14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतेली नेपाली कविताका शिखर पुरूष राजेन्द्र भण्डारी

व्यक्तित्व / कृतित्व बैद्यनाथ उपाध्याय December 9, 2019, 2:58 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

भारतमा नेपाली भाषा र साहित्यको विकासमा मनोनिवेश गर्ने एकान्त साधकहरूमा कालिम्पोंग निवासी कवि राजेन्द्र भण्डारीको नाम अग्रपङ्क्तिमा लिन सकिन्छ। वहाँका कविताहरूले भारतेली नेपालीहरूको मानसिकताको प्रतिनिधित्व गरेको हुन्छ। मानव जीवनले भोगेका हर पीडाहरूमा राजेन्द्र भण्डारीको कविता बोल्छ। जीवनका सुख-दुख, उहापोह, जीवन दर्शन, इतिहास र भावी योजनाहरूको खाका पनि हो राजेन्द्र भण्डारीका कविताहरू। त्यसरि नै दार्जिलिंगलाई छुट्टै राज्यको दर्जा दिलाउने माँगले उब्जाएको पीडाहरू पनि उन्का कविताहरूले बोकेर हिंडेको हुन्छ।

दार्जिलिङ 1991 कवितामा कविले यस्तो अभिव्यक्ति राखेका छन-

रूँदा रूँदा थाकेर रातको तेस्रो प्रहरतिर

एकै छिन निदाउँछिन पर्वतकी रानी।

ब्युँझेपछि छक्क पर्दै छट्पटिन्छिन्

कहाँ गयो मेरो गलाको हार ?

नाकको फुली कहाँ हरायो?

एउटा निक्खुर कालो खास्टो पन्साउँदै

देखा पर्छ एउटा खाकीसूर्य पारि डाँडामा।

हावामा हल्लिरहेका धुप्पीका टुप्पाहरू

एकाएक मौन बन्छन

अनि रङ्गितको पहेंलो पानी

अत्तालिंदैं उँधो बग्छ।

नव दम्पतिका लागि एउटा रङ्गिन उपहार

पर्यटकका लागि एउटा मिठो आह्लाद,

अनि ड्राइभार दाइका लागि

छोरीको कलेज –फिज

र छोराको दबाई खर्च बनेर

उभिन्छ स्वागतमा टाईगर हिल।

यसरि हेर्ने हो भने कवि राजेन्द्र भण्डारी केवल भावुक र संवेदनशील कवि मात्रै हैनन उनि एक समाज सचेतक योद्धा पनि हुन र भविष्यको रूपरेखा कोर्ने शिल्पी पनि हुन। उनि बन्दी कवितामा आफ्नो उद्गार यसरि पोख्छन-

सडकमा पोखिएको रगत

पखालिएको छ।

धुँवा उडिसकेको छ।

परेवाहरू मन्दिरका गजुरमा

आउन थालेका छन।

पक्राउ वारेन्टले मलाई खोजेको छैन।

वरिपरि पुलिस पनि छैन।

हातकडी

144 धारा।

कर्फ्यु।

केही छैन।

तर पनि बन्दी छु म।

बन्दी छ

हावा।

घाम।

मैले फेर्ने सास।

बन्दी छ सपना। बाटो। यात्रा।

मलाई बन्दी बनाउने जो जो छन

उनिहरू पनि बन्दी छन।

विचारका बन्दी।

मलाई हेर्ने दृष्टिकोणका बन्दी।

इतिहासको बाडुली काव्यग्रन्थमा कवि राजेन्द्र भण्डारीले कविता मात्र हैन उन्ले दार्जिलिङले भोग्नु परेको अव्यक्त वेदना पनि ‘वासभूमिको अन्तर्कथा’ शिर्षकमा व्यक्त गर्दै समाज सचेतनताको कसी प्रस्तुत गरेका छन। 28 नभेम्बर 1956 मा तल्लो बमबस्ती, गहिरी गाँउ, कालेबुङमा जन्मिएका राजेन्द्र भण्डारीले आफ्नो विद्यार्थी काल देखिनै लेख्न शुरू गरेका हुन। उन्को पहिलो कविता पूर्व-पश्चिम 1975 सनमा नेपालको पत्रिका मधुपर्कमा प्रकाशित भएको थियो। त्यस पहिलो कवितामै हुने बिरूवाको चिल्लो पात भन्ने कुरो प्रष्टिएको देखिन्छ। पूर्वीय जीवन दर्शन र पश्चिमी ध्यान-धारणालाई उन्ले कविताको विषय बनाएर आफ्नो उद्गार यसरि पोखेका छन-

उ संसारमा सुख फुलेको देख्छ

म संसारमा सुख मुर्झाएको देख्छु

..............................................

मुटू एकै भए पनि –

उसले मुटूमा पाशविक धडकन कायम राख्यो

मैले छातीभित्र मानवीयता घुसाएँ

..................................................

