19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्य वार्ता: नारायण ढकाल

वार्ता यज्ञश July 27, 2008, 6:51 am

नेपाली साहित्यमा खासगरी आख्यान विधामा नारायण ढकाल स्थापित नाम हो । एउटा पत्रकार र राजनीतिक कार्यकर्ताका रूपमा मात्र होइन, हिप्पीकालको अराजक जीवनशैलीको समेत उनलाई अनुभव छ । साहित्यले छुने र असर गर्ने प्रायः सबै विधाको 'फस्ट ह्यान्ड' अनुभव भएका उनी नेपाली साहित्यको विवेचनामा पनि प्रखर छन् । उनको नयाँ उपन्यास 'प्रेतकल्पको छाया' प्रकाशनको तयारीमा रहेको छ । यसपटकको साहित्यविशेषमा अहिलेको नेपाली साहित्यका विषयमा ढकालसँग वार्ता गरिएको छ । यो वार्ताका केही महत्त्वपूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ ।

१)अहिलेको नेपाली साहित्यमा देशको राजनीति कहाँनेर अटाएको छ ?

साहित्य भनेको मूलतः जीवनको खोजी हो । यो खोजीको क्रममा साहित्यमा राजनीति आउनु स्वाभाविक कुरा हो । तर, अहिलेको साहित्यमा यत्तिकै सतही हिसाबले हेरेर साहित्यले राजनीतिको कस्तो चित्र कोरेको छ, ठ्याक्कै भन्न सकिँदैन । त्यसलाई खास सन्दर्भमा हेर्नुपर्ने हुन्छ । र, साहित्य भनेको जीवनको सोझो प्रतिक्रिया होइन । अखबारमा लेखिने तातो टिप्पणीजस्तो साहित्य तुरुन्तै जन्मिँदा पनि जन्मिँदैन । साहित्य भनेको समाज र जीवनका सम्बन्धको उत्खनन् हो । यसका साथै साहित्यकारहरू व्यक्तिगत रूपमा पनि कुनै न कुनै राजनीतिक विचारको निकट हुन्छन् । समग्रमा हाम्रो साहित्यले राजनीतिबाट अलग छैन ।  

२)साहित्यले राजनीतिलाई कसरी प्रभावित पार्छ । र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?

साहित्यले राजनीतिलाई प्रभावित गर्छ, तर ढिलोगरी । एक त हाम्रो साहित्यका पाठकको संख्या थोरै छ । त्यसमाथि कुनै संगठन, सभा वा राजनीतिक आलेखलेजस्तो साहित्यले सोझै निर्देश गर्दैन । यसैले साहित्यिक कृतिले राजनीतिलाई ठाडै प्रभावित पार्दैन । तर, विचारको शक्तिका रूपमा भने राम्रो कृतिले पछिसम्म प्रभावित पार्नसक्छ ।   

३)साहित्यका थुप्रै विधा छन् । यीमध्ये हाम्रो सन्दर्भमा कुन बढी प्रभावकारी देख्नुहुन्छ ? 

कविता, कथा, उपन्यास वा नाटकका आ-आफ्ना सीमा र क्षमता छन् । पाठकलाई सजिलोका हिसाबले कथा र संस्मरण बढी प्रभावकारी हुन्छन् भन्ने लाग्छ । अझै, लेखक इमानदार हुने हो भने त हरेक संस्मरण सर्वथा नौला हुन्छन् । नाटकचाहिँ लेखनमा मात्र भन्दा पनि त्यसको मञ्चनसँग जोडिने भएकाले सामूहिक कलाका रूपमा यो बढी प्रभावकारी हुन्छ । 

४) पछिल्लो समयमा पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको पुस्तक कुन हो ?

मलाई जगदीश घिमिरेको 'अन्तरमनको यात्रा' राम्रो लाग्यो । वैचारिक उदात्तता, इमानदारी, बौद्धिक स्तर र अभिव्यक्तिको प्रवाहका हिसाबले यो पुस्तक राम्रो छ । पछिल्लो एक/डेढ महिनामा पढेका पुस्तकमा खालिद हुसेनीको 'काइट रनर' पनि राम्रो लाग्यो । तर, यसको एउटा पक्षचाहिँ मनपरेन । यो अमेरिका-अफगान सम्बन्धका विषयमा लेखिएको उपन्यास हो, तर यसमा अफगान राष्ट्रपति हमिद कारजाईको प्रशंसामा धेरै स्थान खर्च गरिएको छ । पढेकामा अद्भूत राम्रो लागेको चाहिँ ओह्रान पामुकको 'स्नो' हो । मैले उनका धेरै पुस्तक पढ्न पाएको छैन । 'माई नेम इज रेड' पढ्न नसकेर बीचमै छाडिदिएँ । तर, यो उपन्यासचाहिँ साँच्चिकै अद्भूत छ ।

५) ०४६ देखि ०६३ सम्मको अवधिको नेपाली साहित्यले नेपाली राजनीतिका आयामलाई कुन हदसम्म पक्डिएका छन् ?

