14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कोरियाली वसन्त र कोरिया

नियात्रा कृष्ण प्रर्साई August 7, 2008, 3:18 am

२०६५ सालको वैशाख ६ गते पाँचौ पटक कोरिया टेक्दा मेरो मन पुलकित हुने गरी कोरियाको रमाइलो वातावरण र दृश्यहरुमा तानियो । इन्छन एअरपोर्टबाट बाहिर निस्कने बित्तिकै रंगिचंगी राता, पहेँला रुख र बाटाको छेवैभरि छरिएर रहेका फूलहरु औधीनै आकर्ष र मनमोहक थिए । वसन्तमा कसरी पलाउन, पाउलिन र पल्लवित भएर पाउनाहरुलाई कति साह्रै सम्मोहन गर्न सकेका कोरियाली बोट वृक्षहरुले । औधीनै रमाइलो लाग्यो मलाई यो सालको कोरियाली वसन्त ।
दुर्इ महिना अघि मात्र त हो मैले यो ठाउँ छोडेको । ६० दिन अघि मात्र त्यसरी जिङरिङ्ग हुने गरी सुकेर ओइलाएका बोट बिरुवाहरु प्रकृतिको त्यो विशाल नियम भित्र सुकेनाश लागेका जस्ता देखिन्थे । माइनस १५ ड्रि्री सम्मको हुरुक्कै पार्ने खालको त्यो जाडोमा गर्भे टुहुरा जस्ता देखिने सम्पुर्ण पर्यावरण अहिले आएर कति चाँडै रमाईला र लोभलाग्दा देखाएका थिए जुन पत्याउनै गाह्रो पथ्र्यो ।
पोहोर साल यति बेला पनि म कोरियामै थिएँ । संयोग नै मान्नु पर्छ त्यो वैशाख १ गते राखिएको कोरियाली कवि गोष्ठीमा मैले पनि नेपाली भाषामा आफ्नो कविता सुनाएको थिएँ । ४५ जना कोरियाली कविहरुका माझ नेपाली शब्दहरुमा सुनाईएको मेरो रचनाको उच्चारण उनिहरुका लागि एउटा र्सवथा पहिलो र अनौठो थियो । आधुनिक युगका युवा कवि Tae jun Moo देखि सांकेतिक अम्रित कविता लेख्ने Young Chan Kim र नेपाली कविता झैँ लाग्ने Yoo Jeong Ye का कविता अनि आधुनिक कोरियन कविताका व्याख्याकार प्रोफेसर कविहरु Shin Kyu Ho र Yong Hynp Shain हरुले समेत त्यहाँ कविता पाठ गरेका थिए । कोरियामा झण्डै १० हजार कविहरु छन् । कोरिया वास्तवमा कविहरुको देश हो भन्ने कुरा मैले २० वटा भन्दा बढी कोरियाली कविका अंग्रेजीमा अनुवाद गर्ने बेलायती मुलका अनुवादक प्रोफेसर ब्रोदर एन्थोनीबाट सुनेको थिएँ ।
नेपाल र कोरियामा साँस्कृतिक भिन्नताले होला लेखकीय परिवेश र मान्यता अलि भिन्न छ । प्रकृतिको पाटोलाई अधिकांश कविहरुले आफ्ना कवितामा मानवीकृत गरेर यसलाई जीवनको अभिन्न प्रेम ठानेका हुन्छन कोरियामा ।
भिन्नै सामाजिक संस्कारमा हुर्किएका उनीहरु नेपालमा जस्तै कवि गोष्ठी सकिएर डिनर वा चिया नास्ता पछि आफनो गन्तव्यतिर लम्कदैनन् । कोरियामा कवि गोष्ठी पछि सबैले रकम सेयर गरेर ककटेल डिनर गर्ने चलन रहेछ । त्यस पछि पनि घर नगएर सोझै (नोरेवाङ्ग) गीत छानेर गाउने ठाँउ गएर आफुले जानेको गीत गाउने वा रमाईलो गरेर एकै क्षण भए पनि सबैका दुःखहरु भुलेर नाच्ने गरिदोरहेछ । नोरेवाङ्ग कोरियाली सस्कृतिको अभिन्न अङ्ग रहेछ जहाँ जो सुकैले पनि नाच्न गाउन एक किसिमको अनिवार्य जस्तै हुँदोरहेछ । त्यसैले होला कोरियाका प्रत्येक शहरहरुमा नोरेवाङ्ग केन्द्रहरु प्रसस्तै भेटिन्छन् जहाँ जस्ले पनि गएर आफुलाई मन परेको गीत ट्रयाक् समाएर गाउन र नाच्न सक्छन् ।
