कवि हरिभक्त कटुवाल

व्यक्तित्व / कृतित्व बैद्यनाथ उपाध्याय July 12, 2019, 3:03 am

बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय
हरिभक्त कटुवाल नेपाली काव्याकाश का एक उज्ज्वल नक्षत्र हुन। कटुवाल एकसाथ कवि, नाटककार एवं कथाकार का रूपमा नेपाली साहित्य जगतमा बिराजमान छन। पीडा का अभिव्यक्तिले भरिएका उन्का गीतहरूमा जातीयताबोध, देशप्रेम र सामाजिक जनचेतना पनि स्पष्ट रूपमा झल्किन्छ। हरिभक्त कटुवालले आफ्ना गीतहरूमा सबैको बोधगम्य, श्रुतिमधुर र मन भित्र सम्म छुने मार्मिक अभिव्यक्ति दिएका छन। उनको कविता- यो जिन्दगी खै के जिन्दगी, आकाशका तारा के तारा जस्ता सुन्दर कविताहरू रचना गरेर कटुवाल प्रसिद्धिको शिखरमा पुगेका छन। यो जिन्दगी खै के जिन्दगी कवितामा उनलाई स्वर्ण पदक पनि प्राप्त भएको थियो। कटुवालका कविताहरू गीतमय छन र उनका कविताहरूमा जीवनबोध सीधा र तीखो व्यंग्यात्मक भावले भरिएको हुन्छ। उदाहरणका रूपमा-

यो जिन्दगी, खै के जिन्दगी

भित्र भित्रै खोक्रिएर बाहिर बाहिर बाँचेको

एटमको त्रासले चुसेको

समस्याको भूतले सताएको

यो जिन्दगी, खै के जिन्दगी

बन्दूकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ

आँखा चिम्लन पनि जग्जगी

आँखा उघार्न पनि जग्जगी

यो जिन्दगी, खै के जिन्दगी

कटुवालका कविताहरूमा विम्ब र प्रतीकको प्रयोग कम छ तर कविताहरू अति मर्मस्पर्शी छन र व्यंग्यात्मक छन। कवि आशावादी र जीवनवादी पनि छन। उनका गीतहरूले पनि धेरै ख्याति प्राप्त गरेका छन। उनका प्रकाशित कृतिहरू हुन- संझना (गीत संग्रह), भित्री मान्छे बोल्न खोज्छ (कविता संग्रह), सुधा (खण्डकाव्य), यो जिन्दगी खै के जिन्दगी (कविता संग्रह), स्पष्टीकरण (कथा संग्रह) र बदनाम मेरा यी आँखाहरू (गीत र कविता संग्रह)। उन्ले मुक्ति (1958), हिमालय (1963), हिमानी (1970), संगीत सरिता (1971), बान्की (1971), अभिव्यक्ति आदि पत्रिकाहरूको पनि सम्पादन गरेका छन। श्रेष्ठ कविका रूपमा नेपाल सरकारको रोयल अकादेमी पदक (1963) र कविताको लागि स्वर्ण पदक (1967) पनि पाउन सक्षम भए।

असमको डिब्रूगढ जिल्लाको बोगिबिल गाँउमा 2 जुलाई 1935 सनमा उनको जन्म भएको थियो। उनका पिता थिए बीर बाहादुर कटुवाल र आमा थिईन विष्णुमाया कटुवाल। उनको प्राथमिक शिक्षा आफ्नै गाउँको विद्यालय बोगिबिलमा एवं हाईस्कुलको शिक्षा डिब्रुगढ हाईस्कुल समर विद्यापीठमा भएको थियो। पहिले डिब्रुगढको कानोई कलेजमा र पछि डिग्बोई कलेजमा स्नातक सम्म अध्ययन गरे तर स्नातक भने हुन सकेनन।

पेशागत रूपमा सर्वप्रथम कटुवालले सन 1956 बाट पब्लिक हेल्थ इंस्पेक्टरका रूपमा काम गरे र 1959 बाट 1965 सम्म असमको डिग्बोई इ.ओ.सी. स्कुलमा शिक्षकका रुपमा कार्य गरेर 1968 सनमा टिरापमा गएर लङटङ हाईस्कुलको स्थापना गरे। हेडमास्टरका रूपमा नरसिंह थापालाई राखेर आँफैं पनि त्यसै विद्यालयमा नियुक्त भएर विशाल परिवेशको खोजीमा लागे। साहित्य नै जीवनको उद्देश्य भएकाले साहित्यिक परिवेशको खोजमा नेपाल गए र उन्ले धेरै ख्याति पनि प्राप्त गरे।

