15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अत्यासको गीत

कविता चैतन्य अधिकारी  June 4, 2019, 10:38 am

आमाको मन् भतभति कती पोल्छ, छड्किन्छ सास

हुन्नन् छोरी जब वरिपरी, गुम्छ होश हवाश !

तड्पी तड्पी सकल दिन गो, रात आयो अँध्यारो

को सुत्ला खै गुँडमा नफिरी बाल सन्तान प्यारो ?

'साथी' भन्दै कलम र कपी बोकि दौडेकि छोरी

कस्ले मार्यो क्रुर पशुसरी नग्न पारी चिथोरी ?

कस्ले फाल्यो शब दलदले ऊखुको झ्यांगभित्र ?

छैनन् उत्तर्, गुपचुप सबै, राज्य नै यो बिचित्र !

‘आमा’ भन्दै कति समय ऊ छटपटाईन्, नसम्झुं

‘ऐया’ भन्दै कति पटक ऊ बर्बराइन्, नसम्झुं

मूर्च्छा खाँदा कसरि पशुले तोड्छ कौमार्य कण्ठ

ए,सत्ताका भ्रमरहरु हो, सम्झ यो प्राण-अन्त !

जाबो यौटा पतित पशुको मोह छोड्नै नसक्ने

नाथे यौटा कपुत किटको जाल तोड्नै नसक्ने

कस्तो राज्ये सकल जनको भाव कैल्यै नपढ्ने

कस्तो न्याये गरिब निमुखा पात्रले शूलि चढ्ने

यस्तो सत्ता जुन जननिको आँसु बुझ्दैन रत्ति

यस्तो भित्ता जहाँ हृदयको मर्म घुस्दैन कत्ति

के सिक्नु खै नबिन - युगले राज्यको कर्मबाट ?

हत्याराको कवच कसिलो, अन्ध, उन्मत्त, ढाँट ?

यस्तै दैत्य लिइ अघि पछी नौथरी जाल उन्ने ?

‘सम्बृद्धि’का, ‘सुखि मुलुक’का शब्द सन्सार बुन्ने !

मिल्दा छैनन् कथनि करनी, दिउँसै हेर राति !

न्याये माग्दै कति जुग लडौं, गोलि थापेर छाती ?

यस्तै तिम्रो रितिथिति रहे, को न पोख्ला जवानी ?

यस्तै न्याये बुझि, सुनि यहाँ, को न राख्ला लगानी ?

नौला राजा ! अतिव सुनियो क्रान्तिका रिक्त बाणी !

कस्ले भुल्ला नमिता – सुनिता, निर्मलाको कहानी ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।