 केहि क्षण अघि मात्र मैले १० वर्षअघि देखि भेटघाट नभएका मेधावी मित्र तत्व तिमल्सिनाजीलाई हङ्गकङ्ग विमानस्थलमा भेटेको थिएँ । काठमाँडौबाट हङ्गकङ्ग सम्म आउदा एउटै विमानबाट आए पनि हङ्गकङ्गको ट्रान्जिट क्षेत्रमा हाम्रो भेट भएको थियो । विहान ५ बजे तिर हङ्गकङ्ग विमानस्थल उत्रिएका हामी दुवै जनाको गन्तव्य स्थल भने नितान्त फरक थियो । उहाँ झण्डै ९ घन्टाको ट्रान्जिट सकेर अमेरिकामा हुने कुनै सेमिनारमा भाग लिन जादै हुनुहन्थ्यो भने म केवल ४ घन्टा पछि कोरिया लाग्दै थिएँ । यस बिचको समयमा हामी धेरै बेर गफिएका थियौँ । यसै बिचमा हामीले धेरै विचारहरु साट्यै । भरखर संविधान सभाको चुनाव सकिएको समय भएकोले भावी हुने नेपालको विकास र कमि कमजोरीमा हाम्रा कुराहरु केन्द्रित रहे । हामी दुबै जनालाई हाम्रो देश दुखेको थियो । दुवैलाई देशको चिन्ता थियो र धेरै विदेश देखिसकेका हामीहरुलाई हाम्रो देश सम्झदा खपिनसक्नु मन पोलेको पनि थियो । बुढाबुढी, स्कूले विद्यार्थी र कर्मचारीमा मात्रै सिमीत रहदै गएको हाम्रो देशले भोग्नु परेको युवा शक्तिको विदेश पलायन र शिक्षामा विदेशिएको स्वदेशी पैसाले हामी दुवै आक्रान्त भएका थियौँ । ब्रेन टेनको रोग लागिसकेको हाम्रो जस्तो गरिब मुलुक अब केही वर्षपछि श्रमिकहरुको उत्पादक र निर्यातक देश बन्न गैरहेकोमा हामी औधी निराश थियौँ, व्यथित थियौँ र वेचैन थियौँ ।
सन् साठीको दशकमा गरिबी बराबरी रहेको मुलुक कोरिया र नेपालमा अहिले तुलना गर्न लायक कुनै वस्तुनै छैन । मात्रै छ नेपाली कामदारहरुको कोरियामा आपुर्ति र कोरियाले नेपाललाई दिएको श्रमिक आपुर्तिको उर्वर भूमिको सम्मान । जुन सम्मान मलेसिया, खाडी मुलुक र इजरायलले पनि दिदै आएका छन । हाम्रा राजनेताहरु दुरदर्शी भएको भए, हाम्रा उच्च पदस्थ कर्मचारीहरुले आफ्नो योग्यताले भ्याए सम्मको बुद्धिको लगाम अदुरदर्शी नेताहरुलाई लगाएको भए जलविद्युत उत्पादन, पर्यटन र प्राकृतिक कृषिले आज कैयौँ गुणा फट्को मारेको हुने थियो । विकासका हजारौँ पुर्वधारहरु उभिने थिए र देश समुनन्त अवस्थामा पुग्ने थियो जसरी अरु मुलुकहरु पुगेका छन ।
आधा घण्टाको बाटो काटिसकेछु । आफ्नो गन्तव्य स्थल सुवान आउन अझै ३० मिनेट यात्रा गर्नु पर्ने हुन्छ मैले । फेरी सम्झन थालेँ म- झण्डै २ महिना अघि छोडेका यहाँका हिँउले खाईसकेका बोटबिरुवा र वरिपरी देखिने शान्त पहाडमा वसन्त फर्किसकेको छ र त्यति खेर हेर्नै नहुने भएर खुइलिएका बोटबिरुवामा मज्जाले लाली चढिसकेको छ । जताततै हरियाली छाएको छ । कोरियामा नेपालमा जस्ता बडेमानका पहाडहरु छैनन् । स साना र चिटिक्क परेका थुम्का थुम्कीहरु धेरै छन त्यसैले पनि चाडै विकाश फलाउन नेपालमा भन्दा कोरियामा सजिलो छ ।
