कोलको पत्तामा
फिँजाएर आँफैलाई
बरपथारको डेलिबजारमा
कति बेच्न खोज्दा
खजाना लिने पनि
चारचोटी आएर गयो
मान्छेको मोल तिर्न सक्ने
कास्टोमार भेटन गाह्रो
जिला परिषदले डाकेको बजार
गाँउ पन्चायतले डाकेको बजार
यो गाउँमा नबिकेका केटाहरु
शहर पस्न थाले
म्यूनसिपिलिटिको साइनबोर्डमा
भ्याकेन्सी खोज्न थाले
कसै कसैलेत केरेलाको पलक्कडमा
इटा बोक्न थाले
मद्रासको समुन्द्र तिरमा
माछा समात्न थाले
यहाँसम्म त ठिकै छ
धेरैले त मेट्रोपोलिटिन खोजे
दिल्ली र बेङलोरमा
चौकिदार गर्न थाले
रोक्न नसकेर मनरेगाले
उनेरले पनि
पुर्खाकै बिँडो थाम्न थाले
समातेर हातमा
गाउँ पन्चायतको जब कार्ड
सोच्दैछु म अझै
एकसय दिनको मजुरी ।।
(कोल-केरा । मनरेगा- भारत सरकार को रोजगार ग्यारेण्टि कानून। खजाना- कर।)
असम , भारत