यो एउटा यस्तो राजनीतिक कालखण्ड थियो, जसमा नयाँ मूल्यको खोजीको अपेक्षा गरिएको थियो । तर, समाजमा त्यति ठूलो परिवर्तन देखिएन, मूल्यहरूको रूपान्तरण तेज गतिमा हुन सकेन । यसको असर साहित्यमा पनि पर्‍यो । तर पनि साहित्यले राजनीतिलाई छाडेन । त्यो अवधिका थुप्रै राजनीतिक र सामाजिक गतिविधिको चित्रण साहित्यमा भएको छ । खासगरी नकारात्मक प्रवृत्तिको उल्लेख साहित्यले राम्रोसँग गर्‍यो । साहित्यले राजनीतिलाई सानदार ढंगले उल्लेख गर्न त सकेन, तर गर्दै नगरेको भने होइन ।  हाम्रो साहित्य निकै सतही र छिपछिपे भयो भन्ने भनाइ पनि छ नि ! यो सत्य हो । राजनीतिको देखासिकी गर्दै हाम्रो साहित्य पनि सतहका मोटा नाराका पछि दगुर्‍यो । त्यसको अन्तरवस्तुको विवेचनामा भन्दा सतही चित्रणमा स्रष्टा बढी सक्रिय भएका देखिए । सडकमै उत्रिने सन्दर्भमा पनि शब्द-सामथ्र्य नभएको स्रष्टा र एउटा गैरसाहित्यिकमा कुनै फरक हुँदैन । धेरैजसो अवसरमा स्थिति यस्तै देखियो । 

६) दसवर्षे जनयुद्ध साहित्यका लागि उर्बर भूमि थियो भन्ने लाग्छ । हाम्रो साहित्यले यसको उपयोग कुन ढंगले गर्‍यो ? 

यसको उपयोग नै नभएको त होइन, तर यी पक्ष/विपक्षमा विभाजितजस्ता थिए । एकातिर जनयुद्धको अतिरञ्जनापूर्ण व्याख्या भएका कृति जनयुद्धमा सामेल पक्षबाट आए । मेरो विचारमा यी कृति जीवन र मानवको सम्बन्धको सही चित्र कोर्न सक्षम छैनन् । चिनियाँ साँस्कृतिक क्रान्तिको समयको साहित्यको सिको गरिएका जस्ता छन् । र, अर्को पक्षबाट लेखिने पनि जनयुद्धको निरपेक्ष विरोधमा लेखिएका अत्यन्त सतही छन् । यी दुवैको साहित्यिक मूल्य कम छ ।  

७)तर, बजारमा त यस्तै पुस्तकको माग बढी छ नि !

धेरै बिक्री हुँदैमा त्यसको साहित्यिक मूल्य बढ्ने होइन । बेच्नेकै कुरा गर्ने हो भने प्लास्टिकका भाँडा सबैभन्दा बढी बिक्छन्, तर तिनको मूल्य निकै कम हुन्छ । र, अर्को कुरा मूल्य कम भएका कारण पनि ती बढी बिकिरहेका हुन्छन् । मेरै कुरा गर्नुहुन्छ भने म किशोरावस्थामा सुभाष घिसिङको 'नीलो चोली' र प्रकाश शर्माको 'आगो' जस्ता किताब पढ्थेँ । तर, तिनको साहित्यिक मूल्य केही छैन । यी अर्कै उद्देश्यले लेखिने पुस्तक हुन् । बिक्रीका मानक र साहित्यिक मूल्यका मानक फरक हुन्छन् ।  

