14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कथाकार केदार गुरुङका कथाहरूमा नेपालीपनको मर्म

कृति/समीक्षा शेरबहादुर कार्की August 18, 2019, 11:44 am

नेपाली साहित्यले धेरै नयाँ कुराहरूलाई ग्रहण गर्दै आएको छ। होला, विश्व स्तरको साहित्यिक गतिविधि, उच्चता अनि स्थान नेपाली साहित्यको नहोला तर जति यसले विकास गरेको छ, नेपाली भाषीको निम्ति गौरवको विषय बन्दै गएको छ। नेपाली साहित्यको श्रीवृद्धिको निम्ति भारतीय नेपाली साहित्यको पनि आफ्नै स्थान र महत्व रहेको छ। जसरी नेपाली साहित्यको विकास भएर गएको छ भाषा अनि शिल्पको पनि उत्तिकै विकास भएको छ। तर, यसको प्रयोक्ताहरूको संख्या भने घट्दै गएको देखिन्छ। नेपाली साहित्य जति लेखिन्दै छ, त्यसको अध्ययन-अध्ययपन समाजमा अपेक्षाकृत बन्दै गएको देखिन्छ। तथापि, सर्जकहरूले लेख्न छोडेका भने छैनन्। लेखकहरूले समाज लेख्छन्। लेखकहरूले समय लेख्छन्। समस्या लेख्छन्। संगत-विसंगत, विचार, कला, संसकृति आदि आदि नै लेखकले लेख्छन्। लेख्नुको उद्देश्य भनेको त्यो अनागतको निम्ति समाजको नीधि बनेर रहोस् भन्ने नै हो।

भारतीय नेपाली साहित्यको क्षेत्रमा एउटा नाम हो, केदार गुरुङ। केदार गुरूङ विभिन्न साहित्यिक विधामा कलम चलाउने व्यक्तित्वमा परिचित छन्। कवि, कथाकार, निबन्धकार, नियात्राकार, निरुपक, राजनीतिक विश्लेषक, सम्पादक आदिको रुपमा उनलाई समाजले चिन्दछ। पश्चिम सिक्किमको लिङचोमको सर्दुङ बस्तीमा 9 अप्रेल 1948 मा जन्मिनु भएको केदार गुरुङको लेखनको मुख्य विधा भनेको कविता अनि कथा नै रहेको पाइन्छ। अहिलेसम्म केदार गुरुङले 19 वटा पुस्तकाकरमा आफ्नो विचारहरू समाजलाई दिइसकेका छन्। यसबाहेक केदार गुरुङले भारतबाट स्रष्टा पत्रिका माथिल्लो स्तरमा पुऱ्याएका छन्। यसबाहेक झिल्का, नयाँ धरती, विष्फोटन, शिशिरका फूलहरू आदि पनि प्रमुख रहेका छन्। राष्ट्र तथा अन्तरराष्ट्र स्तरका विभन्न सम्मानले सम्मानित केदार गुरुङ वर्ष 2012 मा भारतको पद्मश्रीले सम्मानित भएका हुन्।

पद्मश्री केदार गुरुङको अर्को कृति हो, हिउँभन्दा सेतो र चीसो भएर बग्ने तत्त्व र सारहरू। यो संग्रह केदार गुरुङकृत तेस्रो कथा कंग्रह हो। यस संग्रहमा जम्मा 17 वटा कथाहरू समावेश गरिएको छ भन् पुस्तक 86 पृष्टको रहेको छ। वर्ष 2015 मा अर्मल प्रकाशनद्वारा प्रकाशित पुस्तकको सर्वाधिकार कथाकारमै रहेको छ। यो संग्रहको आवरण सज्जा लक्ष्मीप्रसाद गुरागाईंले गरेका छन् भने लेजर सेटिङ लक्ष्मीप्रसाद गुरागाईं दार्जीलिङ र मुद्रण पोपुलर प्रेस, विधान रोड सिलगढीमा गरिएको छ। यो पुस्तकको समर्पण नेपालमा आएको विनाशकारी भुइँचालोमा आफ्नो ज्यान गुमाउने व्यक्तिहरूको आत्माको निम्ति गरिएको छ। यस संग्रहका कथाहरूबारे अन्य कसैले नलेखर कथाकार केदार गुरुङ स्वयंमा कथाबारे अलिकति- शीर्षक लेखेका छन्। कथाकार लेख्छन्- पहिले रहरले लेखियो, सिकियो र छापियो। अब अलिकति करले र धेरै दायित्वबोधले पनि सकी, नसकी लेख्ने प्रयास गरिरहेछु। यथार्थमा सबैलाई खुशी पार्न र मनपर्ने मात्र लेख्नु हो भने त्यो लेखक कसैको खेताला हुनसक्छ तथा सस्तो प्रशंसा र पुस्तक बिक्रीको रकमको भरमा जीवन धान्ने मात्र हुन सक्छ।

