18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लिलामी

कविता जिग्मी डी. भोटिया April 11, 2019, 10:36 am

आउ, आउ

हाटबजारको गल्लीमा

अहिलेसम्म नबिकेको

कसैले नसोचेको

कसैको हात नपरेको

मेरो इज्जत बिक्रीमा छ।

तपाईंको क्रिया खाएर भन्छु

अनि निम्त्याउँछु

साँच्चै मेरो इज्जत बिक्रीमा छ।

अहिलेसम्म सक्दो सम्हालेको

अक्षुण्णै राखिएको

तिम्रो अहम जस्तो

लाली नदलिएको

राता राता गाला जस्ता

एक गाँस खाएर

दिनभरि खेत जोतेपछिको

तिम्रा ललाटबाट निस्कने

खून हो कि पसिना जस्ता

पवित्र राखिएको

मेरो इज्जत साँच्चै बिक्रीमा छ।

लिलाममा आत्मसम्मान बेचिएको

द्रव्य प्रयोग गरेर

सहजै किन्न सक्नेछौ

मेरो इज्जत खरिद गर्नेको

नैतिकता मरिसकेको हुनुपर्नेछ,

'हो'-लाई एक्लै होइन भन्ने

अनि 'होइन'-लाई एक्लै हो भन्ने

सकारात्मक सोच नभएका

कसैले पनि इज्जत खरिदमा

भाग लिन सक्नेछन् ।

खरिद गरिसकेपछि

सर्वाधिकार तिम्रो रहेपछि

जहाँ भन्यो/ जहिले भन्यो

सुनसानमा वा कोलाहलमा

जस्तो चाहन्छौ त्यस्तै तरिकाले

मेरो इज्जतको निर्मम बलात्कार गर

चुइ...सम्म भन्दिन म

निल्दा नि हुन्छ/ बान्ता गरे नि हुन्छ

बचाए नि हुन्छ/ मारे नि हुन्छ

चुरोटको सर्कोसित ताने नि हुन्छ

मदिरासित पिए नि हुन्छ

किनिसकेपछि

तिमीले जे गरे नि हुन्छ।

आउ, आउ झट्टै आउ

मेरो इज्जत बिक्रीमा छ

चाहिएको एक विशेषता त हो

सम्भावित खरिदेको इज्जत

एक सुकोको हुनु भएन।

गान्तोक, पूर्व सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।