८)पछिल्लो कालमा मदन पुरस्कार पाएका पुस्तकहरूको मूल्यचाहिँ कति छ ?  'पल्पसा क्याफे,' 'राधा' र 'छापामारको छोरो' अलग-अलग किसिमका पुस्तक हुन् । 'राधा' आजको नारीवादीका विषयमा पौराणिक पात्रलाई गाँसेर लेखिएको कृति हो । यो बजारमा आउने बेलामै यसका लेखकले मलाई एउटा कार्यक्रममा पुस्तकमाथि बोल्न आमन्त्रण गरेका थिए । मैले त्यही कार्यक्रममा पनि भेनको थिएँ कि यो वैचारिक रूपमा कमजोर कृति हो । उनले महाभारतले छाडेको पात्र राधालाई न्याय गर्न लेखेको भनेका छन् । तर, यो उपन्यासले राधालाई कुन्ती वा द्रौपदीको छेउसम्म पनि पुर्‍याउँदैन । 'छापामारको छोरो' निरपेक्ष शान्तिवादी पुस्तक हो । तर, सेटिङका हिसाबले यो राम्रो छ । यस्तै, 'पल्पसा क्याफे' को भाषिक र प्रस्तुतिको सरलता राम्रो पक्ष हो । तर, मैले यसलाई पनि कमजोर कृति मानेको हुँ । 

९) त्यसो भए नेपाली साहित्यमा सशक्त कृति छैनन् त ?

छन् । जस्तो, मदनमणि दीक्षतिको 'माधवी' । बौद्धिक समाजको संक्रमण, प्रेम र जातीयताको विषयसमेत समेटिएको एवं प्रगतिवादी र पुरातन मूल्यको द्वन्द्व भएको यो उपन्यास सशक्त हो । यस्तै, धच गोतामेको 'घामका पाइलाहरू' एउटा समयको संक्रमणको कथा थियो । यो आफैमा पूर्ण थिएन, लेखकले तिनै पात्र लिएर अर्को उपन्यास 'यहाँदेखि त्यहाँसम्म' पनि लेखे । यति भएर पनि यो बलियो उपन्यास हो । समग्रमा कुरा के हो भने, सामाजिक जीवन खोज्ने कुरामा हामी कमजोर छौँ । निकै नाम चलेका धु्रवचन्द्र गौतमदेखि गोविन्दराज भट्टराई वा नारायण वाग्ले वा सञ्जीव उप्रेतीसम्मको लेखाइ हेर्दा सन्तुष्ट हुन गाह्रो छ । अझै क्रान्तिकारी साहित्यपट्टिको खेमा त यो खोजीमा दरिद्र र गरिब देखिन्छ । 

१०) नेपाली आख्यानको लेखन धारा के हो ? यो कताबाट बढी प्रभावित छ ? औद्योगिक क्रान्तिपछि गद्य महाकाव्यको रूपमा उपन्यास सबैभन्दा प्रभावशाली बन्दै आएको छ । दोस्रो विश्वयुद्धपछि यो फ्रान्ससमा अर्को स्वरूपमा देखापर्‍यो । र, तेस्रो विश्वका लागि त यो राष्ट्रिय मुक्ति आन्दोलनको एउटा अस्त्र नै बन्यो । हाम्रोमा त्यो स्थिति छैन । हाम्रोमा उपन्यास वा आख्यान एउटा खास विचारबाट प्रभावित छैन । 'न्यु नोबल' का रूपमा पारिजातको शिरीषको फूल उनले लेखेमध्येको सबैभन्दा राम्रो कृति हो । तर, त्यसभित्र तपाईं नेपाल पाउनुहुन्न । युद्धपछिको एक्लो सुयोगवीरको मनोविज्ञान नेपाली मनोविज्ञान होइन । न, एउटा चुम्बनका कारण मृत्युमा पुग्ने सकम्बरी नेपाली पात्र हो । यसमा पारिजातले दोस्रो विश्वयुद्धपछिको युरोपको बौद्धिक निराशाको प्रक्षेपण गरेकी थिइन् ।

११) शैलीगत हिसाबमा आख्यानमा के परिवर्तन आएको छ ?

यसमा धेरै प्रयोग भएका छन् । तर, शैलीले मात्र कुनै कृति राम्रो हुने होइन यसका लागि प्रभावकारी अन्तरवस्तु नै चाहिन्छ । बजार व्यवस्थापन अहिले निकै महत्त्वपूर्ण कुरा बन्दै गएको छ । तर, बजारका पनि आफ्नै तर्क र शास्त्र छन् । एकातिर 'काइट रनर'जस्तो सरल पुस्तक वेस्टसेलर हुन्छ अर्कातिर 'स्नो'जस्तो जटिल रचना विधान भएको पुस्तक पनि वेस्टसेलर हुन्छ । यस्तै, ह्यारी पोर्टरजस्तो हल्का कृतिले बजारमा उल्का गर्छ अर्कातिर मार्खेज पनि उत्तिकै बिकिरहेका छन् । मुख्य कुरा तपाईंले प्रामाणिक जीवनको खोजी गर्नसक्नुभयो त्यो कृति बिक्छ । र, त्यसको आयु पनि लामो हुन्छ । 

१२) अहिले नेपाली लेखकको स्थिति कस्तो छ ?

