17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भुस्याहा कुकुरको आत्मबृतान्त

हास्यव्यङ्ग्य विश्व विनोद May 21, 2019, 10:46 am
विश्व विनोद
विश्व विनोद

हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् ।अझ ढुंगाले हानेर घाईते बनाएको पनि थिए । इमान्दार हुनुको कारण बिभिन्न महलहुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुनसक्छ । गन्ध र सुगन्ध, इमानदारिता र स्वाभिमानको बीचमा रमल्लिएर म यो सडकको चिसो ठन्डीमा कठ्यांङिग्ररहेको छु भने बर्षातको बेला रुझेर निथ्रुक्क हुन्छु । कुरो बुझेर निथ्रुक्क हुनु र पानीमा भिजेर निथ्रुक्क हुनुका दुई फरक परिबेश रहने रहेछन् ।

म कता जन्मिए थाहा त भएन तर सानोको याद हुँदा म यो टोलको त्यो ठूलो महलमा हुर्केको याद भने छ । अनि हामीलाई इमान्दार हुनुपर्छ , बफादार हुनु पर्छ भनेर मेरी आमाले निकै सुनाउँथिन् । यो टोलका धनाढ्य साहुको घरमा मेरो बाल्यकाल बित्दै थियो । एक दिन साहुको घरमा एक जना किशोरीले साँझको बेला साहुनी नभएको बेला सुटुक्क आईन् । मैले चोर भन्ठानेर ति युवतीलाई कराउँदै झम्टिएँ । उत्ति नै बेला ठूलो हो हल्लाले घरका सबै सदस्य मुलढोकामै आईपुगे, त्यतिन्जेल सम्म ति युवती डरले होला बेहोस भै सकेकी थिईन् । पछि थाहा लाग्यो, उ त घरको मालिककी गर्लफ्रेण्ड पो रहिछिन् । उन्का छोरा छोरीले रंगेहात पक्रन नसकेको कुरा मैले समात्दा मैले घरमा वाह वाह कमाए तर एक दिन छोरा छोरी नभएको बेला ति मालिकले मलाई आफ्नो गर्लफ्रेण्डलाई सुटुक्क आउन नदिएको झोकमा यसरी भकुरे कि मलाई सात दिन सम्म उठ्न गाह्रो भयो । त्यसपछि मैले त्यो घर छाडे ।

इमान्दारिता र बफादारिताको दोसाँधमा उभिएर म भौतारिई रहँदा मैले एक जना नेता ज्यूको घरमा बस्न पुगेछु , मलाई यो थाहा हुने कुरा त थिएन तर उन्लाई घरमा आउने पाहुनाले नेताज्यु नमस्कार भनेको शब्द सुन्दा उनी नेताज्यु रहेछन् भन्ने थाहा लाग्यो । उन्को घरमा निकै मानिसको आउजाउ हुन्थ्यो । एक दिन साँझको बेला थियो, केही मानिसहरु अस्वभाविक ढंगबाट घरको मुलगेटबाट भित्र पस्न लाग्दै थिए । हातमा सुटकेश पनि बोकेका थिए, बन्दुक पनि थियो । मलाई लाग्यो नेताज्युको घरमा चोर आए, अनि बेस्सरी कराउन थालेँ । मेरो भुकाईले नजिकै रहेको प्रहरीको चेकपोष्ट बाट एक हुल प्रहरी नेताज्युको घरमा छिरे, मैले ति सुटकेशवालालाई दाँतले पक्रेर च्याप्प पारेको थिएँ । माथिल्लो तलबाट नेताज्यु झर्नु र बाहिरबाट प्रहरी आउनु एकै चोटी भयो । प्रहरीले मलाई धाप मारेर स्याबासी दियो । खै के भो नेताज्यु र ति सुटकेशवालालाई प्रहरीले समातेर लग्यो , पछि मालिक्नीले मलाई निकै भकुरिन रिसको झोकमा । वास्तवमा नेताज्युलाई ठेक्का पट्टा मिलाई दिएबापत ठेकेदारका अंगरक्षकले केही रकम दिन आएका रहेछन् ति सुटकेशवाला अनि प्रहरीको सुचिमा लामो समय देखि फरार अभियुक्तलाई मैले समातेको रहेछु । मालिक्नीको कुटाई खाएपछि मैले त्यो घर पनि छाडे ।