भारतको सिक्किमेली कथाकारहरूको हाँचमा केदार गुरुङको आफ्नै लेखन वैशिष्ठ्य रहेको पाइन्छ। सिक्किमेली कथाकारहरू सानु लामा, महानन्द पौड्याल, गहर उदासी, नरबहादुर भण्डारी, जीवन थिङ, विजयकुमार सुब्बा, प्रवीण राई जुमेली, युवा बराल अनन्त, धन निर्देष, धन नीरव प्रधान, टेकबहादुर गुरुङ तमु आदिको नाम लिन सकिन्छ। भारतको सिक्किममा आख्यान तथा कथा उपन्यास विधालाई लिएर सिर्जना उति मौलाएको पाइन्दैन। त्यसको तुलनामा कविता विधा निकै अघि रहेको छ। यस दृष्टान्तमा केदार गुरुङका जति कथाहरू सिक्किमको माटोबाट उद्बोध भएका कथा छन्। आफ्नो कथा लेखनको उद्देश्यमाथि कथाकार लेख्छन्- त्यसैले पनि मैले नितान्त उपयोगितावादी र व्यवहारवादी भएरै विरातसतदेखि विरासतसम्म (युग-युगसम्म-?) हामीले कसरी बाँच्न र बँचाउनपर्छ अर्थात बाँच्न सकिन्छ भन्ने पक्षलाई मात्र यी थपथापे कथाहरूमा गरिराखुँ कि ? भन्ने मात्र हो। कथाकारले यसरी आफ्नो लेखन उद्देश्य प्रष्ट पारेका छन्। आधुनिक विचारधारामा साहित्य लेखनमा स्रष्टाको लेखन उद्देश्य रहँदैन। लेखनको उद्देश्य पाठक तथा भावकहरूको ग्रहण क्षमता र बोधी क्षमताले निर्माण गर्दै लान्छ भनिएको छ। तथापि, हाम्रो नेपाली साहित्यमा लेखनको उद्देश्य रहनुपर्छ भन्ने मान्यता रहुआएको छ।

केदार गुरुङकृत हिउँभन्दा सेतो र चीसो भएर बग्ने तत्त्व र सारहरू कथा संग्रहमा संग्रहित कथाहरू मूलतः सामाजिक यथार्थवादमा विचार धारामा रहेका छन्। समाजमा घटेका घटना, संगत-विसंगत विषयवस्तु, द्वान्दात्मक परिवेश, जन-जिब्रोको भाषा-शैली उनका कथामा अन्तरनिहित विशेषताहरू हुन्। उनका कथाहरूमा विशेष गरेर सिक्किमको परिवेशलाई चिन्हित गराउने र सिक्किमको परिश्रमी माटोमा बगेका पसिनाका थोपाहरूको शृङ्खलावद्ध माला मान्न सकिन्छ। पाँच सय भेडी चराउँदा खेरी काँल्दाजै गोठाला शीर्षक कथामा कथाकारले सिक्किममा परापूर्वकालदेखि भेडा पालेर जीविका चलाउँदै आएका एक जातिको मार्मिक पृष्चभूमिलाई स्थान दिएका छन्। यस कथामा सिक्किममा गुरुङ जातिले परापूर्वकालदेखि जीविका चलाउन भेडा पाल्ने र जङ्गल-जङ्गल चाहार्ने परम्परालाई कथाको विषयवस्तु बनाएर गुरुङ जातिको सांस्कृतिक पक्षलाई प्रकाशमा ल्याएका छन्। कथाकारले कथाको विषयवस्तु सांस्कृतिक रहेको छ। यस कथामा नेपाली जातिले आफ्नो जीवन यापन गर्न गर्नु परेको मार्मिक घटनालाई कथाको कथानक बनाइएको छ। कथामा नेपालीपनको मर्मलाई लेखिएको छ।

