19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सर्वहारा सुकुम्बासी

कविता सुमन बैरागी February 25, 2020, 8:54 pm

सुतौ भने एक हात जमीन छैन

कटुचे स्याउलाको छानोले शीत पनि थाम्दैन

स्याउलाको छानो छेडेर जूनका चिसो आँखाहरु

हामीलाई चियाउन थाल्छ

भोकले ति कलिला बच्चाहरुको पेटमा

लँडाई लड्दैछ अनि छात्ती लुछिरहेछ

पीरै पीरले उखेल्छ कन्चटका रौंहरु

दिमागले थाम्न सक्दैन चिन्ताका बोझहरु

आफूहरु त सर्वहारा सुकुम्बासी भइयो

न आकाश छ न जमीन

न घाम छ न पानी आफ्नो छ

न प्रकृती न्यानो नै छ

सुँघ्ने एक चिम्टी माटो छैन

जाऊँ त कहाँ जाऊँ

मृत्यु बाहेक कुनै विकल्प छैन

दास र बँधुवा र कमारा नै सही

हली गोठाला र आसामी नै सही

बस्ने ठाउँको कुरा गरौं भने

मालिकको गाई गोठ अनि भकारो मात्र

एक दुई माना पिठो मिल्थ्यो

एक दुई महिना बाँच्न पाइन्थ्यो

त्यो पनि खोसियो, हाम्रो मुक्ति भयो

अनि भन्नु नै प¥यो सर्वहारा सुकुम्बासी

हाम्रा फाटेका कछाड र भोटोहरु देखाएर

कतिले कोट र टाई लगाए

हाम्रो हातको हत्कडी र घाँटीको दाम्लो देखेर

कतिले माटो कति सिक्री लगाए

हाम्रो यो गरीबी बेचेर कतिले शहरमा महल उभ्याए

भोकका यी हाम्रा खलाती पेटहरु देखाएर

कतिले डलरै डलरका भिक्षा पाए

हाम्रा पछौटे चेतना र मैला शरिरको पसल थापेर

कतिले हाम्रा करङका भाटा गन्न गलाए

हाम्रा दुःखका आँसु पसिना देखाएर

जुगौं जुगको लागि अलेख दौलत थुपारे

अब हाम्रो लागि बनको बास मात्र बाँकी छ

साहू वा जमिन्दारको गोठमा भए पनि

जंगल वा पहराको खोचमा भए पनि

हाम्रो त कर्म सँगै जाने रहेछ

सुकुम्बासी कमैया मुक्तिको माला लगाएर

नेता र सरकारले जय जयकार खाइसके

तर, हाम्रो अन्धकारमय बनिबास उस्तै छ

रुनु र आँसु पीउनुमा केही फरक छैन

कसरी भयौं हामी यस्तो पीडाका जिवावषेश

र मात्र समयका भग्नावषेश

साहूको महल होस् या ठालूको पुतलीघर

जंगलका सर्प हुन् या विच्छि र जुकाका डर

डसाई र टोकाई उस्तै उस्तै छ

चुसिनै रहेका छन् सर्प र जुकाबाट

मालिया महलबाट, सत्ता या त्यसका संचालकबाट

फरक के नै पर्छ र ?

कम्तिमा भकारोमा अँधिया थारो भैंसी थियो

साहूले दिएर पालेको झ्याप्ले बोको त थियो

कहिले खोरबाट भाले बास्थ्यो

त्यो बोली आफ्नै जस्तो लाग्थ्यो

अहिले पोथी बास्न थाल्यो

सुकुम्बासी रोएको देखि यहाँ दुनियाँ हास्न थाल्यो

कहिले तबेलामा घोडा हाँस्थ्यो

कहिले बंगैचामा मयूर नाँच्थ्यो

तर अहिले त्यो पनि खोसियो

त्यसैले बनबासी हुन प¥यो

रित्ता भाँडा र कोठाभाडाहरुले ज्यान खान थालेपछि

घोषणाले मात्रै सुकुम्बासी समस्या समाधान भनेर

के नै लछारपाटो लाग्यो र ?

मालिक ! प्रभु ! धनि ! ठालूहरु !

तिम्रो सुकुम्बासी समस्या एउटा जाल हो हामीले बुझिसक्यौं

जमिन्दार ! साहेब ! धनीका सरकार !

यो एउटा ठग्ने माध्यम हो ठालूले दासलाई

जालि मालिकले बँधुवाहरुलाई

एउटा चुसुवा सत्ताले चुसिनेहरुलाई

यसरी कहिल्यै मुक्ति मिल्दैन

हामी सर्वहारा सुकुम्बासीहरुलाई

एउटा धनीले गरिबलार्य मुक्तिदिनु

भोज जस्तो मनोरम हुँदोरहेछ

मुक्ति त हाम्रा कंकालमा थापेको

डलर जस्तो सरल पनि हुँदोरहेछ

बल्ल पो बुद्धिको बिर्को खुल्यो

मालिकका साङ्ला त माकुराको जालो भन्दा

अदृश्य र धेरै मिहीन हुँदारहेछन्

धनीका दाह्रा र सरकारका चाला त

गोमनका भन्दा पनि धेरै धेरै तिखा र बिषालु हुँदारहेछन्

हामीले बल्ल थाहा पायौै

समस्याको समाधान त जटिल घुमाउरो हुँदोरहेछ

जसका लागि गरिबहरुले हँसिया र बञ्चरो उध्याउनै पर्छ

आफूलाई बाँधेका जन्जिरहरु तोड्न ठूला ठूला घन बनाउनै पर्छ

शोषकका ढाडहरु भाँच्न र अन्यायका दाह्राहरु फुकाल्न

चुाडाल्नुपर्छ धनी र धनीका जालहरु

निभेका आरानमा खलाती धुनै पर्छ

मुक्ति त आँसुका थोपाबाट हैन

न दयाका खोपाबाट न कागजका खोस्टाबाट

मालिकको भिक्षाबाट पनि मिल्दैन

यो त संघर्ष र लँडाईबाट मिल्दो रहेछ

बल्ल हामीले थाहा पायौं सर्वहारा सुकुम्बासी कसरी पछि पर्दो रहेछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।