अहिले लेखकको मूल्य बढेको छ । कृति मात्र होइन, लेखककै बारेमा पनि पाठकको रुचि बढेको छ । अखबारमा चर्चा बढेको छ । 

१३) लेखक र पाठकका बीचमा आलोचक, समालोचकको भूमिका के हुन्छ ?

ज्यादा तर आलोचना 'पुस्तक प्रशंसा’ भइरहेका देखिन्छन् । यसले साहित्यलाई हानि गर्छ कि फाइदा ? 

आलोचक र समालोचक जन्माउने केही ठूला ठाउँहरूले हो । जस्तै, विश्वविद्यालय, नेपाली विभाग वा प्रज्ञा प्रतिष्ठान । अहिलेका धेरैजसो आलोचनामा रचनात्मक आलोचनाको मात्रा कम छ । कि त पूरै प्रशंसा कि पूरै गाली । आलोचकले या त अवैज्ञानिक आलोचना गर्ने या अवज्ञा गर्ने प्रवृत्ति बढ्दो छ । यो अखबारी विमर्शका सन्दर्भमा पनि लागू हुन्छ । 

१४) त्यसो भए आलोचनाको अर्थ के छ त ?

आलोचनाको अर्थै छैन भन्ने होइन । तर, आलोचकले पाठकलाई 'डिक्टेट' गर्नचाहिँ सक्दैन ।   

१५)देशमा व्यापक राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रिया सुरु भएको छ । यसमा साहित्यको स्वर निकै मधुरो सुनिन्छ नि !

अहिले चलेको रूपान्तरणको प्रक्रियालाई म अहिले नै लेख्न सक्दिनँ । यो एउटा टुंगोमा नपुगी यसका विषयमा राजनीतिक टिप्पणी लेख्न सकिएला, तर साहित्यिक कृति लेख्न सकिँदैन । कार्य, कारण र सम्बन्ध बुझ्न एउटा समय लाग्छ ।  

१६) भनेपछि साहित्यले राजनीतिको पिछा मात्र गर्नसक्छ ? उछिन्न सक्दैन ?

त्यो त यहाँ मात्र होइन, कहीँ पनि सक्दैन । राजनीति एउटा क्रिया हो भने साहित्य त्यसको निष्कर्ष हो । पहिले काम हुन्छ, अनि बल्ल निष्कर्ष निस्किन्छ । तपाइं काम नगरी फलका बारेमा निर्णय गर्न सक्नुहुन्न ।   

१७)पछिल्लो कालमा नेपाली साहित्यमा उत्तरआधुनिकता निकै चर्चामा छ । यसका सन्दर्भमा तपाइंको बुझाइ के छ ?

यसको पनि दुईथरी अतिवादी कोणबाट चर्चा भइरहेको छ । एकथरी प्रशंसैप्रशंसा गर्ने, अर्कोथरी गाली मात्र गर्ने । यस्तो होइन । कुनै पनि सिद्धान्तका केही आधार हुन्छन् जसको बलमा त्यो बनेको हुन्छ । त्यसका आधारमा त्यो वादको व्याख्या गर्नुपर्छ । फ्रेडरिक जेम्सनले उत्तरआधुनिकतावादलाई साम्राज्यवादको साँस्कृतिक हतियारका रूपमा व्याख्या गरे । तर, यसको अर्को पक्ष पनि छ । दोस्रो विश्वयुद्धपछि प्रबुद्धन युगमा विचारहरू खण्डित भए । जीवन र जगत्लाई हेर्ने सवालमा मानिसलाई पुराना विचार अपूर्ण लागे । माक्र्सवाद अपूर्ण लाग्यो, अध्यात्मवाद पनि अपूर्ण लाग्यो । यसैको सेरोफेरोमा नयाँ विचारका रूपमा उत्तरआधुनिकतावाद आयो । उत्तरआधुनिकता साहित्यमा मात्र होइन, दर्शन, समाजशास्त्र, संगीत र अर्टिटेक्टमा पनि छ । यसैले यसको एउटै स्वरूप छैन । 