कथाकार केदार गुरुङले आफ्नो कथामा वाक्य गठन लामो-लामो गरेका छन्। टेठ नेपाली शब्दहरू प्रयोग गरे तापनि वाक्य गठनले गर्दा कतिपय स्थानमा भाषिक शैली तन्किएर गएको छ। लेखकले पाठकलाई एउटा परिवेश अनि संवादहरूबाट समाजमा घटेका घटनाहरूलाई प्रस्तुत गर्ने हुनाले आफ्नो घटना र संवादलाई जतिसक्तो यथार्थ लाग्ने बनाउनु पर्ने हुन्छ। उक्त कथामा त्यो फापरको ढिँडो ओडाल्दा-ओडाल्दै पाक्न-पाक्न लाग्दा एक्कासी ग्वाँ.......फ्वाँ.........स्स.......गरेर भाँडाबाट उफ्रेर सिरुबारीतिर लड्दै जान्छ। यस वाक्यांशमा ढिँडो उफ्रेर लडेको कुरा त्यत्ति सान्दार्भिरक लाग्दैन। किनभने ढिँडो पूर्ण ठोस वस्तु होइन अनि पूर्ण तरल पनि। यसरी कथामा विभिन्न स्थानमा विभिन्न घटनाहरूको शृङ्खला भङ्ग भएको अनुभूत हुँदछ। यद्यापि, कथामा कथाकारले समयको अनिकाल लेखेका छन्। समयको दुःख लेखेका छन्। अपुगहरू लेखेका छन्। परम्पराहरू लेखेका छन्। समग्रहमा सिक्किमको विगतलाई लेखेका छन्।

इन्द्रेणीको लहराभित्र कटुसका काँडाहरू – शीर्षक कथालाई कथाकारले एक दस्तावेजका रुपमा विवरणात्मक शैलीमा लेखेका छन्। अन्तर जातिको परम्परा र संस्कृतिलाई चिन्हित गराएको पाइन्छ। यस कथामा लेखकले लोक कथा र दन्त्य कथाको पनि प्रयोग गरेका छन्। जसले गर्दा कथाको सामाजिक परिवेश अझ यथार्थ लाग्ने भएको छ। ग्रामीण जीवनको प्रतिविम्ब यस कथाको सबल पक्ष मान्न सकिन्छ। कथामा लेखकले संवादलाई जन जिब्रोमा अडिएको भाषिक परिपाटीलाई प्रयोग गरेका छन्। यहाँ केही संवादहरूः

1. मुखभोरी रगतै-रगत छ। काहिले पोनी यास्तो भा’को थेन।

2. हन नानी, याँ त गाम लागि रा’छ, पल्लोपट्टि त पानी पर्दै थ्यो क्या हो।–(यस्ता संवादहरू अनेकौं छन्, जो कथाकारको पहिचान पनि बन्न पुगेको छ।)

यसरी नै कथाकारले आफ्ना कथाहरूमा अनुकरणात्मक शब्दहरूको पनि प्रयोग गरेका छन्। दसले कथाको अन्तरवस्तु अनि चरित्रको संवादहरूलाई यथार्थको नजिक पुऱ्याएको छ। जस्तैः

1. भ्या......भ्या........(भेडा कराएको)

2. हाउ......हाउ........(वन मान्छेको कराएको काल्पानिक आवज)

3. स्वाँ.....घ्वाँक्क.....स्वाँ......घ्वाँक्क (अजिङ्गरको आवाज)

4. खैं.....खैं.............(हाँस्ने अभिनय)

5. ग्वाँ.......ग्वाँ......(रुवाईको दृश्य)