संसारका अरु विकसित मुलुकहरु झै कोरियामा पनि बाहिर सडकमा साधन विहिन भएर हिडने प्रायः भेटिदैनन् । विकसित र अविकसित देश छुट्याउने कडी बाटोको पर्यावरण पनि हो जहाँको परिदृश्यले देशको अवस्था बुझाउने गर्दछ । सन् साठीको दशकमा नेपाल र कोरियाको बर्षिक प्रति ब्यक्ति आम्दानी वराबर थियो भन्ने कुरा तथ्यांकहरुमा भेटिन्छ तर आजभोली कोरियाले नेपाललाई आर्थिक विकास र प्रविधिमा भन्नै नहुने गरी तल पारिसकेको छ । चालिस र पचासको दशकमा चीन र जापानसँग युद्ध खेपिसकेको दक्षिण कोरियाले उतर कोरियासँग पनि त्यस्तै युद्ध खेप्नु परेको थियो र आज पनि उत्तर कोरियासँग पानी बाराबारको अवस्था छ । त्यति हुदाहुदै पनि दक्षिण कोरियाले विकासमा फड्को मार्यो, विदेशी निर्यातमा उल्लेखनीय फाईदा कमायो र पुर्वीय विकसित मुलुकहरुझैँ आफु पनि चम्कियो ।
कोरियासँग समुन्द्रहरु छन् । कोरियासँग स-साना मनग्ये पहाडहरु छन र कोरियाली जनतासँग अनुसाशन, सम्मान गर्ने परीपाटी र परिश्रम गर्ने दृढ शक्ति छ । कोरियासँग मेहनत छ ।इमान्दारिता छ र कानुनको प्रायः पालना छ । कोरियामा रहेको उच्च राष्ट्र प्रेम, आफ्नो कामलाईर् इश्वर ठान्ने यहाँको संस्कृति अनि ठुलो सानोको भेदभाव रहित समाज संरचना स्तुति गर्न योग्य छ । कोरिया कार्यगत जातीय भेदभाव बाट पनि माथि उठेको छ जहाँका व्यवस्थापक र मालिकहरु आफ्नो काम प्रायः आफैँ गर्दछन् । आफ्नो शैचालय आफै सफा गर्छन् र आफ्नै परिश्रम र लगनमा विश्वास राख्दछन् । सन् १९९७ तिर दक्षिण कोरियामा झण्डै अनिकाल पर्यो । कलकारखाना बन्द भएर राजश्वमा उल्लेखनीय ह्रास आयो । लगभग सरकारनै नचल्ने गरी आर्थिक मन्दी छायो । ठुलो परिणाममा विदेशी ऋण काढनु पर्यो आफ्नो अस्तित्व बचाउन । त्यसै बेला कोरियाली गृहिणीहरुले कोरिया बचाउ आन्दोलन सुरु गरे । राष्ट्रभरीको उच्चतम् उदाहरण संसार भर र्छन आफ्ना भए भरका गहना सरकारलाई सुम्पे यहाँ सम्म कि ओलम्पिक खेलमा पाएका स्वर्णपदक समेत देशलाई दिए र देशलाई हुन सम्मको गुण लगाए । आजभोली पनि कोरियामा महिलालाई उच्च सम्मान देशले दिएको छ र सम्पुर्ण आर्थिक कारोवार गृहिणीहरुको तजबिजमा हुने गर्दछ ।
 कोरिया खनिज साधन र अन्य नीजि उत्पादनको आन्तरिक श्रोतमा कमजोर भए पनि प्रविधि र स्वचालित ठुला मेशिनबाट उत्पादन हुने प्रत्येक वस्तुहरुको निकासीका लागि आकर्ष ठाउँ हो । कोरिया कच्चा पदार्थको संसोधन,परिमार्जन र निर्माणको लागि पनि महत्वपुर्ण देश हो । जाडोमा अति जाडो हुने भएकोले जंगली र घरपालुवा जन्तुहरु कोरियामा कमै मात्रामा हुने गर्दछन् । तर पनि सुंगुर र कुखुरा पालन भने यहाँ निकै फस्टाएको छ । दुध उत्पादनको लागि सेतो गाई र मासुका लागि अन्य रंगको गाई व्यावसायिक प्रयोजनका लागि कोरियामा पालिन्छ । जनावर पालनको लागि वातावरणुकुलित स्थान भने नभै हुदैन ।
