14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सपना

लघुकथा विनोद नेपाल February 5, 2020, 9:31 pm

घुम्दैफिदै त्यस वर्षको घरवार विहीनका लागि दिवस पनि आयो ।

यस दिवस बारेका सूचना र जानकारीहरु अघिल्लै दिन ठाउंठाउंमा बांडिएका थिए ।

त्यसको एक प्रति उसको हातमा पनि प¥यो ।

टुंडिखेलमा भव्य कार्यक्रम हुने तथा त्यसमा ठुलाबडाले सम्बोधन गर्ने समेतका कार्यक्रमहरु रहेको उसले थाहा पायो ।

‘अहो, यस्तो दिवस पनि हुंदोरहेछ, यो त हाम्रै दिवस पो हो’ भन्दै उसले कार्यक्रममा आफू पनि उपस्थित हुने निर्णय लियो ।

भोलिपल्ट उ उत्साहित हुंदै तोकिएको समयमा टुंडिखेलको प्रवेशद्वारमा पुग्यो ।

त्यहां उभिएका सुरक्षाकर्मीले उसलाई शिर देखि पाउसम्म हेरे र प्रवेश गर्नबाट रोके ।

भित्रका गतिविधि हेर्दै र बोल्नेहरुका कुरा सुन्ने प्रयास गर्दै कार्यक्रम अवधि भर उ प्रवेशद्वार छेउ उभिइरह्यो ।

सबैभन्दा ठुला नेताले मुलुकमा अब कसैले मागेर खानु नपर्ने र कोही पनि घरबारविहीन नहुने बताए ।

सुनेर उ हौसियो ।

कार्यक्रम सकिएपछि सबै लाखापाखा लागे ।

उ चाहिं छेवैमा रहेको मन्दिरको भित्तामा आड लागेर मीठो निद निदायो ।

शायद आफ्नै घरमा रमाएको सपना देख्दै थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।