17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झण्डा

कविता भूषण हुमागाईं April 11, 2019, 10:26 am

हल्लोस् फरफर विश्व-शिखरको टाकुरा टाकुरामा

हाँसोस् मुसुमुसु विश्व-प्रगति यी पाखुरा पाखुरामा

फक्रोस् चिरदिन फूल सुवनको आँकुरा आँकुरामा

हल्लोस् फरफर विश्व-शिखरको टाकुरा टाकुरामा।।

ल्याओस् अविरल जाँगर जनमा जोशको सार नौलो

गाढोस् अविचल लाखन मनमा देशको निम्ति मौलो

फालोस् तमस सबै जनमनको जीतको शङ्ख बोलोस्

छाओस् अमर बनी जगभर नै प्रीतको रङ्ग घोलोस्।।

फोओस् अडचन व्यापक पथका शैलको मार्ग रेखोस्

पारोस् मगमग वास दशदिशा शान्तिको गीत लेखोस्

बाँचोस् युगयुग यो सगर छुँदै देश यो काख राखी

जाओस्, अमर हुने पथ, यसकै काखमा श्वास बाँकी।।

काठमाण्डौं

***

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।