19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फिरङ्गीको देश

कविता खेम गुरागाईं April 11, 2019, 2:28 am

आमा,

तिम्रा सपनाका

बग्रेल्ति छरिएका टुक्रा टुक्रा भेला पारेर

मैले एउटा सपनाको मुल्को

बनाईदिएको छु,

तर त्यो मुल्को तिम्रा रछ्छान घरानमा बग्दैन,

तिम्रो खेत खलियान बाँझै राखेर

बग्दो छ निरन्तर सात समुन्द्र पारि,

त्यहि मुल्को हेर्न,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

तिम्रा लालाबालाहरुले उहिल्यै

पंख फिंजाई सात समुन्द्र तरेपनि,

तिमि त्यहि बलेनिको पानि

खड्कुंडोमा भरिंदा

खुसिले गदगद हुदै

खोले ओडाल्न अझै छाडेकी छैनौ,

तिम्रा भगवान रुपी चन्द्रमामा पैताला राख्ने

शण्ड, मुण्ड र अशण्डहरुको

चकचकि हेर्न,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

तिम्रा अनारका दाना जस्तै

टम्म मिलेका,

मोती जस्तै चम्किने

दाँतहरु सबै झरेपनि,

तिमि अझै कति हाँस्न सक्छ्यौ

कलिला बालकहरु झैं पेट मिचि मिचि,

तिम्रा दाँतहरू फेरि,

त्यस्तै गरि मिलाएर टम्म भर्न,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

तिम्रो अघिल्लो जन्मको पाप

तिम्रो शरिरबाट चुहिने दिन,

दशैंको टिकाकै दिनमा परेपनि,

आफ्नै घरभित्र आफैं

"अछुत" हुनु परेपनि,

एक दिनलाई मात्र भए नि

ताँबे सिक्कामा

त्यसलाइनै पोष्टपोन गरिदिन्थ्यौ र हामीलाई

भरपुर टिका लगाई आशिष दिन्थ्यौ,

तेत्रो भगवानको चक्रलाईनै घुमाइ घुमाइकन

हुर्काएका तिम्रा सन्तानहरुका

रंगी बिरंगी संसार हेर्न,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

ताप्केमा फतफती ओडालेको

मकैको च्याँख्लाका डल्ला,

सिल्बरे थालमा पल्टाइ

एक डबको मोइ ख्वाल्ल पारिदिंदा पनि,

चुपचाप चुपचाप

ग्वाम ग्वाम खान्थ्यौ,

पिल पिलाउन नि सक्दिनथ्यौ,

तिम्रा कैयौं तिर्खाहरु

तिनै आँशुहरुले नै मार्यौ होला,

धरधरि मुटु कलेजो पग्लिएर

ऑंखाबाट भलभलि बग्न खोज्दा,

भित्रै सुकाएर राख्यौ होला,

तिनै तिम्रा सुकि सकेका आँखाहरु र मनहरु

फेरि सिंचाएर हराभरा बनाउन,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

गोडामा कैंडा लागेर कट्कटि हुँदा पनि,

हात चिराचिरा परेर पट्पटि हुँदा पनि,

बाउका पैतालामा हरेक रात

नौनि घसेकै हुन्छ्यौ,

कोपरो अघिल्तिर सारिदिएकै हुन्छ्यौ,

तिम्रा "परमेश्वरले"

तिम्रा करङहरुमा जतिसुकै लात बर्साए पनि

तिम्रा मन मष्तिस्कहरुमा जतिसुकै घात बर्साए पनि

तिमी आफ्नो "परलोक" सपार्न

आफ्नो "धर्म" नछोडिकन

हरेक बिहान उनका पाउ

अचाएकै हुन्छ्यौ,

आफ्नो शिर उनका पाउमा थचाएकै हुन्छ्यौ,

भन आफैं तिमि के हौ के होइनौ ।

तिम्रा अधम छोरी बुहारीहरुका

उधुम हेर्न,

कि जान्छ्यौ त फिरङ्गीको देश ?

ईलाम, हाल: टोरन्टो, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।