भानु र सूर्य एउटै हुन्,
चम्किने जगतै भरी ।
नेपाली भाषाको ज्योती,
भानुले छरे बेसरी ।।
धेरैले नबुझ्ने सँस्कृत,
लेखिन्थ्यो शास्त्र शास्त्रमा ।
सँस्कृतको रामायण सार्दै,
नेपाली श्लोक श्लोकमा ।।
गुन्जिए नेपाली श्लोक,
नेपाली ओठ ओठमा ।
गाँऊ बेंसी र बन पाखा,
गाँइदै घर गोठमा ।।
सैयौँ जाति सैयौं भाषी,
नेपाली एक सुत्रमा ।
उनिए एकत्रित बन्दै,
साझा भाषा नेपालीमा ।।
सिर्जना सिर्जन्छन् स्रष्ट्रा,
पुस्ता पुस्ता छ यादमा ।
स्वदेशको सीमा नाघेर,
भानु पुगे प्रवासमा ।।