१८) नियोमाक्सिर्ज्मको अवधारणा पनि सँगसँगै छ, यसका बारेमा चाहिँ के छ ? कतिपय मानिसले उत्तरआधुनिकतावादलाई नियोमाक्सिर्ज्मभित्रै पनि राखेका छन् । अहिलेसम्म आएको वादमा जीवनलाई हेर्ने सबैभन्दा बृहद् दृष्टि भएको वाद माक्र्सवाद हो । तर, यसका अपूर्णतालाई भर्ने काम नियोमाक्सिर्ज्मले गरेको छ । यसका पनि विभिन्न शाखा छन् । जे होस्, माक्र्सवादलाई बुझ्ने सवालमा पनि नयाँ कुञ्जी थपिएको छ ।

१९) इतिहासलाई झूटा र मिथकलाई साँचो मान्ने यसको अवधारणा ठीक छ ? इतिहासलाई केही पनि होइन, मिथक मात्रै सबै चिज हुन् भन्ने कुरा ठीक होइन । तर, इतिहास मात्रै सधँ साँचो हुन्छ भन्ने पनि छैन । इतिहास बोधभन्दा पर गयो भने त्यसको मूल्य रहँदैन । यसैले साहित्यमा मिथक चाहिन्छ । हाम्रो उत्तरआधुनिकतालाई हेर्ने राजनीतिक र सौन्दर्यशास्त्रीय दुईखाले आँखा छन् । तपाईं माओवादीलाई नै हेर्नुहुन्छ भने सौन्दर्यशास्त्रमा माओवादीले उत्तरआधुनिकताको घोर विरोध गरेका छन् । तर, राजनीतिमा त्यसैलाई प्रयोग गरिरहेका छन् ।

२०) नयाँ प्रज्ञा—प्रतिष्ठान गठनको कुरा चलिरहेको छ । साहित्यको विकासमा प्रज्ञाले अब के गर्नुपर्छ ? 

पुरानो प्रज्ञाबाट पनि म निराश हुँ, अबका प्रति पनि खासै आशावादी छैन । प्रज्ञाले अरू जे जे काम गरे पनि लेखनको वातावरण बनाउने काममा यसको उल्लेख्य भूमिका रहेन । फेरि प्रज्ञाजस्ता संस्था सत्तानिकट साहित्यकारका लागि हो । अराजक किसिमको चिन्तन भएकाहरूलाई यसको संरचनाले नै समेट्न सक्दैन । अर्को कुरा सामन्तवाद प्रभावकारी रूपमा रहेको स्थानमा आलोचना मनपराइँदैन । यसकारण गुणवत्ताका आधारमा प्रज्ञा बन्ने सम्भावना देखिँदैन । 

२१) त्यसो भए यो किन चाहियो त ? 

मेरा लागि प्रज्ञा प्रतिष्ठान हुनु र नुहुनुको कुनै अर्थ छैन । मेरो विचारमा यसमा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको छ । तर, मलाई चाहिएन भन्दैमा अरूलाई पनि चाहिँदैन भन्ने छैन । प्रज्ञा प्रतिष्ठानमा साहित्यकार जानु भनेको सत्ताको एउटा लगाममा बाँधिनु हो, त्यसको समर्थक बन्नु हो ।  

२२)नेपालमा अंग्रेजी भाषामा साहित्यलेखन प्रभावशाली बन्दै गएको मानिएको छ, तपाईंलाई के लाग्छ?

हाम्रोमा सुरु भएको छ, यो साँचो हो । तर, यो प्रभावशाली छ भन्नेचाहिँ साँचो होइन । हाम्रो अंग्रेजीलेखन त्रुटिपूर्ण छ । यसले नेपालको सही व्याख्या गर्न सकेको छैन । नाइजेरियाका चिनुवा अचेवेले १९५८/५९ त्यो देशको पहिलो अंग्रेजी उपन्यास लेखेका थिए- 'थिङ्स फर अपार्ट' । यो केबल नाइजेरियाको मात्र होइन, पूरै अफ्रिकाको उपन्यास बन्यो, यो पूरै अफ्रिकी 'ट्रयाजिडी' थियो । तर, नेपाली अंग्रेजीलेखनमा नेपाली जीवनको प्रामाणिकता छैन । 

२३)संघीय र समावेशी नेपालमा अब साहित्यको स्वरूप कस्तो हुन्छ ?

साहित्यको कुनै संघीय स्वरूप हुँदैन । यसको स्वरूप जहिले पनि तरल हुन्छ । यसबीचमा पनि साहित्यमा विविधताको खोजी भइरहेको थियो, भाषाभाषीको साहित्यको कुरा हिजो पनि थियो । अब त्यो थप व्यवस्थितहोला ।

नयाँ पत्रिकाबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।