14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आक्रोश

लघुकथा रवीन्द्र तिमसेना August 18, 2019, 11:40 am

राष्ट्र र जनताको सेवा गर्ने भनी सपथ खाएर उनी जागिरे जीवनमा होमिएका थिए । निकटस्थ नेताको भनसुनमा प्राप्त गरेको त्यो जागिर परिवारको गुजारा चलाउने माध्यम मात्र नभएर उनको मान र शानको पनि परिचायक थियो ।

कार्यालयबाट बाहिरिने बाटैमा आज पनि उनको त्यससँग जम्काभेट भयो । त्यसलाई त्यहाँ देखेर उनको दिमागको पारो तातेर आयो र दाह्रा किट्दै एकतमासले घुरेर हेरे । त्यसलाई एक मुक्का बजाइदिऊँ जस्तो भए पनि उनीजत्तिको मान्छेले त्यसो गर्नु शोभनीय हुँदैनथ्यो । सहकर्मीका अगाडि उनी आफै लज्जित हुनुपर्ने स्थिति आउन सक्ने भएकाले उनी सम्हालिए । आफ्नै जोडबलमा त्यसलाई त्यहाँ ल्याइएको भए पनि त्यसले उनी स्वयंमाथि धावा बोल्न थालेको थियो । अन्य सहकर्मीलाई नाराज तुल्याई तुल्याई त्यसलाई त्यहाँ ल्याउनु गम्भीर भुल भएको उनले निष्कर्ष निकाले ।

दुई दशकअगाडि आपूmले जागिर सुरु गर्दाको समय उनले सम्झिए । आहा ! पहिले पहिले जतिखेर अफिस आए पनि भएको थियो, जतिखेर निस्के पनि भएको थियो । हाकिमलाई खुसी पार्दै कैयौं पटकसम्म एक हप्ताको हाजिर एकै पटक अफिस आएर गरेको सम्झेर उनी मुस्कुराए । उनी आक्रोशित देखिँदादेखि मुस्कुराउँदासम्म त्यो भने भावविहीन भएरै रह्यो । हुन पनि त्यसलाई उनी आउनु–नआउनु र जानु–नजानुसँग के सरोकार !

अन्तिममा उनी आफै लुत्रुक्क परेर त्यसको नजिक गई औंलाले स्पर्श गरे । उसले सधैं जसरी ‘थ्याङ्क यु’ भन्यो । पुरातन ढङ्गले चलेको कार्यालयलाई आधुनिकीकरण गर्ने भन्दै उनकै जोडबलमा ई. एटेन्डेन्स (अनलाइन हाजिरी) लागु गरेकाले अन्य सहकर्मी भने उनीसँग रिसाएका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।