14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

व्रत

लघुकथा रवीन्द्र तिमसेना September 10, 2019, 8:50 pm

हरितालिकाको दिन थियो । स्वास्नी माइत गएकोले खाना पकाउने टन्टो बेहोर्नुभन्दा व्रत बस्न जाती भन्ने सोच्यो बिर्खेले । व्रत बसेकोले अरू दिन चिया खाने बेला नहुँदै उसलाई बढी भोक लाग्यो । फलाहार गर्ने भन्दै उसले तीनचारवटा स्याउ काटेर खायो । त्यतिले नपुगेर बारीबाट गाजर ल्याएर पखालेर खायो । अचार बनाएर खान भन्दै छिमेकी भाउजूले हिजो दिएको काक्रो पनि उसले एकै निमेषमा सिध्यायो । शरीरमा जलवियोजन नहोस् भनेर तीनचार गिलास जुस पनि पियो र रिँगटा लाग्ला भन्ने डरले मध्यान्हतिर रोटी खायो ।

निराहार व्रत बसेकी बिर्खेकी स्वास्नी भने चक्कर आएर झन्डै नढलेकी ! माइतीमा आमा र दिदीबहिनीले टाउकोमा पानी छम्किँदै केही खान अनुरोध गरे पनि उसले ‘पति परमेश्वरको’ दीर्घायुका लागि भन्दै व्रत पूरा नगरी केही नखाने अड्डी कसिरही ।

साँझमा पूजा गरिसकेपछि उसले आफ्नो लोग्नेलाई फोन गरी । फोन आएपछि बिर्खे भने स्वास्नीका बारेमा सोधखोज नगरी आपूmले दिनभर व्रत बसेको फेहरिस्त सुनाउन थाल्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।