नेपाली स्वच्छन्दतावादी काव्यधारा का पृष्ठपोषक कवि हरिभक्त कटुवालको पहिलो कृति गीत संग्रह सम्झना सन 1960 मा प्रकाशित भएको थियो। यसको तीन साल पछि नवयुग नेपाली पुस्तक मंदिर गोरूबथान बाट उनको पहिलो कविता संग्रह भित्री मान्छे बोल्न खोज्छ प्रकाशित भएको थियो। हरिभक्त कटुवालका कवितामा प्रवृत्तिगत नैराश्य, कुण्ठा, प्रेम, विश्वासघात, आस्था-अनास्था र सुख-दुखका अनुभूतिहरू कहीं परोक्ष त कहीं प्रत्यक्ष रूपमा प्रकट छ। क्रन्दन कविताका केही पंक्तिमा कविले यस्तो अभिव्यक्ति पोखेका छन-

सिद्ध नहुन्जेल निजको स्वार्थ मेरो साथ दिंदाँ रहेछन।

भित्री मनमा कपट लुकाई व्यर्थ लौ लौ भन्दा रहेछन।।

काव्य रचनाको विकासक्रममा कटुवालको सुधा खण्डकाव्यको एक विशेष स्थान छ। असमबाट प्रकाशित यही नै नेपाली भाषाको पहिलो खण्डकाव्य हो। प्रकृतिपुत्री सुधाको सामाजिक, आर्थिक र पारिवारिक पृष्ठभूमिको चयनमा कवि धेरै संवेदनशील भएर लेख्छन-

अँ, उही सुधा हो। जस्लाई प्रणयले हाँस्न दिएन, जस्लाई जगले बाँच्न दिएन। मृगतृष्णा पिई तिर्खा मेटने सपना देख्दी, यो उही सुधा हो।

सुधा खण्डकाव्यको मार्फत कवि नेपाली नारीहरूको सामाजिक शोषण र दमनका विरूद्ध हार न मानेर त्यस्को विरोधमा सबल भएर प्रतिरोध गर्ने सन्देश दिन्छन। सुधा खण्डकाव्यको अन्तमा यसरी भन्दछे-

म बाँच्दछु, म भाँच्दछु, विषालु दाँत सर्पका, नरेन्द्र झैं पुरूषका जो हिंडछन छली, अबोध सरल निष्कपट नारीलाई। म बाँच्दछु, म बाँच्दछु, म बाँच्दछु।

यो जिन्दगी खै के जिन्दगी प्रकाशनको हिसाबले यो उनको जीवनको अन्तिम कविता संग्रह हो। प्रवृत्तिको दृष्टिले पनि उनको कविता यात्राको चरम उत्कर्ष पनि यही नै हो। साथीलाई शीर्षक कवितामा उनि भन्छन-

फुल्नु त बेसै हो फुल्नु पर्छ। काँडामा गुलाब भै फुल्नु पर्छ। हिलोमा कमल भै फुल्नु पर्छ। कसैले भरेको हावामा बेलुन झैं नफुलेर, भीरमा पनि गुँरास भएर फुल्नु पर्छ।

यसै गरी जीवन शीर्षक कवितामा उनि भन्छन-

कतै जुवाडेले कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तो

कतै भर्खर बसन्तले छाडेर गएको उदास रूख जस्तो

यस्तो लागिरहेछ आफैंलाई यो जीवन

अन्तिम पातो पनि च्याते पछिको एउटा ठूटो चेक बूक जस्तो।

यसरी हरिभक्त कटुवालले सरल व्यंग्यात्मकता र विम्बात्मक काव्यहरू द्वारा नेपाली साहित्य जगतलाई समृद्ध बनाउनमा ठूलो योगदान पुऱ्याएका छन। कटुवाल बाङमयका बहुआयामिक व्यक्तित्व का धनी थिए। त्यस समयमा उन्ले साहित्यका अतिरिक्त मूर्त र अमूर्त चित्रकलाहरूमा पनि ख्याति अर्जन गरेका थिए। उन्ले डिग्बोईमा नेपाली भाषामा एउटा नाटक र एकांकी नाटक मञ्चन गर्ने एक परम्परा बनाएका थिए। उन्ले असमकै सनकसिंह ठकुरी र माया ठकुरी की छोरी जयकुमारी संग विवाह गरेका थिए। उनका तीन छोरी र एक छोरा थिए।

कटुवालले केही सामाजिक कथाहरू, नाटक, बाल साहित्य आदिमा पनि महत्वपूर्ण काम गरे। यस्ता एक विशिष्ट प्रतिभाका धनी हरिभक्त कटुवालको दस सेप्टेम्बर 1980 सनमा डिब्रुगढ मेडिकल कलेजमा देहावसान भयो। उन्को जातीयताबोधको तीव्रता यसरि गीतको माध्यमबाट प्रस्फुटित भएको छ-

संसार नै जागि सक्यो नेपाली जागेन

नेपालीले संसारको ख्यालनै राखेन।

दुनियाले नेपालीलाई केही झैं ठानेन

तर पनि नेपालीलाई इख लागेन।।

खांखलाबारी, उदालगुडी-784509, बीटीएडी, असम।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।