19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भो इतिहासको कुरा नगर

कविता जी.बी. आचार्य April 11, 2019, 10:38 am

निष्पट्ट अन्धकार जस्तो

बाक्लो गाता भएको

एउटा अजंग पुस्तकका अगाडि

उसलाई उभिएको देखेर म

म निर्भय भन्छु

भो शासक, इतिहासका पानाहरु नउल्टाउ

यही किताबको कुनै पानामा

तिम्रो अगाडि उभिएको थियो जंगबहादुर

उसको विजय गाथा

अर्थात ५६ थान विच्छेद भएका शिरहरु

त्यही पानामा पोतिएको थियो

कोेतपर्व र भण्डारखाल पर्व

यही किताबको कुनै अनुच्छेदमा

उभिएको थियो अर्को सूर्य बहादुर

अनि पोतिएको थियो

त्यो पाना भरि सुखानीको आलो रगत

यही किताबको कुनै भागमा

हेर त लेखिएको रत्न कुमार वान्तवा

सुखानीको रक्तिम माटो,

कुनै समयमा तिमी हिंडेको बाटो

आज, तिमी इतिहासको अगाडि उभिँदा

देश टुक्राउन चाहने विखण्डनकारीहरु

तिम्रा मित्र बनेका छन्

हिजोका तिम्रा सहयात्रीहरु दुश्मन बनेका छन् ।

भो अब इतिहासको कुरा नगर ।

आज तिमी आफै

कालो इतिहासको एउटा कुरुप पात्र मात्रबनेका छौ ।

चुनाव जितेको उन्मादमा तिमी देश हार्दैछौ ।

सत्ता स्वादको स्मरणमा

नीति, कार्यक्रम र दस्तावेज विर्संदैछौ ।

भो तिमी इतिहासको कुरै नगर

बरु एउटा विस्मृत इतिहास बन्न तयार होउ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।