर पनि

लैजानेछ उडाएर

हैन भने बताउ

कम से कम,

तिम्रा इश्वरलाई थाहा भएको कुरा

तिम्रै फोहरमा भन्कने

तिम्रा किरा

तिम्रै पाइखानामा छन् अरे !

तिमीले अब बताई देउ

आत्मालाई नढाँट

मसानको सन्नाटामा

दशी मेटाउदै नबस,

तिमीले छिपाई रहेको

सत्य कुरा भनिदेउ

निर्मलाका हत्यारा खोइ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।