चौथो पटकको यात्रा सम्ममै मैले कोरियाका अधिकांश ठाउँहरु घुमिसकेको छु । उत्तर कोरियाकै सिमाना तिर पर्ने सियोसान र जापान सँग सिमाना जोडिएको ठुलो बन्दरगाह भएको पुशान शहर लगाएत निकै दुर्गम मानिने गाँउ आन्म्यान्दो समेत मैले हेरिसकेको छु । एकमात्र ठुलो हाङ्ग नदीमा पानी वोट बाट सयर गर्दाको आनन्द होस वा बुङसानको समुन्द्र सम्म पुग्दाको बस यात्रा होस मैले आफनै तरिकाले कोरियाली विभिधताको अनुभव कहिल्यै नर्बिसने गरी लिइसकेकेा छु । लिची जत्रै काफल, बियाँ बिनाको सुन्तला र विकसित सिलामका पातको परिकार समेत खाई सकेको छु । नुनकै भाउमा चिनी किन्दाको अनुभव होस वा एक कप चियाको नेपाली पाँच सय रुपैयाँ बराबरको कोरियाली वान तिर्दाको कोरियाली सम्झना पनि मसँग छ । साउनामा गएर सयौँ पुरुष कोरियालीहरुसँग निर्वस्त्र नुहाउदाको लाज होस वा महान कोरियाली कविको कविता कोरियाली भाषामा मन्चमा सुनाउदाको मजा होस यी सबैमा मैले कोरियासँग भावनाको सम्बन्ध गाँसिसकेको छु । अंगे्रजी भाषाका प्रोफेसर ब्रदर एन्थोनीले कोरियाली प्रसिद्ध कविकी विधवाको पसलमा लगेर पियाएको य-जा-छा (Citron tea) नामक चियाको स्वाद र फेन्थेक फेस्टिवलमा क्यानाडेली शिक्षिका लाना लिङ्ली, कोरियाली कवियत्री Yoo Jeong Ye, कोरियाली शिक्षिका जुडी र कोरियाकै सह हृदयी मित्र Eu Eun Hyun हरु सँग सम्युक्त रुपमा खियाएर चलाएको डुङ्गाको पानी विहार होस् कुनै न कुनै रुपमा ती सबै म भित्र जीवन्त छन् ।
यति भएर पनि मलाई कोरियाली भुमिका इथेवान, बोसान र सोङ्तान क्षेत्रहरुमा छरिएर रहेका अमेरिकी हवाई अखडाहरु र शैनिक छाउनीहरु किन-किन मन परेका छैनन् । अंगे्रजी भाषी गोरो छालाबाट लुत्रुक्कै प्रभावित हुने कोरियाली दृष्टिकोण र ब्यक्ति विषेश भन्दा देशलाई हेरेर विदेशी मान्छेलाई मुल्याङ्कन गर्ने संकुचित मानसिकता पनि ठयाम्मै मन परेको छैन ।
वृद्ध वृद्धालाई गरिने आन्तरिक सम्मान, कलिलो अवस्थामा नै हुर्केको वासनात्मक प्रेम र पाश्चात्य संस्कृतिको हुबहु नकरात्मक सिकोलाई राम्ररी सच्याउन सके अनि युवा युवतीहरुमा उच्च शिक्षा प्रति खस्कदै गएको कोरियाली विद्यार्थीको तृष्णालाई फराकिलो पार्ने खालका संयन्त्रहरु हुन सक्ने हो भने कोरिया अझ माथि उठ्ने थियो भन्ने लागेको छ मलाई। म सोचिरहेको छु । विकासले धेरै फट्को मारिसकेको यो मुलुकमा कहिले गएर विकास रोकिने हो थाहा छैन । तर सत्य यही हो कुनै दिन संसारको पनि विकास रोकिन्छ । प्रविधिको पनि अन्त्य हुन्छ र मान्छे पनि मर्छ । जसरी रावणको लंका लोप भयो, सिन्धुघाटीको सभ्यता सिद्धियो र लुम्बिनीको धरोहर थाहै नपाई धरासायी भयो ।
 सुवान बस स्टेशन आईसकेछ । एकाएक मेरो मोवाईलको घण्टी बज्यो । नेपालबाट श्रीमतीले फोन गरेकी रहिछिन् । सकुशल कोरिया आईपुगेको जानकारी सहित मैले उनलाई उनको सैतिसौँ जन्मदिनको अग्रिम शुभकामना दिएँ र कोरियाली बसबाट ओर्लिय अस्थाइ कोठा तिर जान भनेर ।
समाप्त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।