यसपछि म एक जना महिलाको घरमा शरण लिन पुगे । तिन्का श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा बिदेश गएका रहेछन् । उन्को साथमा सानो धुतमुने छोरा थियो सायद आठ नौ महिनाको । केही समय बसेपछि एक दिन दिउँसोको कुरा थियो, घरको नजिकै इनारको नजिक उन्को छोरा खेल्दै थियो, म सिँयालमा बसेर हेरिरहेको थिएँ, मालिक्नी घर भित्र एक जना युवक सँग गफिदै थिइन क्यार । अचानक उन्को छोरा इनार नजिकै रहेको पानिको सानो खाडलमा खस्न पुग्यो, म जोड जोडले कराएँ , गाउलेहरु हतार हतार आए मेरो अस्वभाविक चिच्याहट सुनेर । तर अहँ मालिक्निले भित्र गीत बजाएको हुँदा मैले कराएको सुनिनछिन् क्यार, गाउँलेहरुले पानीमा डुबेको बालकलाई बाहिर निकाले , बालक जिउँदो नै थियो । उनिहरुले मालिक्नीले गित सुनेको कोठा ढक्ढक्याए, अनि हतारमा ढोका खोलिँदा भित्र भएको युवक र मालिक्नी नाङ्गै थिए । गाउँलेहरुले मिटिङ बसेर ति युवक युवतीलाई निकै हपारे । गाउँले गएपछि मालिक्नीले मलाई भुकेको अभियोगमा निकै कुटिन् । मलाई त्यो घर बस्न मन लागेन अनि त्यो घर पनि छाडे ।

भुस्याहा कुकुर भनेर मलाई निकै नै सम्बोधन गरिन्थ्यो तर घर छाड्नु र नयाँ ठाउँमा छिटै घुलमिल हुन सक्नु मेरो खुबि थियो । म निकै छिटो समयमा अर्को ठाउँमा अड्डा जमाउँथे तर मेरो कर्म नै यस्तो हो कि कुन्नि, एक पछि अर्को घर छाड्दै हिड्नु पर्ने भएको थियो । अब त त्यो ठाउँ छाडेर निकै पर गएर बस्ने बिचार आए पछि म निकै नै पर तीन चार दिन दौडेर यौटा गुम्बामा बास बस्न पुगे । मलाई लाग्थ्यो , यहाँ त शान्त अनि धार्मिक स्वभावका मानिसहरु छन् अनि मैले यो ठाउँबाट बाहिर निकाला हुनु पर्दैन । समय बित्दै गयो , करिब दुई तिन महिना त्यो गुम्बामा गुजारे पछि फेरी मेरो मेरो ठाउँ निकालाको श्रृङ्खला शुरु भयो । कुरा के भयो भने नि, मैले गुम्बाबाट निकै पर एक ठाउँमा रगतको गन्ध पत्तो पाएँ, गुम्बामा मासु नखाएको भएर होला, त्यता तिरको रगतको गन्धले मलाई परैबाट आकर्षित गर्यो । म दौडेर गएर माटो खोतल्दै थिए, भित्र मानिसको लाश पो देखे, अनि ईमान्दारिता देखाउनु पर्छ भनेर लाशको हातको टुक्रा च्यापेर म गुम्बा सम्म आएँ, त्यहाँ सबै मानिसको अगाडी मैले ल्याएको लाशको हातको टुक्राले सन्नाटा छायो अनि एक छिन पछि कोलाहल मच्चायो । आखिरमा त्यहाँ गुम्बामा बसेको आनिको लाश रहेछ त्यही गुम्बाको धर्म गुरुले बलत्कार गरेर त्यहाँ गाडेका रहेछन् । मलाई गाउँलेले लाश ल्याएकोमा लखेटे । म गाउँको झाडीमा लुकेर ज्यान जोगाएँ ।

