14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जेब्राक्रस

लघुकथा कृष्ण अधिकारी September 25, 2019, 8:45 pm

मध्यान्तर हुनु अगाडिको कक्षामा गुरुले जानकारी गराउदै थिए, “सडकमा जहाँ सेता धर्काहरु राखिएको हुन्छ पैदल यात्रीले त्यहाँबाट बाटो काट्नु पर्छ । त्यहाँ मान्छेले बाटो काट्ने अधिकार हुन्छ ।”

जेब्राक्रसमा वृद्धवृद्धा जीर्ण शरीरलाई लाठीको सहारा दिएर हिडिरहेका थिए । प्लाष्टिकको झोलामा हरियो साग र तीते करेला बोकेका स्त्रीहरु पनि थिए । नजिकैको स्कूलको घण्टी बज्यो मध्यान्नको बालबालिका दगुर्दै आएर जेब्राक्रसबाट हिड्न थाले ।

यात्रु बोकेको एउटा बस नजिकै आइपुग्यो । यात्रु कोचाकोच थिए । ढोकाको खलासीले बसको भित्तामा हत्केलाले हिर्काउदै मुखले पनि केही भन्दै थियो । चालकले कानै खाने गरी एकपल्ट दुईपल्ट र तीनपल्ट सम्म प्रेसर हर्न बजायो । केटाकेटीहरु कुदेर पारी पुगे । वृद्धवृद्धाहरु दुईपाइला पछि हटे । ह्वील चियरहरु जेब्राक्रस भन्दा बाहिर पुगे । महिलाहरु तर्सिए । युवाहरुका आँखामा आगाका फिलुङ्गा देखिए । बस अगाडि बढ्यो उसकै गन्तब्य तिर । बसको पछाडि लेखिएको थियो । “ट्राफिक नियमको पालना गरौँ ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।