तिम्रो सान्निध्यता मै,
म स्वाधीनता खोज्छु
किनभने म रैती होइन भन्ने भ्रममा छैन !
तिमी असम्भव देख्छ्यौ
किनभने तिमी शासक हुँ भन्ने भ्रममा छ्यौ!
तर तिम्रो भ्रम टुट्दा वा मेरो यथार्थ बदलिँदा हामी सबै बदलिन्छौं।
तिमी अभ्यस्त छ्यौ सिक्रीमा बाँधेर कुकुर डुलाउन
बाघ, भालु र सिंह पनि सिक्रीले नै बाध्न सकिन्छ भन्ने तिम्रो भनाईमा सत्यता होला,
र तिमी
सिक्री नै पठाइदिन्छ्यौ पानी, हावा र घाम बाध्न!
यतिबेला
पाहुनाले गर्दैनन् कुनै सुझाव भरिएको प्रश्न
पाहुनाले सोध्दैनन् कुनै उपहास मिसिएको प्रश्न
फगत् मुस्कुराइरहलान्
त्यसैमा तिमी जीतको उत्सव मनाइरहन्छ्यौ!
तर
तिमीले यति पनि बुझ्न सकिनौ
हजार अनुयायीहरूले नबुझे पनि
बुझ्नेहरूले बुझिरहेकै हुन्छन,
तिमीलाई त लागिरहन्छ
यी सडकमा आएका, गएका
घाम, पानी र हावाहरू
सरकारी कर्मचारीहरू हुन्।
****
कहिले 'तिमी महान्, वीर, योद्धा हौ' भन्यौ र स्वर्गको बाटो देखायौ
कहिले 'तँ चोर, अपराधी, शत्रु होस्' भन्यौ र नर्कको बाटो देखायौ
हरेक पटक मानिसहरूले आत्महत्या गरिरहे तिम्रो अभियानमा,
तिम्रो गलामा उनिएको फूलको धागोमा उनिएर।
बर्षौं देखि
यो निरन्तर रह्यो,
यहाँ फूलहरूको धर्ती आफ्नो भएन
कोपिलाहरूको आकाश आफ्नो रहेन ।
उतिबेला तिम्रो र हाम्रो दुखाइहरू उस्तै थिए
र आजभोलि,
जस्तो कि
त्यही कुराले हामीलाई दुख्नु र तिमीलाई नदुख्नु ...... ........
तिम्रो बुझाइमा संसार भरी एस्तै नै हुन्छ!
****
जताको, जसको तस्विर लिए पनि
आकार त यस्तै नै आउँछ,
र त
कतिपय उत्साह, खुशी, उमंगले पनि दुखी बनाइरहन्छ
किनभने
तिनमा अतिरंजनाका चास्निमा डुबेका स्वाद
र
लघुताभाषको वासना आइरहन्छ,
म समाचारबाट आँखा हटाउँछु
दृष्टि बन्द हुन्छ घटना घटिरहन्छ।
र
म प्रष्ट भन्न सक्दिन,
जसरी तिमी भन्छ्यौ-
मेरो काम त बालुवामा पानी हाल्ने हो
अड्याउने त तिम्रो काम हो,
म त्यसरी पनि बोल्न सक्दिन!
अनि
तिम्रो सान्निध्यता मै
म स्वाधीनता खोज्छु
किनभने म रैती होइन भन्ने भ्रममा छैन !
तिमी असम्भव देख्छौ
किनभने तिमी शासक हुँ भन्ने भ्रममा छौ!
तर तिम्रो भ्रम टुट्दा वा मेरो यथार्थ बदलिँदा हामी सबै बदलिन्छौं।