यसपछि मैले सोचे, अब कुनै बिधवाको घरमा अड्डा जमाउनु पर्छ जहाँ मलाई माया पनि पाउँछु, नराम्रा क्रियाकलाप पनि हुन्न । मैले सोचेजस्तै एक जना एकल महिलाको घर भेट्टाएँ । त्यहाँ बसेको पाँच छ महिना पछि एक दिन गाउँमा बाँदरहरु आएकोले मैले बाँदर धपाउने कर्तब्य सम्झे, गाउँबाट पर बाँदर धपाएर घर फर्कदा घर भित्र ति बिधवा ऐया, ऐया भन्दै थिईन्, मलाई लाग्यो, उन्लाई कसैले केही गर्दैछ , म जोड जोडले कराउन थाले । मेरो अस्वभाविक भुकाई सुनेर गाउँलेहरु घरको आगनमा जम्मा भए अनि घरको ढोका फोडेर भित्र जाँदा त दुबै जना रतिक्रियामा मस्त रहेछन् । मलाई यो बेला कसैले हिर्काउन सक्छ भनेर त्यो घर छाडेर भागिहाले ।

अब यसपछि मैले सोचे, मानिस कतै पनि अछुतो छैन, केही न केही कर्तुत गरिनै रहन्छ, तर कतै त बस्नु नै पर्यो, अनि दाम्रिएको पेटमा दुई गास आउने आश त गर्नै पर्यो । मेरो बसाँई एक जना पत्रकारकोमा हुने भयो संयोगले । उनी स्वाभिमान, ईमान्दारिताको कुरा निकै उचाल्थे । हरेकलाई यहि नै भन्थे । त्यहाँ बसेको केही समय पछि एक दिन मैले चिनेको मानिसको गन्ध आयो, मैले ढोकाबाट बाहिर नियालेर हेर्दा थाहा भयो, मैले पहिले घुस खान नदिएको अनि मेरो भुकाईबाट जेल चलान भएका नेताज्यु पो ति पत्रकारको घरमा आउँदै रहेछन् । सायद नेताज्यूले मलाई चिनेनछन् तर म ति नेताज्यूलाई भुकेर घर भित्र आउनै दिईन । पछि ति पत्रकारले मलाई बेसरी कुटे नेताज्यूलाई आउन नदिएकोमा । आखिर रातीमा पत्रकारका श्रीमान श्रीमतिको कुरा सुन्दा थाहा लाग्यो, त्यो नेता जेलबाट छुटेको पनि धेरै भएको रहेछ अनि पत्रकारलाई गलत समाचार नछाप्न भनेर केही रकम दिन आउने क्रममा मैले भुकेर लखेटिदिएको रहेछु । मलाई मेरो जीवन असुरक्षित लागेर त्यो घर पनि छाडे ।

अभागि खप्पर जता गए पनि ठक्कर भने झैं भएको थियो मलाई । म अब जताततै बिभिन्न अपराध र कुरिति देखेर सडकमा आएँ, यसो यो मानिस ठिक हो कि जस्तो लाग्यो, उ केही न केही रुपमा बेठीक देखिन्छ । यसरी कोही पनि यस्तो सग्लो मानिस मैले पाएको छैन जस्को घरमा म निर्धक्कले बस्न सकुँ । तर अहँ त्यही आशमा मेरो जिन्दगी बित्न लागि सक्यो । कतै पनि त्यस्ता, गुणी मानिसको घर भेट्टाएको छैन । जब सम्म त्यस्ता मानिस भेटिदैनन्, म भुस्याहा नै बन्ने भएँ । आखिर गुणि र असल मानिस कसरी चिन्ने होला है ? तारेमाम् जदौ ।

बेशीशहर नगरपालिका ३, लमजुङ, हाल काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।