यस कथाको विषयवस्तु पश्चिम सिक्किमको हिमालको फेदतिर रहेको भू-भागलाई परिवेशको रुपमा प्रयोग गरिएको छ। ग्रामीण जीवनको सरलता, सहजता, मार्मिकता, दुःख, खेती-पाती आदि यस कथामा अन्तरपाठका रुपमा जोडिएर आएका छन्। विशेषतः कथाकार केदार गुरुङले सिक्किमको ग्रामीण जीवनको कथा लेखेका छन्। उनका कथाहरू सामाजिक यथार्थवादको नजिक रहेका छन्। छोटा अनि छरिता कथा लेख्नमा माहिर कथाकार गुरुङका जावन र भाग्यको चक्रवात, पर्वतका पर्वहरू, आगोको ताप हो कि, अनुभूतिको राग?, फ्याँकिएका कसिङ्गर र सृजनाका वस्तुहरू आदि कथाहरू सरल अनि सहज साथै छोटा-छरिता रहेका छन्। यी कथाहरूमा पनि कथाकारले मूलतः समाजमा घटेका घटनाहरूलाई यथार्थ ढङ्गमा राखेका छन्। यसरी नै कथाकारले कतिपय कथाहरू निबन्धात्मक ढाँचाको पनि बनाएका छन्। कुनै एक वस्तुको वस्तुगत वर्णन गरेर चरित्रहरूको प्रयोग गरेका छैनन्। यस दिशामा कथाकार अलिक प्रयोगवादी देखिए तापनि कथा निबन्धात्मक शैली लेखिएको छ। जस्तै ढाँडे गाउँको काँडाघारी र रमिते डाँडातिर –कथामा यो शैलीलाई प्रयोग गरिएको पाइन्छ।

कथाकार केदार गुरुङको कथा लेखनको अर्को विशेषता के रहेको छ भने प्रकृतिप्रेम तथा पर्यावरण सचेतना। कुनै बीज भाषणको बीजन जस्तो यो अन्तर मनको विक्षिप्त गाथा-कथालाई लिन सकिन्छ। यस कथामा जलवायु परिवर्तन विषयका कुराहरू पनि उठाएका छन्। पर्यावरणमाथि लेखकले आफ्नो कथामा प्रकृतिवादी सोच दर्शाएका छन्। यसरी नै अर्को कथा पर्वतका पर्वहरूमा पनि कथाकारले प्राकृतिक सौन्दर्यको वर्णन, पर्यावरण संरक्षणको पहल, प्रकृतिको विध्वांश हुँदै गइरहेको विषयहरूको उठान गरेका छन्। कथाकार केदार गुरुङ प्रकृति सौन्दर्यको वर्णन गर्न खप्पिस कथाकार हुन्। समाजमा अध्ययन परम्परामा आएको ह्रास अनि निरासापनमाथि पनि कथामा कथाकार चिन्तित बनेका छन्। विज्ञान र तक्निकीको प्रयोगको सकारात्मक अनि नकारात्मक दुवै पक्षले समाजमा परेको असरहरूबारे पनि कथाकारले कथाहरूमा परिवेश दिएका छन्।

मूलतः केदार गुरुङले नेपाली समाजको पृष्टभूमिलाई कथाहरूमा केलाएका छन्। उनका कथाहरूमा नेपाली समाजको आधारभूमि, जीवन शैली, नेपाली जनजीवनमा प्रयोग गरिने जनजिब्रे भाषा, नेपाली समाजले भोगेका दुःखहरू, अपुग अनि आवश्यकहरू, नेपाली संस्कृति अनि परम्परा, पर्यावरण, प्रकृति प्रेम आदि आदि उनका कथाहरूको कथावस्तु बनेका छन्। वाक्य गठन घेरै लामा भएकाले कतिपय स्थानमा अन्तरपाठहरू समयोजन भएका छैनन् जसले गर्दा पाठकहरूलाई बुझ्न गाह्रो बन्न पुगेको छ। कथा छोटा-छरिता रहेका छन् भने प्रायः सबै कथाहरू विवरणात्मक शैलीमा लेखिएको छ। केदार गुरुङका कथाहरू जीवनमुखी र प्रकृतिवादी रहेका छन्। उनका कथाहरूले जीवन संघर्षको पर्याय हो भन्ने बोध गराउँद छन्। अन्तः सिक्किमेली माटोमा साहित्य सिर्जनामा निरन्तर लागिपर्ने व्यक्तित्व कथाकार केदार गुरुङका कथाले सिक्किमेली नेपाली समाजको मर्म बोकेका छन्।

सोरेङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।