19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्याे बाटाे

कविता नानु राना August 18, 2019, 5:01 pm

यो अनन्त बाटो लम्पसार परेर छाती थापी चुपचाप पसारिरहेछ

कथमकदाचित बाटो अन्त भईहालेछ भने

पुन: त्यहीँबाट शुरूवात हुन्छ

कतै सुक्दै र कतै फुक्दै आफ्नो दिशा निर्दिष्ट गरेकै हुन्छ

निलो कन्चन आकाश त्यो क्षितिज त्यो डाँडा पारी

बादलको लप्साहरू फिजारिरहेको

त्यो मनमोहक दृश्य परिदृश्य हेर्दा

चुम्बकिय आकर्षण गरेको भान हुन्छ

बत्तीमा पुतली आकर्षित भए जस्तै

हामी पनि आकर्षित हुँदै सयौं हजारौं माइलको यात्रा तय गरिरहेका हुन्छौं

यद्यपि गन्तव्य कहिल्यै अन्त नहुँदो रहेछ

र त यही बाटोको छाती निर्ममता साथ टेकेर

तछाडमछाड दौडिरहेका छौं

गन्तव्य पुग्ने मिठो अभिलाषा बोकेर

कतै चाँदी जस्तै बादल हाँसिरहेको छ

कतै रिसले चुरचुर भएर कालो..निलो हुँदै वर्षा बनेर बर्सिन तम्तयार छ

मनमा भने प्रश्नका अनेकौं ज्वारभाटाहरू यताउता ओहोरदोहोर गर्दै मडारिरहेका छन्

ओहो !

यो बाटो कहाँ पुग्छ होला ?

त्यो अनन्त क्षितिज पारि के छ होला ?

के त्यो क्षितिजमा आकाश र धर्तीको मिलन हुन्छ होला ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।