17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रात र सपना

कविता भारती गौतम August 18, 2008, 1:26 am

क्षितीज भरी छरिएको हिमालमा
 सबेरै घामको पारिलो दृष्टी पोखिदा
आखावाट निद्राको मात बाँकी हुदाहुदै
बिहान संग भेट होला भनी भागेको रात
सपनाको सिरानेमा लुक्न आउछ।
 
रात र बिहानको त्यति मिल्ति रहेनछ,
आपसमा धेरै नै सामञ्जस्य देखिए पनि
एकको बिना अर्को सधै अपूरो नै रहे पनि
रात र बिहान कहिल्यै एकै ठाउमा रहदा रहेनछन।
 
बिहानले देख्छ भनी ठुस्किएर रात सधै अदृष्य भैदिदो रहेछ,
बिहान पनि रातलाई फकाइ फूल्याइ लान सकिन्छकि भनी
घामको डोली बोकेर चराको पंचेबाजा बजाई
शीतको मोती गहनाले लोभ्याउदो रहेछ।
 
आफूसंग लुक्न आएको रातलाई गुटिमुटि सिरकमा लुकाएर
सपना मस्त निदाउछ, बिहानलाई पत्तै हुदैन,
सपनाको जादूमा लटपटिएको रात
सपनाकै अंगालोमा अरु दरिलो कसिदै जान्छ,
बिहान आज पनि रात बिनाको रित्तोहात
चुपचाप घामको साथ लुरुलुरु बेपत्ता भईदिन्छ,
रात र सपनाको साइनो मौन स्वीकारी दिन्छ ।           
           बोष्टन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।