क्रुरता र हिंसा उसका साधक थिए

ती मेरा बाधक थिए,

दीन र हीनहरूका दुख निवारणमा म अल्झिएँ

तिनीहरूकै उपहास गरी उ अघि गयो-म पछि परें।

यो भौतिक संसारमा-

भौतिकीहरुका दृष्टिमा-

ऊ सफा हो म फोहोर हुँ

ऊ आघौं हो म पोहोर हुँ

ऊ अघि हो म पछि हुँ

ऊ पश्चिम हो म पूर्व हुँ।

त्यस देखि यता समयले धेरै काँचुली फेऱ्यो अनि टिस्टा नदीले धेरै रङ्ग रूप फेऱ्यो। कवि राजेन्द्र भण्डारी पनि धेरै अनुभवसिद्ध भए। उनि कविताको रथ हाँकेर कहिल्यै जर्मनी र कहिल्यै रोम गर्दै हिंडे। तर जहाँ गए पनि उनि कवितानै गाइरहे अनि कवितानै बाँचिरहे। कवितालाई छाडेर उन्को कुनै अर्को जीवननै छैन। त्यसैले उनि भारतेली नेपाली कविताका शिखरमा खडा छन। कविका प्रकाशित कृतिहरूमा ‘हिउँदे यी चिसा रातका पर्दाहरूमा’ (1979), ‘यी शब्दहरू : यी हरफहरू’ (1986), ‘क्षर अक्षर’ (1998), ‘शब्दहरूको पुनर्वास’ (2010), ‘प्वाँखहरू र आकाश’ (2011), ‘इतिहासको बाडुली’ (2019) आदि प्रमुख हुन। उन्का प्रकाशित कृतिहरू जम्मै कविता विधामा छन। उन्का धेरै कविताहरू विभिन्न भाषामा अनुदित भएका छन र अन्तर्राष्ट्रीय वेबहरूमा पनि उन्का कविताहरू प्रकाशित भएका पाईन्छन।

कविको सचेतन व्यक्तित्व दार्जिलिङको पीडामाथि यसरि अभिव्यक्त भएको छ-

विशाल भारतमा कतिपय जाति,समुदाय, क्षेत्रहरू दिनदिनै राजनैतिक उद्योगका निम्ति काँचा पदार्थ वा माल बन्दै गै रहेका छन। आन्दोलन घरेलु उद्योग बनेको तिक्त यथार्थ पनि एकातिर छँदैछ। उन्ले आफ्नो कविता सङ्ग्रह ‘इतिहासको बाडुली’लाई यसैको बकपत्र हो भनेर कीटान गरेका छन। आन्दोलनको दीशाहीनता, जनताको दलन दोहन, नवपिँढीमा देखिंदै आएको मूल्यह्रास, अकुशल नेतृत्वले ल्याएका दूष्परिणामले कहिलेकाहीं चरम निराशाजनक परिवेश देखा पर्छ। कतिचाहिं किटेरै भन्न सकिन्छ भने गोर्खाल्याण्ड नभएसम्म गोर्खाहरूको आङमा घाम लाग्ने छैन। एक जना कविको यो गोर्खाल्याण्डमाथि एक सर्वोच्च बयान हो। यसैले उनि अग्रपङ्तिका एक योद्धा पनि हुन।

बङ्गालको उत्तर बंग विश्वविद्यालयबाट नेपालीमा एम ए र विद्यावारिधी गर्ने राजेन्द्र भण्डारी सुदीर्घकाल सिक्किम सरकारी महाविद्यालयमा अध्यापन पेशामा संलग्न थिए। यस पेशाबाट 2016 सनमा सेवानिवृत्त भएर लेखकीय जीवन बाँचि रहेका छन।

हामी दगुर्दै छौं शिर्षक कवितामा कवि राजेन्द्र भण्डारी हाम्रो समाजको उहापोहमाथि विद्रुप स्वरमा उद्गार पोख्छन-

हामी दगुर्दै छौं,तर

हामीलाई थाहा छैन

हामी खेद्दैछौं कि भाग्दैछौं।

कहिले अँध्यारो ढूङ्गेनी गोरेटाहरू हुँदै,

कहिले कम्मर कम्मर छालहरू हुँदै

कहिले पारिबाट वारि,

कहिले वारिबाट पारि गर्दैछौं।

कविलाई आशा छ फेरि जन्मने, फेरि जीवनका तीता मीठा भोगाइहरूमा रम्ने। त्यसैले मरेर फेरि जन्मिएछु भनें कवितामा आफ्नै विषयमा कवि लेख्छन-

सौ सौ बर्ष भार भएर उभिने बज्राँठ नबनूँ

एक क्षण बाँचु बरू गुलाब भएर

बगर कुरेर बस्ने जडपत्थर भएर हैन

दुई क्षणमात्रै बाँचेर फुटुँ बरू स्फटिकको कण भएर।

सही अर्थमा भन्नु हो भने जीवन, जगत र भोगाईको यथार्थले भरिएका कविताहरू साँच्चिकै पठनीय र भाव उद्वेलित गर्न सक्षम छन। त्यसैले राजेन्द्र भण्डारीलाई वास्तविक अर्थमा शाश्वत मार्गका पथिक बनाएको छ। अपारे काव्य संसारे कविरेव प्रजापतिको धारणालाई कविका उद्गारहरूले यथार्थ बनाएको छ। उनि आफ्नो र जातिको भविष्यको कुरामा पनि अति सजग छन र उन्ले वसुधैव कुटुम्बकमको धारणालाई पनि आफ्ना भावोद्गारहरूले सार्थकता प्रदान गरेका छन।

खांखलाबारी, उदालगुडी-784509, बीटीएडी, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।