15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हामी र बालबालिकाहरु

कविता चैतन्य अधिकारी  May 21, 2019, 10:27 am

हिड्दा हिडदै पनि तिनीहरू अनायासै मुस्कुराउँछन्

ताराहरुसंग आँखा जुधाउँछन्

चराहरुसंग मन कुदाउँछन् र

कमिलाका तांतीलाइ पछयाउदै जान्छन दुलोसम्मै

आहा कति स्वतंत्र छ तिनीहरुको संसार

भयबाट मुक्त, उत्सुकताले भरिपूर्ण

तिनीहरुको भित्र उज्यालो बाँचेको छ र न

तिनीहरुको संसार रमाइलो छ

हामी मान्छेहरुले निराशाहरुलाई कहिल्यै बिर्सन सकेनौं

हामी मान्छेहरुले इर्ष्या र संकीर्णताहरुलाई कहिल्यै गलहत्याउन सकेनौं

र आफुलाई सधैं भरि खुम्च्याएर बाँचीरह्यौं

हेर, तिनीहरु फूलहरुलाई सुम्सुम्याउँछन्

कुकुर बिरालाहरुसंग रमाउँछन्

र पानीका धारहरुसंगै आफुलाई बहाउँछन्

आहा कत्ति फराकिलो छ तिनीहरुको छाती

तिनका रगतमा आत्मीयताको निश्छल गंगा उर्लिएको छ र न

तिनीहरुको संसार प्यारो छ

हामी मान्छेहरुले आँखा हरुलाई कहिल्यै उठाउन सकेनौं

हामी मान्छेहरुले विवशताहरुलाई कहिल्यै तोड्न सकेनौं

आफुलाई सधैभरि सीमाहरुमा बाँधी रह्यौं

तिनीहरु आफुलाई पुरै फैलाएर मुक्त हाँसो हाँस्न सक्छन

तिनीहरु आफुलाई पुरै पोखेर मच्चिई गाउन सक्छन

तिनीहरु असुरक्षित किल्लाहरुमा पनि सुरक्षित बाँच्न सक्छन

सपनाहरुले पूर्ण

बिपनाहरुले ब्यस्त

तिनीहरु हाम्रा कथनमा विश्वास गर्छन

आज्ञालाई सहजै शिरोपर गर्छन र

स्वयम आफ्ना सीमाहरुको निर्धारण गर्छन

त्योसंगै अक्सर

पुतली र ड्रागनफ्लाईसंग जिस्किन पनि छाडदैनन

प्वाल र झ्यांगबाट

मुसा लोखर्के चियाउन पनि बिर्संदैनन

चंगा जस्तै हलुका छ र न तिनीहरुको स्पन्दन

तिनीहरुको संसार रहस्यमय छ

माटोका घरहरु, प्वाँखका छानाहरू

ढुंगाका चुलाचौका, बालुवाका खानाहरु

डाँठले पस्की भर्ने पातका टपरीहरु !

हामी मान्छेहरुले कहिल्यै त्यसरी संयोजन बनाउन सकेनौं

हामी मान्छेहरुले कहिल्यै त्यसरी प्रकृतिमा रमाउन सकेनौं

एक अर्काबाट त्रस्त

एक अर्काबाट ग्रस्त

हामी मान्छेहरुले कहिल्यै त्यसरी समझदारी बनाउन सकेनौं

सक्नेले समझदारीलाई कुल्चीरह्यौं

नसक्नेले समझदारीलाई पुजीरह्यौं

हामी मान्छेहरु कहिल्यै त्यसरी एकसमान बन्न सकेनौं

हामी मान्छेहरुले कहिल्यै त्यसकारण सुरक्षाको महसुस गरेनौं |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।